काठमाण्डौ । अमेरिकी डलरको भाउ बढेपछि सुनको भाउमा गिरावट आउने प्रवृति भन्दा ठीक उल्टो गतिमा अहिले सुनको भाउ बढिरहेको छ । अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको उदयसँगै अमेरिकी डलर बलियो हुँदा सुनको भाउमा निरन्तर पहिरो गइरहेको थियो । नेपाली बजारमा समेत डलरको भाउ बढेपछि पुस ७ गतेसम्म सुन प्रति तोला ५१ हजार ८ सयमा कारोबार भएको थियो । त्यसपछि विगतको प्रवृति भन्दा ठीक उल्टो अमेरिकी डलरको भाउ राम्रै भइरहे पनि सुनको भाउ चाहि उकालो लाग्ने क्रम रोकिएको छैन । 

सुनको भाउ उकालो लागी पुस २९ गतेसम्म ५४ हजार ६ सयको उचाईमा पुुगेको थियो । माघ २ गते(आज) सुन प्रति तोलामा १ सय रुपैयाँ थप महंगिएको छ । सुनसँगै चाँदीको भाउ पनि बढिरहेको छ । पुस ७ गतेसम्म प्रतितोला ७ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी पुस मसान्तमा प्रति तोला ७ सय ९० रुपैयाँको उचाईमा पुुगेको थियो । माघ २ गते यो भाउ अझ बढेर ७ सय ९५ रुपैयाँ पुुगेको छ । 

विगतको प्रवृति भन्दा ठीक उल्टो डलरको भाउ मजबुत बनिरहँदा समेत सुन र चाँदीको भाउ नेपालमा किन बढिरहेको होला ? विज्ञहरुका अनुसार नेपालमा राष्ट्रबैंकको गलत नीति, भारतको नोटबन्दी लगायतका कारणले सुन र चाँदीको भाउ निरन्तर उकालो लागिरहेको छ । यो क्रम अझै जारी रहने र सुनको भाउ ५९ हजारकै पुरानो उचाईमा केही साताभित्रै उक्लिनसक्ने प्रक्षेपण समेत गर्न थालिएको छ ।

सुनको माग नेपाली बजारमा खासै नहुँदाको समयमा राष्ट्रबैंकले वाणिज्य बैंकहरुलाई दैनिक १५ केजी सुन आयात गर्न सकिने कोटा दिएको थियो । अहिले माग उच्च रहँदा र सुन पसलको संख्या मात्र २३ हजार बढी हुँदा समेत दैनिक आयातको यो परिमाणमा कुनै वृद्धि हुन सकेको छैन । माग भन्दा कम परिमाणमा आपूर्ति भएपछि सुनमा कालोबजारी सुरु भएको छ । भनेको बेलामा भनेजति सुन किन्न नपाइने भएपछि बजारमा कृत्रिम मूल्य बढाइएको छ, यसले उपभोक्ता मारमा परेका छन् । मागको तुलनामा निकै कम आय हुँदा त्यहाँ मूल्य बढ्ने अर्थशास्त्रको नियम नै हो । अहिले सुनमा समेत यही भएको विज्ञ बताउँछन् । अझ माघ महिना लगनको महिना भएको र यो समयमा गरगहना बनाउन सुनको उच्च हुने भएकोले यस्तो समयमै न्यून आपूर्ति भएपछि मूल्य बढ्नुुलाई विश्लेषकहरु स्वभाविक मान्छन् । अहिले बजारको मागलाई तस्करीको सुनले धानिरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष मणिरत्न शाक्य पछिल्लो समय नेपाल राष्ट्रबैंकले व्यवसायीहरुले समस्या दर्शाउँदा दर्शाउँदै पनि सुन तस्करीलाई प्रोत्साहान गरेको र बजारमा सुनको चरम अभाव सिर्जना गरिदिएको दाबी गर्छन । १८ दिनअघि व्यवसायीहरुको एक टोली नेपाल राष्ट्रबैंकमा गएर गभर्नर र विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक भीष्मराज ढुंगानालाई भेटेको थियो । सो क्रममा टोलीले सुन बजार तस्करको हातमा गएकोमा चिन्ता व्यक्त गर्दै दैनिक १५ किलोग्राम सुनको कोटालाई बढाइदिन माग गरेका थिए । देशभर २३ हजार दर्तावाल सुन पसलहरु रहेका र उनीहरुका लागि दैनिक १५ किलो सुन हात्तीको मुखमा जिरा जस्तै भएको भन्दै आफूहरुले कम्तीमा दैनिक ३५ किलोग्राम सुनको कोटा बनाउनुपर्ने माग गरेको शाक्यले बताए । ‘छलफलको क्रममा गभर्नर साब र कार्यकारी निर्देशक जी समेत दैनिक १५ किलोको कोटालाई बढाएर २० किलोग्राम बनाउन सहमत हुनुहुन्थ्यो ।’ उनले थपे–‘तर लामो समयसम्म अनेक कुरा गरेर हामीलाई झुलाउने काम भयो ।’

