काठमाण्डौ । विद्युतीय सवारीसाधन उत्पादनमा विश्वकै अग्रणी कम्पनी बीवाईडी अटो इन्डस्ट्रिजको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले गाडीको मूल्य बढाएको छ। 

कम्पनीले विगत दुई महिनाअघिदेखि नै गाडीको मूल्य समायोजन गर्नुपर्ने अवस्था आएको थियो। तर, बजारमा देखिएको समस्याका कारण मूल्य स्थिर राख्न प्रयास गरेको थियो।

विशेषत नेपालमा डलरको मूल्यसँग चीन लगायत तेस्रो देशबाट आउने गाडीको मूल्या प्रभावित हुने गर्छ। सुरुमा गाडीको मूल्य कायम गर्दा रहेको डलर मूल्य र अहिलेको अवस्थामा करिब ७ प्रतिशतको अन्तर (डलरको मूल्य महँगो) भएका कारण गाडीको मूल्य बढाउन परेको कम्पनीको भनाइ छ।

त्यसैले अहिलेको अफठ्यारो परिस्थितिलाई ध्यानमा राख्दै डलरका कारण उत्पन्न मूल्य वृद्धि धेरै हुने भए पनि बीवाईडी ई सिक्समा १ लाख ५० हजार रुपैयाँले मूल्य समायोजन गरी नयाँ मूल्य ५९ लाख रुपैया कायम गरिएको कम्पनीले जनाएको छ। ‘यसका साथै एमबी मल्टीपर्पोज भ्यानमा १ लाख २ हजार रुपैयाँले मूल्य समायोजन गरी ४५ लाख ५२ हजार रुपैयाँ बनाएका छौँ’, कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। 

मूल्य वृद्धिको विषयमा ग्राहकलाई पर्न गएको असरको विषयमा साइमेक्स इक्का सीईओ साहिल श्रेष्ठले भने, ‘हामीले सन् २०२१ मा नेपालमा बीवाईडी ई सिक्स सार्वजनिक गर्दा जुन मूल्य तोकेका थियो, निरन्तर त्यसमै बिक्री गरिरहेका थियौँ। तर, पछिल्लो १५ १६ महिनामा डलरको एक्सचेन्ज रेटमा व्यापक वृद्धि भएका कारण हामीले मूल्य बढाउनु परेको हो।’

सीईओ श्रेष्ठका अनुसार यसअघि नै बुकिङ गरेर बसेका ग्राहकले भने पुरानै मूल्यमा गाडी पाउनेछन्।