काठमाण्डौ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा आज साँझ ६ः३० बजे सार्वजनिक गर्ने भएको छ। 

राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेलका अनुसार मौद्रिक नीतिको पहिलो समीक्षा सार्वजनिक भएपछि भर्चुअल माध्यम (जुम मिटिङ)मार्फत उक्त समयपछि समीक्षामाथि छलफल गरिनेछ। राष्ट्र बैंकले बोर्ड बैठकले त्रैमासिक समीक्षा पारित गरेसँगै सार्वजनिक गरिने उनले जानकारी दिए। 

मौद्रिक नीतिको पहिलो समीक्षा वेबसाइट र सामाजिक सञ्जालहरुमार्फत सार्वजनिक गरेपछि जुम मिटिङमा समीक्षामाथि सञ्चारकर्मीलगायतसँग छलफल हुने पोखरेलले जानकारी दिए। ‘छलफल कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारी पनि उपस्थित हुनुहुनेछ’, उनले भने। 

मौद्रिक नीतिको त्रैमासिक समीक्षामार्फत बैंकहरुको ब्याजदरलाई थप बढ्न नदिने तथा केही नीतिगत व्यवस्थामा फेरबदल हुुनसक्ने आँकलन गरिएको छ। यद्यपि, सहप्रवक्ता पोखरेलले भने समीक्षामा के–कस्ता फेरबदल भए भन्ने कुरा सार्वजनिक भएपछि मात्रै हुने बताए।