– रेखा चन्द

काठमाण्डौ । हालसम्म १४ वटा बैंक तथा वित्तीय संस्थाहरुले मात्रै गत वर्षको मुनाफाबाट सेयरधनीका लागि लाभांश घोषणा गरेका छन्। 

लाभांश घोषणा गर्नेमा ११ वटा वाणिज्य बैंक, २ वटा विकास बैंक र एउटा लघुवित्त संस्था छन्। अन्य नेप्से सूचीकृत बैंक तथा वित्तीय संस्थाले लाभांश घोषणा गरेका छैनन्। 

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत असार मसान्तसम्ममा मुुलुकमा कुुुल १२५ बैंक तथा वित्तीय संस्था सञ्चालनमा छन्। जसमा २६ वाणिज्य बैंक, १७ विकास बैंक, १७ फाइनान्स कम्पनी र ६५ वटा लघुवित्त छन्। यीमध्ये केही संस्था नेप्सेमा सूचीकृत हुन बाँकी छन्।

नियामकीय प्रावधानविपरीत काम गर्दा हालसम्म अधिकांश बैंक तथा वित्तीय संस्थाले लाभांश प्रस्ताव गर्न नसकेका हुन्। लाभांश प्रस्ताव गर्दा गत वर्ष वार्षिक वित्तीय विवरण केन्द्रीय बैंकबाट स्वीकृत गराउनुुपर्छ। तर, गत आर्थिक वर्षको वित्तीय विवरणमा अधिकांश बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकको नियमविपरीत ग्राहक (ऋणी)बाट मनपरी प्रिमियम तथा सेवा शुुुल्क असुुुलेको तथ्य भेटिएको थियो। नियामकलाई छल्दै गलत बाटोबाट प्रिमियम तथा सेवाशुुुल्कलाई मुुख्य आम्दानीको स्रोत बनाएर सोझासाझा सर्वसाधारणबाट ठूलो रकम उठाएपछि त्यस्ता बैंक तथा वित्तीय संस्थालाई लाभांश प्रस्तावभन्दा पनि वित्तीय विवरण स्वीकृतमै गाह्रो परिरहेको हो।

केन्द्रीय बैंकले सबै बैंक तथा वित्तीय संस्थालाई यसरी ग्राहकबाट लिइएको रकम फिर्ता गर्न निर्देशन दिइसकेको छ। केहीले रकम सम्बन्धितलाई फिर्ता पनि गरिरहेका छन् भने केहीले फिर्ता गरेर गत वर्षको वित्तीय विवरण स्वीकृतका लागि पठाएका छन्। केहीको भने वित्तीय विवरण अध्ययनकै क्रममा रहेको राष्ट्र बैंकले जनाएको छ। 

यता सेवाशुुल्कमा बदमासी गरेका लघुुवित्तहरुको भने तत्काल लाभांश घोषणा गर्ने छाँटकाँट छैन। किनकि हालसम्म एउटाबाहेक अन्य कुनै पनि लघुुवित्त संस्थाको वित्तीय विवरण स्वीकृत भएको छैन। 

आफ्नो नाफा घट्ने भन्दै लघुवित्त संस्थाहरुनियमविपरीत उठाएको सेवाशुुल्क फिर्ता गर्न आनाकानी गरिरहेको स्रोत बताउँछ। राष्ट्र बैंकले भने त्यस्ता शुुल्क फिर्ता गरेपछि मात्रै वित्तीय विवरण स्वीकृत गर्ने अडान राखेको छ।

आर्थिक वर्ष सकिएको ६ महिना अर्थात पुस मसान्तभित्र गत आर्थिक वर्षको वार्षिक साधारणसभा गर्नुपर्ने प्रावधान छ। सोही प्रावधानबमोजिम आगामी पुुस मसान्तसम्म सबै बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो वार्षिक साधारणसभा गरिसक्नुपर्ने राष्ट्र बैंकले जनाएको छ। तर, मंसिर पहिलो सातासम्म ३ वटा वाणिज्य बैंकको मात्रै साधारणसभा भएको छ। 

यसरी हेर्ने हो भने पुस मसान्तसम्म सबै बैंक तथा वित्तीय संस्थाले वार्षिक साधारणसभा गर्न गाह्रो पर्ने देखिन्छ। ‘बैंक तथा वित्तीय संस्थाहरुको गत वर्षको वित्तीय विवरण स्वीकृतका लागि आइरहेकै छन्’, राष्ट्र बैंकका एक अधिकारीले भने, ‘यी सबै संस्थाहरुले पुुुस मसान्तसम्म साधारणसभा गरिसक्नुुपर्छ।’

गत वर्षको नाफाबाट सिटिजन्स, बैंक अफ काठमाण्डू, एनसीसी, कुमारी, प्रभु, नेपाल इन्भेस्टमेन्ट, मेगा, एभरेस्ट, ग्लोबल आइएमई, सानिमा र स्ट्यान्डर्ड चार्टर्ड बैंकले लाभांश घोषणा गरिसकेका छन्। सिटिजन्स, एनसीसी र कुमारी बैंकको लाभांश साधारणसभाबाट पारितसमेत भइसकेको छ। 

लाभांश घोषणा गरेका अन्य बैंकहरुले साधारणसभाको मिति तोकिसकेका छन्। 

उता विकास बैंकहरुमा गरिमा र लुम्बिनी विकास बैंक तथा लघुवित्तमा जाल्पा सामुदायिक लघुवित्तले लाभांश घोषणा गरिसकेका छन्। यी तीनै संस्थाले वार्षिक साधारणसभाको मिति भने तोक्न बाँकी छ।