काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)मा सूचीकृत कम्पनीहरुमध्ये ५ वटा कम्पनीहरुले सूचीकरण विनयमावली बमोजिम वार्षिक नवीकरण शुल्क नबुझाएका कारण धितोपत्रको दोस्रो बजारमा कारोबार रोक्का भएको छ ।

नेप्सेका सीइओ चन्द्रसिंह साउदका अनुसार सूचीकृत कम्पनीहरुमध्ये ५ वटा कम्पनीहरुले वार्षिक नवीकरण शुल्क बुझाउन ढिला गरेका कारण कारोबार रोक्का गरेको जानकारी दिएका छन् । मल्टीपर्पोज फाइनान्स, हिमाल दोलखा हाइड्रोपावर,जोशी हाइड्रोपावर,नेपाल हाइड्रो डेभलपर,हिमालय डिष्टीलरी गरी ५ कम्पनीको आज सेयर कारोबार रोक्का भएको हो ।

नेप्सेका अनुसार सूचीकृत कम्पनीहरु मध्ये २५ कम्पनीहरुले वार्षिक नवीकरण शुल्क बुझाएका छैनन् । अन्य कम्पनीहरु समस्याग्रस्त घोषणा भएको तर हाल दोस्रो बजारमा सक्रिय कारोबार भएका ५ कम्पनीले नवीकरण शुल्क बुझाउन असमर्थ रहेकाले नवीकरण शुल्क भुक्तान नगरेसम्मका लागि उक्त ५ कम्पनीको सेयर कारोबार रोक्का  भएको नेप्सेले जनाएको छ ।

नेप्सेले गत असोज १३ गते सम्पूर्ण सूचीकृत कम्पनीहरुलाई वार्षिक नवीकरण शुल्क बुझाउन आग्रह गरेको थियो ।

नेप्सेमा सूचीकृत कम्पनीहरुले धितोपत्र सूचीकरण विनयमावली,२०७५ को अनुसूची ३(क) र (ख) मा भएको व्यवस्था बमोजिम आ.व.२०७७/७८को वार्षिक नवीकरण शुल्क बुझाउने समय असोजमसान्त तोकिएको थियो । निर्धारित समयमा नवीकरण शुल्क नबुझाएमा नवीकरण शुल्कको वार्षिक १० प्रतिशतका दरले जरिवाना बुझाउनु पर्ने व्यवस्था छ ।