काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुको असन्तुलित बैंकिङले लगानीयोग्य साधनमा दवाब सिर्जना गरी वित्तीय स्थायीत्व प्रभावित हुनसक्ने भन्दै नेपाल राष्ट्रबैंकले चिन्ता व्यक्त गरेको छ । 

चालु आर्थिक वर्षको तेश्रो त्रैमासको मौद्रिक नीति समीक्षा रिपोर्ट सार्वजनिक गर्दै केन्द्रीय बैंकले यस्तो चिन्ता व्यक्त गरेको हो । 

‘बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलनमा भएको वृद्धि भन्दा उच्च दरले कर्जा विस्तार हुदै गएकोले लगानीयोग्य साधनमा दबाब कायमै छ ।’ समीक्षामा भनिएको छ–‘निक्षेप संकलनको तुलनामा कर्जा प्रवाह बढी भएका कारण वित्तीय स्थायित्व प्रभावित हुनसक्ने जोखिम यथावत नै रहेको छ ।’ 

चालू आर्थिक वर्षमा मुद्रास्फीति लक्षित सीमाभित्रै रहने भएतापनि चालू खाता तथा शोधनान्तर स्थिति घाटामा रहनुले राखिएका लक्ष्य प्रभावित हुनसक्ने केन्द्रीय बैंकको आँकलन छ । 

अर्थतन्त्रको विद्यमान अवस्थालाई दृष्टिगत गर्दा वित्तीय स्थायित्व कायम राख्दै वित्तीय समावेशीकरण, वित्तीय साधनको सन्तुलित वाँडफाँट तथा सरल एवम् सुरक्षित भुक्तानी प्रणालीको विकास गर्ने कार्यमा केन्द्रीत हुनुपर्ने आवश्यकता देखिएको समेत राष्ट्रबैंकले निश्कर्ष निकालेको छ ।

राष्ट्रबैंकले समीक्षाको क्रममा मौद्रिक नीतिको लक्षित कार्यदिशा अनुरुप विद्यमान अनिवार्य नगद अनुपात, वैधानिक तरलता अनुपात तथा बैंकदर लगायत पुनरकर्जा दर सम्बन्धी व्यवस्थालाई यथावत कायम गरेको छ । 

मौद्रिक तरलताको प्रभावकारी व्यवस्थापनमार्फत् अल्पकालीन ब्याजदरलाई उपयुक्त स्तरमा राखी ब्याजदर स्थायित्व कायम गर्न खुला बजार कारोबारलाई थप सक्रिय बनाइने भनिएको छ भने वित्तीय विस्तार तथा समावेशीकरण, प्राथमिकता प्राप्त क्षेत्रतर्फ कर्जा विस्तार तथा समग्र वित्तीय स्थायित्व कायम गर्ने विषयमा केन्द्रित रही वित्तीय नीतिको प्रभावकारिता वृद्धि गर्दै लगिने समेत उल्लेख गरिएको छ ।