– अर्जुन तिमिल्सिना 

काठमाण्डौ । पुँजीबजारका लागि बहुप्रतिक्षित आर्थिक वर्ष २०७९–८०को म्रौद्रिक नीति आज सार्वजनिक भएको छ। 

राष्ट्र बैंकले ल्याएको म्रौद्रिक नीतिमा सेयर बजारका लगानीकर्ताहरुको मिश्रित प्रतिक्रिया आएको छ। राष्ट्र बैंकले सेयर धितो कर्जामा ४ करोडको सीमालाई हटाएर १२ करोडको सीमालाई यथावत राखेको छ। जोखिम भारमा २५ लाखसम्म १०० प्रतिशत बनाइएको छ। अबोप्रान्त मर्ज तथा प्राप्तिमा जाने कम्पनीहरुको सेयर कारोबार रोक्का गर्ने राष्ट्र बैंकको व्यवस्था खारेज गरिएको छ। 

नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले यो म्रौद्रिक नीतिलाई ‘हात्ती आयो, हात्ती आयो, फुस्सा’को संज्ञा दिए। ‘हाम्रो माग ४–१२ को क्याप पूर्ण रुपमा हट्नुपर्छ भन्ने हो, त्यो भएन’, ढकालले भने, ‘अब एउटै बैंकबाट मात्रै १२ करोड पाउने भयो। संस्थागत लगानीकर्तालाई  र पुँजीबजारको विकासका लागि यो बाधक नै भयो।’

जोखिमा भारको विषयमा सहज नीति नआएको ढकालको भनाइ छ। ‘सिंगल अब्लिगर लिमिटको व्यवस्था पनि हटेन’, उनले भने। 

पुँजीबजारलाई नै पेसा बनाउनेहरुका लागि भने यो नीति बाधक नै भएको ढकालको तर्क छ। उनले साना लगानीकर्ताका लागि भने मौद्रिक नीति केही लचकदार भएको प्रक्रिया दिए। 

बजार जानकार मुक्ति आर्यल पनि आजको मौद्रिक नीति केही नहुनुभन्दा राम्रै भएको बताए। ‘मर्जरका क्रममा सेयर रोक्का नहुने विषय राम्रै हो’, उनले भने, ‘सेयर धितो कर्जामा २५ लाखसम्म जोखिम भारको व्यवस्था १०० प्रतिशत हुनु राम्रै हो।’

यसैगरी ब्रोकरहरुमार्फत मार्जिन कर्जा उपलब्ध भएको खण्डमा १२ कारोडको सीमा पनि हट्ने विषय पनि सकारात्मक भएको अर्यालको भनाइ छ। ‘यसले अब धितोपत्र बोर्डलाई दबाब पर्नेछ। यसमा राष्ट्र बैंकको नियमन हुने छैन’, उनले भने। 

मार्जिन प्रकृतिको लोन अब ब्रोकरबाट आयो भने राम्रै हुने अर्यालको तर्क छ। सीआरआर र एसएलआर बढेको हुँदा लगात बढ्ने र ब्याजदर भने महँगो पर्ने अर्याल बताउँछन्। समग्रमा ठिकै खालको म्रौद्रिक नीति आएको तर व्यवहारिक नभएको अर्यालको तर्क छ।

बजार जानकार गोविन्दप्रसाद घिमिरेले मौद्रिक नीतिमार्फत साना लगानीकर्तालाई राहत दिएको बताए। ‘२५ लाखसम्मको सेयर धितो कर्जामा १०० प्रतिशतको जोखिम भार हुनु  सानालाई राहत भएको देखिन्छ’, उनले भने, ‘ठूलालाई भने ट्रयापमा पारेको छ। यो नीतिले ठूला घरानाका एउटै व्यक्तिलाई ठूलो सेयर ऋण दिने कार्य निरुत्साहित हुनेछ।’

मर्जरमा जाने कम्पनीहरुको कारोबार अब लामो समय नरोकिने भन्ने विषय स्वागतयोग्य नै रहेको घिमिरेको भनाइ छ।