– अर्जुन तिमिल्सिना

काठमाण्डौ । गत वर्ष असार दोस्रो साता अर्थात लकडाउनपछिको अवस्थाबाट प्राविधिक रुपले हेर्दा नेपालको सेयर बजार छोटो समयमै निकै बढेको देखिन्छ। सेयर बजारको २८ वर्षे इतिहासलाई केलाउँदा यति छोटो समयमै यत्रो फड्को मरेको यो नै पहिलोपटक भएको बजारका पुराना जानकार बताउँछन्। भलै यो नै अन्तिम भने पक्कै होइन। बजार बढ्न बाँकी नै रहेको र करेक्सन हुँदै माथि जानेमा लगानीकर्ताहरु विश्वस्त छन्। प्राविधिक पक्षले पनि भन्ने र देखाउने त्यही नै हो। 

हामीले आज विभिन्न औजारमार्फत बजारको विश्लेषण गर्ने कोसिस गरेका छौँ। यो औजारमा आधारित अनुमानमात्रै हो। हामीले सेयर बजारमा यही नै हुन्छ भन्न खोजेका भने होइनौँ। 

मैनबत्ती विश्लेषणका आधारमा 

अघिल्लो साताको सप्ताहिक रुपमा बनाएको मैनबत्तीले पनि इन्भर्टेड ह्याम्मर बनाएको थियो। यसले घट्दो बजारलाई संकेत गर्छ (हेर्नुहोस् कालो एरो)। यही कारण यो साता बजारमा करेक्सन आइरहेको हो। जुन हामीले अघिल्लो साताको विश्लेषणमा पनि हाम्रा पाठकलाई अवगत गराएका थियौँ। 

मैनबत्ती विश्लेषणअन्तर्गत यदि घट्दो बजारमा ह्याम्मर प्याट्रन बन्छ भने बजारले बाटो परिवर्तन गर्ने वा बढ्ने संकेत बुझनुपर्ने हुन्छ (हेनुर्स हरियो एरो)। हालसम्मको कारोबारले यस्तो कुनै संकेत नमिलेकोले आगामी कारोबारबाट मात्रै मैनबत्ती विश्लेषणका आधारमा बजारको बाटो बताउन सकिन्छ। 

मैनबत्तीअन्तर्गत नै भन्नुपर्दा आजको कारोबारले कालो लामो मारुबुजु बनेको छ। यसले घट्दो बजारलाई संकेत गर्छ।

इलिअट वेभका आधारमा 

यो सिद्धान्तमा ५ वेभ र ९ डिग्री हुन्छन्। त्यस्ता डिग्रीले सानाठूला गरेर १ दिनदेखि १०० वर्षसम्मको समय अवधिलाई प्रतिनिधित्व गर्छन्। इलिअट वेभमा बजार माथि जान ५ फरक–फरक वेभ हुन्छन् भने तल जान ३ वेभ हुन्छन्। माथि लाग्ने ५ वेभमा पनि ३ वटा चढावका र २ वटा सुधारका देख्न सकिन्छ। यसमा १, ३, ५ चढावका हुन्छन् भने २ र ४ मा करेक्सनका हुन्छन्। वेभ ५ को करेक्सन वेभ ए हो। वेभ ए, बी र सीले बजार तल जाने संकेत गर्छन्। इलिअट  वेभका आधारमा  अहिले बजार इन्टरमिडिएट डिग्रीअन्तर्गत वेभ (३) सकिएर वेभ (४) मा चलेको अनुमान लगाउन सकिन्छ। अब यो कतिसम्म तल जाला भन्ने विषय फिवोनासीका आधारमा मात्रै बताउन सकिन्छ। जसअन्तर्गत विश्लेषण गर्नुपर्दा हाल बजार लगभग ०.३८ को टेवा २८३४ मा बन्द भएको छ। अझै बजार घटेमा ०.५० प्रतिशतको टेवा २७७७.७३ मा र ०.६१ को टेवा २७०९ लिन सक्ने देखिन्छ। (मुख्य तस्बिरमा हेर्नुहोस्)

