काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले हिमाली जिल्ला म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा महिला सशक्तीकरणसम्बन्धी पहिलो कार्यक्रम सम्पन्न गरेको छ। 

कार्यक्रम बिहीबार अन्नपूर्ण गाँउपालिका–६ घारको सहकार्य र सामाजिक संस्था मिलन म्याग्दीको समन्वयनमा सञ्चालन भएको थियो। कार्यक्रममा स्थानीय स्वयंसेविका, आमा समूह र महिला जनप्रतिनिधि गरी ३७ जनाको सहभागिता थियो।

अन्नपूर्ण गाउँपालिका वडा नं. ६ का अध्यक्ष रामबहादुर खड्काको अध्यक्षतामा सम्पन्न महिला सशक्तीकरण कार्यक्रममा प्रमुख अतिथि अन्नपूर्ण गाउँपालिकाकी उपाध्यक्ष दिवाकुमारी तिलिजा पुनले महिलालाई जागरुक र सुसूचित बनाउने यस्ता कार्यक्रमले स्वरोजगार हुन र आयआर्जन गर्न प्रेरित गर्ने धारणा व्यक्त गरिन्। 

दुरविनडाँडा कृषक समूहकी सरिता बरुवाल खड्काबाट सञ्चालित कार्यक्रममा मिलन म्याग्दी संस्थाकी कार्यकारी निर्देशक दिलमाया बिटालु क्षेत्रीले महालक्ष्मी लाइफले महिला उत्थानका लागि गरेको सशक्तीकरण कार्यक्रम एकदमै प्रशंसनीय रहेको बताइन्। 

सर्वोत्तम पिठो उत्पादन समूहकी सचिव सुशीला कार्की र मालिका कृषक समूहकी अध्यक्ष सपना बरुवालले समाजमा महिलालाई आत्मनिर्भर हुन यस्ता कार्यक्रम एकदम प्रभावकारी हुने धारणा राखे। 

महालक्ष्मी लाइफ धवलागिरी प्रमुख जमुना आचार्यले सहभागीलाई बीमाका माध्यमले कसरी स्वरोजगार भई आर्थिक रुपमा सक्षम हुनेबारेमा तालिम प्रदान गरेकी थिइन्। उनले निकट भविष्यमा सरकारी तथा गैरसरकारी निकायसँगको सहकार्यमा ग्रामीण क्षेत्रका महिलालाई रोजगार र आवश्यक अन्य तालिम पनि प्रदान गर्ने जानकारी दिइन्।