काठमाण्डौ । चालु आर्थिक वर्षको मौद्रिक नीतिमा गरिएको व्यवस्थाले नेपालको सेयर बजारमा नकारात्मक असर परिरहेको जानकारहरु बताउँछन्। मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा पनि सोचेअनुसार नीतिगत व्यवस्थामा परिमार्जन नहुँदा लगानीकर्ताहरु निराश बनेका छन्। जसका कारण बजार दैनिकजसो प्रभावित बनिरहेको छ। 

यसैगरी भारतीय सेयर बजारका लगानीकर्ताहरु पनि मौद्रिक नीतिको पर्खाइमा रहेको देखिन्छ। जसका कारण यो साता भारतीय सेयर बजारमा तीव्र उतारचढाव हुने जानकारहरु बताउँछन्। 

यो साता भारको रिजर्भ बैंकले मौद्रिक नीतिको समीक्षा गर्दैछ। यही समीक्षाले मुख्य गरी भारतीय सेयर बजारको अबको दिशा तय गर्ने जानकारहरु बताउँछन्।

स्वस्तिक इन्भेस्टमार्टका शोध प्रमुख सन्तोष मिणा ओमिक्रोनका विषयमा रहेको अन्यौलता र रिजर्भ बैंकले ल्याउने मौद्रिक नीतिको समीक्षा तथा बृहत आर्थिक आँकडाबीच यो साता सेयर बजारमा तीव्र उतारचढाव हुने बताउँछन्। ‘ओमीक्रोनका विषयमा थुप्रै खबरहरु आइरहेका छन्, जसले बजारमा अनिश्चितताको वातावरण सिर्जना भइरहेको छ’, मिणाले भने, ‘त्यहीँ मौद्रिक नीतिको समीक्षा पनि चासोका साथ हेरिएको छ। यो साता औद्योगिक उत्पादन तथा मुद्रास्फीतिको आँकडा पनि आउनेछ।’ 

रेलिगेयर ब्रोकिङका उपाध्यक्ष अजित मिश्रा पनि यो साता सेयर बजारमा तीव्र उतारचढाव हुने बताउँछन्। ‘सेयर बजारका लगानीकर्ताहरुको ध्यान अहिले मौद्रिक नीतिको समीक्षामा रहेको छ’, उनले भने, ‘यही समीक्षा बजारको अबको यात्रा तय गर्नेछ।’ – एजेन्सी