काठमाण्डौ । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नरहरुले नयाँ सरकारले संशोधनसहित ल्याउने बजेटमा आधारित रहेर मात्र मौद्रिक नीति ल्याउन सुझाव दिएका छन्।

मौद्रिक नीति ल्याउन ढिलाइ भइरहेको बेला राष्ट्र बैंकले आज पूर्वगभर्नरहरुसँग छलफल गरेको थियो। नयाँ सरकारले ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत ल्याएको बजेट संशोधनको तयारी गरिरहेको बेला राष्ट्र बैंक भने मोटामोटी मौद्रिक नीति तयार गरेर बसिरहेको छ। राष्ट्र बैंक नेतृत्वले यही साता मौद्रिक नीति सार्वजनिक गर्न चाहे पनि नयाँ अर्थमन्त्री जनार्दन शर्माले ग्रिन सिग्नल नदिएपछि होल्ड भएको छ। यही अन्यौलको अवस्थामा के गर्ने भन्ने विषयमा राष्ट्र बैंकले पूर्वगभर्नरहरुसँग छलफल गरेको हो।

छलफलमा सहभागी भएका पूर्वगभर्नरहरुले बजेटको संशोधन कुर्न सुझाव दिएका छन्। सरकारले बजेटमार्फत लिने वित्तीय नीतिलाई सहयोग पुग्ने खालको मौद्रिक नीति आवश्यक पर्ने भएकोले हतार नगर्न उनीहरुले सुझाएका छन्।

पूर्वगभर्नरहरुको यो सुझावपछि राष्ट्र बैंक संशोधित बजेटपछि मात्र मौद्रिक नीति ल्याउन तयार देखिएको छ। ‘यो साता त अब सम्भव नै भएन’, राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले भने, ‘मौद्रिक नीति आउन केही समय लाग्ने अवस्था बन्यो।’