काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले साउन ८ गते सार्वजनिक गरेका आर्थिक वर्ष २०७६/७७ को मौद्रिक नीतिलाई सेयर बजारले नकारात्मक ढंगले रेसपोन्स गर्यो । 

मौद्रिक नीतिमा बजारलाई उत्साहित बनाउने खास नीतिहरु नसमेटिएपछि र बजारमा दीर्घकालीन ढंगले प्रभाव पर्ने कतिपय नीति राखिएपछि यसले बजारमा उत्साहको साटो निराशा ल्याइदिएको हो । 

मौद्रिक नीतिकै कतिपय व्यवस्थाका कारण बजारमा निराशा छाएको र त्यसको प्रतिबिम्बको रुपमा नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आएको भनिएको बेला बजार सम्बद्ध निकायहरु चाहि के भन्छन् ? के मौद्रिक नीतिकै कारण बजारमा निराशाको प्रतिबिम्ब गिरावट आएको हो ?

पढौं सरोकारवालाहरुले मौद्रिक नीति र यसबाट बजारमा पर्ने प्रभावको बिषयमा बिजशालासँग व्यक्त धारणा:

ध्रुव तिमिल्सिना(सीइओ)-सिद्धार्थ क्यापिटल 
म मौद्रिक नीति नेगेटिभ त देख्दिँन । फोर्स मर्जरको आशा विपरीत र सहुलियतपूर्ण व्यवस्थाले बैंक वितीय संस्थालाई प्रोत्साहन गर्ने खालको आयो । सेयर बजारका विषयमा यसअघि नै नेपाल राष्ट्र बैंकले सम्बोधन गरिसकेको छ। नकारात्मक प्रभाव पर्नुपर्ने कुनै कारण वा अवस्था देखिन्न । यो मौद्रिक नीतिका कारण सेयर बजारमा धेरै असर पर्दैन जस्तो लाग्छ ।

मनिस घिमिरे(डेपुटी सीइओ)-एनआइसी क्यापिटल 
मौद्रिक नीतिमा नकारात्मक र सकारात्मक दुवै पाटो छ । मुख्य कुरा  कुन रुपमा हेर्ने भन्ने नै हो । मेरो विचारमा बजारमा सकारात्मक असर नै पर्ला । बैंक वितीय संस्थाको ग्रोथका लागि बण्डले बाध्यताकारी भएकाले यसको नकारात्मक असर पर्ने देखिन्छ ।

भरत रानाभाट(अध्यक्ष)-स्टक ब्रोकर एसोसिएशन 
बजारलाई सीधा छुने किसिमको मौद्रिक नीति छैन, तर अप्रत्यक्ष निकटता भने केही छ। अनिवार्य ऋणपत्र जारी हुँदा मार्केटमा तरलता बढ्ला । समग्रमा ठूलो प्रभाव नपर्ला । ऋणपत्रकै कारणले मार्केटको पैसा सोचेजस्तो अन्त जाँदैन भन्ने मेरो ठम्याइ हो । 

राजकुमार तिमिल्सिना-ब्रोकर नम्बर ३४ भिजन सेक्युरिटीज 
बैंक तथा वितीय संस्थालाई नै छोएको छ यसपालिको मौद्रिक नीतिले । मर्जर वा एक्विजिसनमा कारोबार हुनुपर्छ, जुन एकीकृत निर्देशिकामा आउनेमा म ढुक्क छु । मौद्रिक नीतिको सेयर बजारमा खासै कन्सर्न हुन्न, यसले बैंक वितीय संस्थालाई नै असर पर्छ । जसको असर भने हेर्न बाकी नै छ। 

उत्तम अर्याल(अध्यक्ष)-सेयर लगानीकर्ता संघ 
हामीले आशा गरेका कुरा मौद्रिक नीतिमा आएन । पूँजीबजारलाई प्रत्यक्ष असर पर्ने खालको केही आएन । निरुत्साहित वा उत्साहित हुनुपर्ने खालको मैले देखिँन । बिदेशबाट ऋण ल्याउन पाउने व्यवस्था  र स्प्रेडदर घटेकाले ब्याजदरमा चाहिँ स्थिरता ल्याउने प्रयास गरेको देखिन्छ। बिग मर्जर बजारमा हल्ला चलाए जस्तो आएन । मेरो विचारमा सेयर बजारलाई सन्तुलित नै बनाउने देख्दछु ।

नयन बास्तोला(महासचिव)-लगानीकर्ता दबाब समूह  
सेयर मार्केटका विषयमा केही एडजस्ट भएर आएन । समग्रमा भन्नुपर्दा मार्केटलाई असर गर्ने मैले देखिँन । एनआरएनएलाई खुल्ला गरिएको छ ।  मौद्रिक नीतिले  तरलता सहजीकरण  गर्ने तर सेयर बजारमा ठूलो प्रभाव पर्छ जस्तो लागेन । 

विष्णु बस्याल, प्राविधिक विश्लेषक 
तटस्थ मौद्रिक नीति छ । जुन किसिमको अपेक्षा थियो फोर्स मर्जरको, त्यो देखिएन । मर्जरले बैंकको स्वास्थ्य राम्रो गर्ला।अनिवार्य डिबेन्चरले तरलतामा पो समस्या आउला कि ?

दीलिप मुंनकर्मी-बजार जानकार 
मौद्रिक नीति कस्तो न कस्तो आयो। नयाँ पुरानो भन्ने केही देखिँन मैले  त। बैंकहरुले अनिवार्य २५ प्रतिशत ऋणपत्र जारी गर्दा त्यसले कति हिट गर्ला, रिजल्ट कुर्नुपर्ने छ। सेयर मार्केटका इस्यू केही आएन। 

चेतनाथ लुइँटेल-लगानीकर्ता 
सेयर बजारलाई खासै छोएन मौद्रिक नीतिले । मर्जरमा गएका बैंकको डेडलक खोल्ने व्यवस्था हुँदा अन्य समस्या नआउला।ब्याजदर नियन्त्रण गर्ने प्रयासले दीर्घकालीन सपोर्ट गर्ला । 

दीपक दाहाल-लगानीकर्ता 
कमेन्ट गरिहाल्नुपर्ने खासै केही छैन । नयाँ कुरा भनेकै डिबेन्चर आयो। फोर्स मर्जरको हाउगुजी बारे आउने एकीकृत निर्देशिकाले तय गर्ला। सेयर बजारमा उत्साह वा निराशा बनाउने त्यस्तो केही देखिँन।