फिवोनासी सिद्धान्तका आधारमा 

फिवोनासी एक्सटेन्सन एउटा यस्तो टुल हो, जसले एकपल्ट बढेपछि बजार घट्दा कतिसम्म तल आउन सक्छ र कति–कतिमा टेवा लिन्छ भन्ने विषय अनुपातका आधारमा संकेत गरेको हुन्छ। बढ्दा पनि कति–कति प्रतिशतमा प्रतिरोध गरेको हुन्छ भन्ने यी अनुपातबाट अनुमान लगाउन सकिन्छ। यस्ता अनुपातलाई फिवोनासी गोल्डेन अनुपातहरु पनि भनिन्छ। ती अनुपात २३.६, ३८.२, ५०, ६१.८ र १०० प्रतिशत हुन्। यो सिद्धान्तअनुसार यदि बजार घटेमा ०.२३ प्रतिशतको टेवा २९१८ र ०.३८ प्रतिशतको टेवा २८३८ जुन आज लिएको छ। अझै घटेमा ०.५ प्रतिशतको टेवा २७७७ र ०.६१ प्रतिशतको टेवा २७०९ सम्म बजार आउन सक्ने देखिन्छ। जुन तस्बिरमा हेर्न सकिन्छ।

एमएसीडी लाइनका आधारमा

एमएसीडी लाइन भनेको सेयर अर्थात बजार परिसूचकको अन्तिम मूल्यको २६ दिन र १२ दिनको एक्सपोनियल मुभिङ एभरेज हो। यसमा एमएसीडी लाइन र सिग्नल लाइन गरी दुई लाइन हुन्छन्। यदि एमएसीडी लाइनले सिग्नल लाइनलाई तलबाट काट्छ भने बुलिस क्रस ओभर र माथिबाट काट्छ भने बियरिस क्रस ओभर हुन्छ। यो लाइनअन्तर्गत बजार बियरिस क्रसओभर भइसकेको छ (हेर्नुहोस् कालो एरो) र हिस्टोग्राम नेगेटिभ भएका छन् (हेर्नुहोस् रातो एरो)। यसले केही समय बजार बियरिस चक्रमा चल्नुसक्ने अनुमान गर्न सकिन्छ। 

बोलिंगर ब्यान्डका आधारमा

यसमा ३ वटा ट्रेन्ड लाइन हुन्छन्। पहिलो (बीचको) सामान्य चलायमान औसत रेखा, दोस्रो अप्पर ब्यान्ड र तेस्रो लोअर ब्यान्ड। यो ब्यान्डको सामान्य नियम भनेको मूल्य माथिल्लो र तल्लो ब्यान्डमा सीमित हुन्छ भन्ने हो। अर्थात् अझ सरल भाषामा भन्नुपर्दा जब मूल्यरेखाले माथिल्लो रेखालाई छुन्छ तब बजारमा करेक्सन हुन्छ र जब तल्लो रेखालाई छुन्छ तब बजार स्वाभाविक रुपमा फेरि माथितिर जान थाल्छ भन्ने हो। 

बजारलाई बोलिंगर ब्यान्डअन्तर्गत हेर्दा मूल्यरेखाले अप्पर ब्यान्डलाई छोएर आज सोमबारको  कारोबारमा मध्य रेखाभन्दा पनि तल आएको छ। यसले तल्लो ब्यान्डलाई छुने कोसिस गरेको देखिन्छ। (हेर्नुहोस् सुरुबाट तेस्रो हरियो एरो) 

आरएसआईका आधारमा 

आरएसआई विन्दुअन्तर्गत १४ दिनको मूल्यलाई आधार मानेर भविष्यमा हुने मूल्य परिर्वतनको भविष्यवाणी गरिन्छ। यसमा ५० को जोनलाई सेन्ट्रल जोन, ३० भन्दा तल ओभर सोल्ड जोन र ७० भन्दा माथिलाई ओभर बट जोन भनेर छुट्याइन्छ। यसअन्तर्गत हालको बजारको आरएसआई ४६.२१ रहेको छ। जसको अर्थ हुन्छ, न्युट्रल जोनमा छ। यदि यो विन्दु ३० भन्दा तल आएको अवस्थामा सेयर खरिद गरेमा सुरक्षित मानिन्छ। 

नोट : सेयर बजारमा प्राविधिक विश्लेषण विभिन्न औजारमा आधारित अनुमान हो। लगानीकर्ताले लगानी गर्दा आफ्नो जोखिम लिन सक्ने क्षमता र कम्पनीको वित्तीय अवस्था हेरेर लगानी गर्नुपर्छ। यो कुनै कारोबारको सिफारिस भने होइन। कारोबार गर्दा आफ्नो स्वविवेक प्रयोग गरिनुपर्छ।