काठमाण्डौ । मौद्रिक नीति कार्यान्वयनको क्रममा धेरै बैंकहरु मर्जरमा गए त्यसले सेयर बजारमा आपूर्ति घटाउनसक्ने बैंकर तथा विश्लेषक अनलराज भट्टराईले बताएका छन् ।

उनले बैंकहरु एकआपसमा मर्जमा जाँदा अहिलेको व्यवस्था अनुसार बजारमा ती कम्पनीको सेयर कारोबार हुँदैन, जसका कारण धेरै बैंकले एकैपटक मर्जरको सम्झौता गरे बजारमा सेयरको सप्लाई कम हुने अवस्था आउनसक्ने बताए । 

राष्ट्रबैंकले मौद्रिक नीतिमार्फत मर्जर सम्झौता गरेलगत्तै कारोबार रोक्का हुने व्यवस्था हटाइदिनुपर्ने लगानीकर्ताको मागलाई सुनेनन् । यहीकारण समेत भट्टराईले भनेजस्तो बैंक तथा वित्तीय संस्थाको बोलवाला रहेको बजारमा मर्जरको लहर आए सेयर आपूर्ति कम भई असहज अवस्था समेत आउनसक्ने देखिन्छ । 

मौद्रिंक नीतिको विषयमा प्रतिक्रिया दिंदै बैंकर भट्टराईले गभर्नर डा. चिरञ्जिवी नेपालको पहिलो मौद्रिक नीतिले पूँजी बढाउने नीति ल्याएको र अन्तिम मौद्रिक नीतिले मर्जरलाई प्रोत्साहन गर्ने नीति ल्याएको बताए । 

उनले मौद्रिक नीतिमा निश्चित समयसीमा दिएर मर्जर प्रोत्साहन गर्ने कुरा केही महत्वकांक्षी रुपमा आए पनि बाँकी कुरा सामान्य रहेको बताए । 

समान प्रमोटर वा प्रवद्र्धक रहेका दुई वा सोभन्दा बढी बैंकको सवालमा मौद्रिक नीतिले घुमाउरो पारामा फोर्स मर्जरकै नीति लिएको उनको दाबी छ ।

‘सोझै फोर्स मर्जर भनेर नबोले पनि आशय चाहि त्यस्तै देखिन्छ ।’ उनले भने–‘समान प्रमोटर रहेका बैंकहरुको मर्जरलाई बढी प्रोत्साहन दिने भन्ने कुराले त्यही संकेत गर्छ ।’ 

उनले लिक्वीडिटी रेसियोमा वासेल थ्रीको नम्स लागू गर्ने भनी घोषणा भएको र यो हिसाबले हेर्दा अहिलेको मौद्रिक नीतिले बैंकहरुको सीसीडी रेसियो हटाउन खोजेको हो कि भन्ने देखिने बताए । ‘हुन त वासेल थ्री नम्समा पूर्ण रुपमा जाने भन्ने बित्तिकै अब सीसीडी आवश्यक पर्दैन ।’–उनले थपे । 

अर्थतन्त्रमा सिस्टेमिटक महत्वपूर्ण रहेका बैंकको पहिचान गरी छुट्टै अनुगमन गर्ने भनी आएको व्यवस्था नयाँ अवधारणा रहेको उनले बताए । 
तरलता व्यवस्थापन गर्न विदेशी स्रोतहरुको बाटो खोलिएको समेत उनको भनाई छ । 

मौद्रिक नीतिमा बैंकहरुले आफ्नो कोर क्यापिटलको २५ प्रतिशतसम्म ऋणपत्र निश्कासन गर्नुपर्ने भनी ऋणपत्र बजारको विकासमा विशेष जोड दिएको उनले बताए ।