काठमाण्डौ । राष्ट्रसंघीय विकास कार्यक्रमको सहभागितामा यति एयरलाईन्सले कार्बन न्यूट्रल एयरलाइन्सको रुपमा स्थापित  गर्ने कार्यको थालनी गरेको छ ।

शुक्रबार हिमालयन होटलमा आयोजित कार्यशालामा नेपाल सरकार, नागरिक उडडयन प्राधिकरण, नागरिक समाजका अगुवा संघसंस्थाहरु र निजी क्षेत्रको सहभागितामा एअरलाईन्सले विगत एक वर्षको उत्सर्जन गरेको हरित गृह ग्याँस र त्यसले वातावरणमा पार्ने असरका बारेमा छलफल गरियो । 

हवाईयात्रा र यससँग सम्बन्धित सवारी साधनले वातावरणमा पार्ने प्रभावका बारेमा नेपालमा पहिलो पटक यस्तो खालको अभ्यासको शुरुवात गरिएको एयरलाइन्सको दाबी छ ।

यती एअरलाईन्सका प्रमुख कार्यकारी अधिकृत उमेशचन्द्र राईकाअनुसार नागरिक उडड्यन प्राधिकरण र राष्ट्रसंघीय विकास कार्यक्रमको अमूल्य सहयोगका कारण यती एअरलाईन्स कार्बन न्यूट्रलको दिशामा अघि बढ्ने नेपालकै पहिलो वायुसेवा हुन सफल भएको हो । उनले भने, “हामी सबैको सहयोगले निश्चय नै यस दिशामा सानै भए पनि ठोस सहयोग पुर्याउन सक्नेछौं ।”

राष्ट्रसंघीय विकास कार्यक्रम नेपालका निर्देशक रेनोड मेयर नेपालमा पहिलो पटक यति एअरलाईन्सले आफूलाई वातावरण सन्तुलन राख्ने कम्पनीको रुपमा रुपान्तरण गर्ने ऐतिहासिक र साहसिक निर्णय गरेको बताए । उनले भने, “यस कार्यले अरु थुप्रै कम्पनीहरुलाई पनि राष्ट्रसंघको दिगो विकास लक्ष्य २०३०” प्राप्त गर्ने दिशामा ठोस योगदानहरु पुर्याउन प्रेरणा मिल्नेछ । 

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जिब गौतमले पनि यती एअरलाईन्सको यस निर्णयले प्राधिकरणको उड्डयन क्षेत्रलाई वातावरणमैत्री बनाउने तथा हरित गृह ग्याँस कम गर्ने राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रयासमा ठोस योगदान पुर्याउन मद्दत पुग्ने कुरामा विश्वास व्यक्त गरेका छन् ।

प्रारम्भिक तथ्याङ्कअनुसार सन् २०१७ मा यती एअरलाईन्सले १८,१३३ टन कार्बन उत्सर्जन गरेको छ । यसको मुख्य स्रोत भनेको एअरलाईन्सले शहरी क्षेत्रमा पुर्याउने हवाई सेवाबापत वायुयानहरुले प्रयोग गर्ने ईन्धन नै हो । माथिउल्लेख भएको कार्वन न्यूटलाइज गर्न ४,७०,००० रुख विरुवा लगाई दश बर्षको समयअवधि लाग्न सक्छ । एअरलाईन्समा नयाँ फ्लीट थप गरे सँगै सन् २०१६ को भन्दा सन् २०१७ मा प्रतियात्रु ७ प्रतिशत र प्रति कि.मी. ११ प्रतिशत कार्बन उत्सर्जन घटेको दाबी गरिएकोछ ।