काठमाण्डौ । अर्थमन्त्री विष्णु पौडेलले राष्ट्रबैंकले ल्याउन लागेको मौद्रिक नीतिमा सेयर बजार प्रभावित हुने कुनै पनि व्यवस्था नहुने आश्वासन दिएका छन् । 

बजारको नियामक धितोपत्र बोर्डका अधिकारीसँग अर्थमन्त्री पौडेलले यस्तो आश्वासन दिएका हुन् । 

राष्ट्रबैंकले आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति साउनको पहिलो साता सार्वजनिक गर्ने तयारी गरिरहेको छ । 

मौद्रिक नीति सार्वजनिक गर्ने तयारी हुँदै गर्दा सेयर धितो कर्जाको सीमा घट्ने, मौद्रिक नीतिले सेयर बजारमा नकारात्मक प्रभाव पार्ने व्यवस्था समेत ल्याउने लगायतका विषयका अड्कलबाजी भइरहेका बेला अर्थमन्त्रीले यस्तो आश्वासन दिएका हुन् । 

धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाका अनुसार केही दिनअघि उनले अर्थमन्त्रीसँग भेट गरेका थिए । सो भेटका क्रममा अर्थमन्त्रीसँग आफूले मौद्रिक नीतिले सेयर बजारलाई प्रभाव पार्ने कुनै पनि व्यवस्था ल्याउन नहुने र यसका लागि सहयोग गरिदिन आग्रह गरेको दाबी गरे । ‘मौद्रिक नीति बजारमैत्री नै आउने र यसका लागि आफूले राष्ट्रबैंकलाई आवश्यक निर्देशन दिने अर्थमन्त्री ज्यूले आश्वासन दिनुभएको छ ।’ अध्यक्ष ढुंगानाले बिजशालासँग भने–‘अर्थमन्त्री ज्यू बजारप्रति साह्रै सकारात्मक हुनुहुन्छ । उहाँले बजारमैत्री मौद्रिक नीति ल्याउने विषयमा सहजीकरण गर्नुहुन्छ भन्ने आशा छ ।’ 

बोर्डका अध्यक्ष ढुंगाना यसपटकको मौद्रिक नीतिबाट सेयर धितो कर्जाको सीमा घटाउन नहुने पक्षमा छन् । उनले यसका लागि आफूले राष्ट्रबैंकसमक्ष पनि आवश्यक पहल गरिरहेको बताएका छन् । 

पछिल्लो समय अर्थमन्त्रालयले समेत बजारको घट्दो क्रमलाई गम्भीर रुपमा हेरिरहेको छ । बजारका लगानीकर्ताहरुको मनोबल उकास्ने खालको नीति ल्याएर कारोबारको आकार बढ्न सकेको खण्डमा सरकारलाई समेत निकै राम्रो राजश्व प्राप्त हुने अर्थका अधिकारीहरुको निश्कर्ष छ ।

पछिल्लो समय लगानीकर्ताहरुले समेत लगानी नै निरुत्साहित हुने खालको नीति ल्याएर बजारको विषयमा नयाँ लगानीकर्ताहरुमा नकारात्मक धारणाको विकास नगर्न आग्रह गरिरहेका छन् ।