काठमाण्डौ । प्रतिनिधिसभाबाट आज विनियोजन विधेयक बहुमतले पास भएको छ। यद्यपि सरकारले भोलि असोज ५ गतेसम्म बजेट खर्च गर्न नपाउने भएको छ। यही कारण नेपालमा पहिलोपटक गभर्मेन्ट सटडाउन (सरकारी खर्च शून्यता) ४ कार्यदिन लामो हुँदैछ। 

यसअघि बजेट पास नहुँदा सरकारले गत भदौ ३१ र असोज १ गते सरकारले खर्च गर्न पाएको थिएन। असोज २ र ३ गते सार्वजनिक बिदा थियो। आज र भोलि असोज ४ गते सरकारी कार्यालय खुल्नेछन्। यो हिसाबले ४ दिनसम्म गभर्मेन्ट सटडाउनको अवस्थामा पुगेको हो। 

आज पास भएको विनियोजन विधेयक कार्यान्वयन हुन राष्ट्रियसभाले पारित गर्नुपर्छ ।यसका लागि भोलि दिउँसो १ बजे राष्ट्रिसभा बैठक डाकिएको छ। राष्ट्रियसभाले बजेट पास गरेर पुनः प्रतिनिधिसभामा फर्काउनुपर्छ। सभामुखले सो विधेयकलाई राष्ट्रपतिकहाँ पठाउनुपर्छ र राष्ट्रपतिले प्रमाणीकरण गरेपछि मात्रै सरकारले राष्ट्रिय ढुकुटी (सञ्चित कोष) चलाउन पाउँछ। यो प्रक्रिया पूरा हुन भोलि मंगलबारसम्म कुनुपर्नेछ र भोलि नै गभर्मेन्ट सटडाउनको अवस्था अन्त्य हुनेछ।

केपी शर्मा ओली नेतृत्व पूर्ववर्ती सरकारले अध्यादेशमार्फत १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट घोषणा ल्याएको थियो। वर्तमान सरकारले भने १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँ बराबरको प्रतिस्थापन बजेट ल्याएको हो ।