पुस २६ गते नेपाल राष्ट्रबैंकको विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक भीष्मराज ढुुंगानाले वाणिज्य बैंकहरुलाई परिपत्र गर्दै आयात गर्न सकिने सुनको दैनिक परिमाण हाललाई १५ किलोग्राम नै कायम गरिएको प्रष्ट पारेका छन् । १५ किलोकै पुरानो अडानले बजारमा सुनको चरम अभाव भएको छ र यसले भाउ उकालो लैजान मद्धत गरिरहेको छ । 

भारतीय नोटबन्दी
भारतले ५ सय र १ हजारका पुराना नोटमाथि प्रतिबन्ध लगाएपछि र नेपाललाई आवश्यक पर्ने भारु प्रशस्त नदिएपछि यसले वस्तु विनिमयमा समस्या पारिदिएको छ । नेपालका ठूला व्यापारीहरु सुन लिएर भारत जाने र त्यहाँ सामान खरीद गर्दा भारुको साटो सुन प्रयोग गर्ने प्रवृति बढिरहेको छ । यसले नेपाली बजारमा सुनको मागलाई बढाइदिएको  र माग बढेपछि त्यसको तुलनामा कम आपूर्ति हुँदा मूल्य जबरजस्त बढिरहेको पूर्व अध्यक्ष शाक्य बताउँछन् । त्यस बाहेक भारतका कतिपय धनाढ्यहरुले भारु राख्नको साटो सुन नै सञ्चित गर्ने र उनीहरुले प्रतिनिधिमार्फत नेपाली बजारबाट पनि सुन उठाउन थालेपछि यसले बजारमा चरम अभाव भई उच्च मागसँगको असन्तुलनका कारण मूल्य वृद्धि भइरहेको छ । 

सुन दिने बैंकहरुलाई केही नयाँ निर्देशन


यसैबीच, नेपाल राष्ट्रबैंकले सुनको बिक्री गर्ने बैंकहरुलाई केही निर्देशन दिंदै त्यसलाई कडाईपूर्वक पालना गर्न आग्रह गरेको छ । गरगहनाका लागि यसअघि ९९.५ प्रतिशत शुद्ध सुनको ठाउँमा अब ९९.९९ प्रतिशत शुद्ध सुन बैंकहरुलाई सुनचाँदी व्यवसायीहरुलाई उपलब्ध गराउनुपर्नेछ । यस्तै, यसअघि बैंकहरुले १ किलोग्राम भन्दा कम सुन बिक्री गर्न नपाउने नियममा समेत संसोधन गरिएको छ । अब बैंकहरुले १ सय, २ सय र ५ सय ग्राम सुन पनि व्यवसायीको आवश्यकता अनुसार उपलब्ध गराउनुपर्नेछ । यो नयाँ व्यवस्थाले १ किलो सुन खरीद गर्न नसक्ने र ठूला व्यवसायीको दयामा व्यवसाय गर्नुपर्ने बाध्यतामा रहेका साना सुनचाँदी व्यवसायीलाई राहात भएको छ । यो व्यवस्था मौद्रिक नीतिमार्फत नै गरिएको भए पनि बैंकहरुले अटेर गर्दै आएका थिए। 

यसैबीच, बैंकबाट सुन उठाउँदा पहुँचवाला व्यवसायीको एकाधिकार समेत अब तोडिएको छ । नेपाल राष्ट्रबैंकले एक व्यवसायीले एक संघ वा महासंघबाट मात्र सुनको सिफारिस लिन पाउने नियम लगाएको छ । अब सुनचाँदीसँग सम्बन्धित विभिन्न संघहरुको सिफारिस लिएर एउटै व्यक्तिले धेरै सुन उठाउने अवस्था नआउने दाबी गरिएको छ । ‘एउटै ठूलो माछाले सबैतिर भ्याउने अवस्था थियो ।’ पूर्व अध्यक्ष शाक्यले भने–‘राष्ट्रबैंकको नयाँ व्यवस्थाले अब सीमित व्यक्तिको सुनमा दादागिरी युुगको अन्त हुनेछ ।’ 

यसैबीच, व्यवसायीहरुले सबै वाणिज्य बैंकको शाखाबाट समेत सुन किन्न पाउने व्यवस्था लागूू हुनुपर्ने माग गरेका छन् । अहिले केही सीमित बैंकहरुले मात्र शाखाबाट सुुन बिक्री गर्छन् । नभए अधिकांशले काठमाण्डौभित्रबाट मात्र बिक्री गर्ने गरेका छन् । शाखाबाट सुन दिनेहरुले समेत व्यवसायीहरुलाई अनावश्यक रुपमा दुख दिने गरेका शाक्यको गुनासो छ । ‘काठमाण्डौ बाहिर लगेर सुन बिक्री गर्दा सुन लिएर गएको हवाइजहाज भाडा, बैंकका कर्मचारी खर्च समेत हामीबाटै बैंकहरुले असूूल्छन् ।’ उनले भने–‘एक किलोमा ३० हजारसम्म असूूल्ने गरिएको छ । यसप्रति पनि राष्ट्रबैंकले हेरिदिनुपर्यो ।’