काठमाण्डौ । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा आज सार्वजनिक हुने भएको छ । 

नेपाल राष्ट्रबैंकका प्रवक्ता डा। गुणाकर भट्टले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा आज साँझ ७ बजे सार्वजनिक हुने जानकारी दिए ।

'मौद्रिक नीतिको मध्यावधि समीक्षा तयार भइसकेको छ, अब त्यसलाई बोर्डले पास गरेपछि सार्वजनिक हुनेछ ।' उनले बिजशालासँग भने-'राष्ट्रबैंकको बोर्ड बैठक बस्न लागेको छ ।'

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा सेयर बजारमा प्रभाव पर्ने कुनै नीतिगत परिवर्तन हुने हो कि भन्ने हल्लाले यो पटकको समीक्षालाई लगानीकर्ताले विशेष प्राथमिकता दिएका छन् । सेयर बजारका ठूला लगानीकर्ताहरु सेयर धितो कर्जाको समीक्षा ७० बाट ६५ प्रतिशतसम्म सीमित राखिए त्यसले बजारलाई खासै फरक नपार्ने बताइरहेका छन् । 'तर, यदि यस्तो सीमा ६० प्रतिशत मात्रै कायम भयो भने बजारमा केही प्रभाव पर्न सक्छ ।'-बजारका एक विज्ञले भने । 

कतिपयले भने बैंक ब्याजदर बढ्नुको साटो घट्दो क्रममै रहेकोले मौद्रिक नीतिका सानातिना परिवर्तनले बजारलाई खासै प्रभाव नपार्ने बताइरहेका छन् ।'ब्याजदर सस्तो हुनु नै बजार बढ्ने मुख्य आधार हो ।'-उनीहरुको तर्क छ ।