काठमाण्डौ । आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति तत्काल नआउने लगभग निश्चित भएको छ। 

नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले मौद्रिक नीतिमा समेटिनुपर्ने अजेन्डाहरुका विषयमा विभिन्न सरोकारवाला निकायहरुबाट सल्लाह-सुझाव आइरहेका र थप छलफल गर्नुपर्ने आवश्यकतासमेत रहेकाले मौद्रिक नीति तत्काल नआउने प्रस्ट पारेका हुन्।

अध्यादेशबाट आएको बजेटलाई प्रतिस्थापन गर्ने गरी पूरक बजेट ल्याउने वा नल्याउने भन्ने विषयमा साउन ३ गतेदेखि सुरु हुने संसद् अधिवेशनबाट कुनै निर्देशन आउन सक्ने उल्लेख गर्दै त्यही आधारमा बजेट पनि संशोधन हुने र संशोधित बजेटमा आधारित मौद्रिक नीति आउने उनको संकेत थियो।

नेपाल राष्ट्र बैंकले केपी ओली नेतृत्व सरकारले अध्यादेशमार्फत ल्याएको बजेटमा आधारित मौद्रिक नीति तयार गरी साउन ३ गते सार्वजनिक गर्न खोजेको थियो। नवनियुक्त अर्थमन्त्री शर्माको अभिव्यक्ति राष्ट्र बैंकको योजनाअनुसार साउन ३ मै मौद्रिक नीति सार्वजनिक नहुने निश्चित देखिएको छ।