काठमाण्डौ । धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले दोश्रो बजारमा ऐतिहासिक रेकर्डहरु काम भएका उल्लेख गर्दै यस पछाडिका कारणहरु प्रस्तुत गरेका छन् । 

बोर्डको २९ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले बजार निरन्तर बढिरहनु पछाडिका कारण र आधार प्रस्तुत गरेका हुन् । 

उनले पूर्ण अनलाइन कारोबार प्रणालीका कारण लगानीमा सहजता भएको र कारोबार लागत पनि घटाइएका कारण दोश्रो बजारप्रति आकर्षण बढेको दाबी गरे । 

कोरोना महामारीका कारण अन्य लगानीका क्षेत्र संकुचन भएको अवस्थाले पनि सेयर बजारलाई बढाउन मद्धत पुगेको उनको दाबी छ।

यस्तै, बैंकिंग क्षेत्रमा पर्याप्त तरलता रहेकोले पनि दोश्रो बजारको गतिविधिमा ऐतिहासिक वृद्धि भएको उनको अनुमान छ । 

अझ उनले बजेटमार्फत पूँजीगत लाभकरमा भएको बढोत्तरीले समेत लगानीकर्ताको आत्माविश्वासमा अत्यन्त वृद्धि भएको दाबी समेत गरे । पूँजीगत लाभकर सम्बन्धी व्यवस्थामा प्रष्टता आएको उल्लेख गर्दै उनले यसपछि दोश्रो बजारमा उत्साह थपिएको समेत ठोकुवा गरे । 

उनका अनुसार डिम्याट खाता खोल्ने र मेरो सेयरको यूजर नेम लिनेहरुको संख्यामा समेत गत वर्षको तुलनामा अधिक बढोत्तरी भएको सो क्रममा बताए । २०७७ असारसम्म ७ लाखमा सीमित मेरो सेयरका प्रयोगकर्ता २६ लाख पुगेका उल्लेख गरेका उनले प्राथमिक सेयरको खरीदमा गत वर्षसम्म ५ लाख हाराहारीका लगानीकर्ताको सहभागिता हुने गरेकोमा त्यो बढेर १८ लाखले निवेदन दिनसक्ने अवस्था बनेको समेत बताए । 

यस्तै, २०७७ असारसम्म ३५ हजार लगानीकर्ताले अनलाइन कारोबार प्रणालीको यूजर नेम र पासवर्ड लिएकामा त्यो १७ गुणाले बढेर ६ लाख ६० हजार बढीले अनलाइनको सुविधा लिएका बताए । उनले लगानीकर्ता पछिल्लो समय प्रविधिमैत्री बन्दै गएका समेत बताए । 

दोश्रो बजारको अवस्था पनि उत्साहजनक बनेको उल्लेख गर्दै २०७७ असारसम्म १३६२ मा रहेको नेप्से परिसूचक बढेर २९०० हाराहारीमा पुगेको उनले जानकारी दिए । दैनिक कारोबार रकम पनि १७ अर्ब बढी हुन थालेकोमा उनले खुशी प्रकट गरे । 

अघिल्लो वर्षको असारसम्म कुल ग्राहस्थ उत्पादनको अनुपातमा बजारको आकार ४५ प्रतिशतमा सीमित भएको र अहिले भने जीडीपीको आकार बराबर नै बजारको आकार पुगेको र यसले बजारको विस्तार भएको तथा तरलता बढेको संकेत गर्ने उनको भनाई छ । 

उनका अनुसार पूँजीबजारलाई सरकारले पाउने राजश्व समेत बढेको र सरकारले यसलाई प्राथमिकतामा राखेको छ । अघिल्लो वर्ष दिनभर १ अर्ब लाभकरबापत सरकारले पाउँदै आएकोमा अहिले एक महिनामै १ अर्ब लाभकर सरकारको खातामा जम्मा भइरहेको समेत बताए ।