– अर्जुन तिमिल्सिना 

काठमाण्डौ । नेपाल लाइफ इन्योरेन्स जीवन बीमा कम्पनीमध्ये एक लगानीकर्ताको रोजाइमा पर्न सफल कम्पनी हो। यो कम्पनी २०५८ सालमा स्थापित भएको हो। यो कम्पनीको मुख्य उद्देश्य भनेको लगानीकर्ता तथा बीमकलाई स्वास्थ्य र आर्थिक क्षेत्रमा सबल बनाउनु रहेको छ। 

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीको चुक्तापुँजी ८ अर्व २० करोड ८० लाख रुपैयाँ रहेको छ। कम्पनीको जगेडा कोषमा ४८ कारोड ४ लाख ४९ हजार रुपैयाँ रहेको छ। यो भनेको अघिल्लो आर्थिक वर्षको यही अवधिको तुलनामा ७३ प्रतिशतले कमी हो। 

हाल कम्पनीको जीवन बीमा कोष डेढ खर्ब रुपैयाँ रहेको छ भने कम्पनीको खुद मुनाफा ४४ करोड रुपैयाँ रहेको छ। गत आर्थिक वर्षको यही अवधिमा कम्पनीको खुद मुनाफा १३ करोड रुपैयाँ मात्रै रहेको थियो। यस हिसाबले कम्पनीको मुनाफामा उल्लेख्य सुधार भएको छ। 

कम्पनीको प्रतिसेयर आम्दानी १०.७३ रुपैयाँ रहेको छ भने बुक भ्यालु ११६.०१ रुपैयाँ रहेको छ। प्रतिसेयर कुल सम्पत्ति २०१२ रुपैयाँ रहेको छ भने कम्पनीको रिटर्न अन इक्विटी ९.२५ प्रतिशत रहेको छ।  

पछिल्लो १० वर्षमा नेपाल लाइफको वार्षिक औसत लाभांश ४७.५ प्रतिशत रहेको छ। 

प्राविधिक पक्ष

फियर एन्ड ग्रिड मिटरका आधारमा

नेपाल लाइफ फियर एन्ड ग्रिड मिटरका आधारमा हाल बियरिस सेन्टिमेन्टमा रहेको देखिन्छ। कम्पनीको ५२ साताको न्यून मूल्य ५७४ रुपैयाँसम्म तल आएको देखिन्छ भने ५२ साताकै उच्च मूल्य १२३७ रुपैयाँसम्म पुगेको देखिन्छ। हाल दोस्रो बजारमा कम्पनीको अन्तिम मूल्य ६६३ रुपैयाँमा कारोबार भएको छ। 

बोलिंगर, म्याक्सी र आरएसआईका आधारमा

नेपाल लाइफको सेयरमूल्यलाई चार्टमार्फत हेर्दा करिब ६०० रुपैयाँमा न्यून विन्दु बनाएको देखिन्छ। बोलिंगर ब्यान्डमार्फत हेर्दा कम्पनीको सेयरमूल्यले तल्लो ब्यान्डमा छोएर मध्य ब्यान्डतर्फ आकर्षित भएको देखिन्छ। पछिल्लोपटकका २ कारोबारलाई मिलाएर हेर्दा बुलिस हारामी प्याट्रन बनेको मान्न सकिन्छ। यदि रातो क्यान्डलको ठीक पछि सानो छोटो हरियो क्यान्डल बन्छ भने त्यसलाई बुलिस हरामी प्याट्रन भनिन्छ। 

म्याक्डीमार्फत हेर्दा एमएसीडी लाइन र सिग्नल लाइनबीचको दूरी घट्दै गएको छ भने हिस्टोग्राम नेगेटिभ र छोटा–छोटा हुँदै गएका छन्। हिस्टोग्राम लामो समय नेगेटिभ रहेर हाल छोट हुँदै गएका छन्। तर, बुलिस क्रसओभर भइसकेको अवस्था भने छैन। आरएसआई हाल ३० को ओभर सोल्ड जोनबाट फर्केर ३८ को विन्दुमा बढ्दो अवस्थामा देखिन्छ। 

पिभट प्वइन्टका आधारमा 

पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको अधिकतम, न्यनूतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ। पिभट प्वइन्टका आधारमा नेपाल लाइफको सेयरभाउको सपोर्ट तथा प्रतिरोधका विन्दुहरु यस्ता देखिन्छन्–

बढेमा प्रतिरोध 

  • प्रतिरोध १– ७४५
  • प्रतिरोध २– ७९९
  • प्रतिरोध ३– ८३५

पिभट प्वइन्टः ७१०

घटेमा सपोर्ट 

  • सपोर्ट १– ६५६
  • सपोर्ट २– ६२१
  • सपोर्ट ३– ५६७

निष्कर्ष

आधारभूत रुपमा हेर्दा चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा यो कम्पनीको चुक्तापुँजी अघिल्लो आर्थिक वर्षका तुलनामा १४ प्रतिशतले बढेको छ भने रिजर्भमा ७३ प्रतिशतले गिरावट आएको छ। खुद मुनाफा भने यही समयअवधिमा अघिल्लो आर्थिक वर्षको तुलनामा २०० प्रतिशतभन्दा बढीले बढोत्तरी आएको छ। रिर्टन अन इक्विटीमा पनि क्रमशः बढोत्तरी आएको छ। 

प्राविधिक रुपमा फियर एन्ड ग्रिड मिटरमा बियरिस सेन्टिमेन्ट देखिन्छ। अन्य इन्डिकेटर म्याक्डी तथा आरएसआईमार्फत हेर्दा करिब–करिब घट्दो क्रम रोकिन सक्ने देखिन्छ। म्याक्डीमार्फत हेर्दा भने बुलिस क्रसओभर नजिक–नजिक हुँदै गएको देखिन्छ। 

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।