काठमाण्डौ । कोभिड १९ को दोश्रो लहर तीव्र बनिरहेको बेला नेपाल राष्ट्रबैंकले स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल र उद्योगहरुलाई राहात हुने गरी नीतिगत व्यवस्था गरेको छ । 

केन्द्रीय बैंकले नेपालमा हाल सञ्चालनमा रहेका स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगहरुलाई लिक्विड अक्सिजन प्लाण्ट वा अक्सिजन प्लाण्ट स्थापना गर्ने प्रयोजनको लागि कर्जा माग भएमा बैंक तथा वित्तीय संस्थाहरुले आधार दरमै कर्जा उपलब्ध गराउने व्यवस्था हुने घोषणा गरेको हो । 

मौद्रिक नीतिको तेश्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै केन्द्रीय बैंकले यस्तो व्यवस्था मिलाइने जानकारी दिएको हो । 

यस्तै, नेपालमा हाल सञ्चालनमा रहेका स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगहरुलाई लिक्विड अक्सिजन प्लाण्टका लागि रु ५० करोडसम्म तथा अक्सिजन प्लाण्ट स्थापना गर्ने प्रयोजनका लागि रु २० करोडसम्मको कर्जालाई एक वर्षको लागि विशेष पुनरकर्जा उपलब्ध गराउने व्यवस्था समेत मिलाइने समीक्षामा उल्लेख छ । 

ब्याज पूँजीकरणको लागि केन्द्रीय बैंकबाट स्वीकृती प्राप्त गरिसकेका विद्युत परियोजनाहरुको रिक्वायर्ड कमर्सियल अपरेशन डेट(Required Commercial Operation Date) परिवर्तन भएमा सो अबधिको ब्याज पुँजीकरण गर्न यस बैंकको स्वीकृति आवश्यक नपर्ने व्यवस्था समेत मिलाइने केन्द्रीय बैंकले प्रष्ट पारेको छ ।