– रेखा चन्द

काठमाण्डौ । वाणिज्य बैंक र फाइनान्स कम्पनीबाट सेयर कर्जा प्रवाह घटे पनि विकास बैंकहरुबाट भने बढेको पाइएको छ। 

नेपाल राष्ट्र बैंकको तथ्यांकका अनुसार चालु आर्थिक वर्षको कात्तिकसम्म वाणिज्य बैंक र फाइनान्स कम्पनीबाट प्रवाह हुने सेयर धितो कर्जा घटेको छ। यही महिनासम्म विकास बैंकहरुबाट प्रवाह हुने सेयर धितो कर्जा भने बढेको छ। 

राष्ट्र बैंकले कात्तिकसम्म विकास बैंकहरुले कुल १२ अर्ब २० करोड ४० लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका छन्। यस्तोे कर्जा रकम असोजसम्मको तुलनामा ९ करोड रुपैयाँले बढी हो। 

राष्ट्र बैंकका तथ्यांकमा गत असोजसम्म विकास बैंकहरुले सेयर धितोमा कुल १२ अर्ब ११ करोड ८० लाख रुपैयाँ कजा प्रवाह गरेका थिए। 

डेभलपमेन्ट बैंकर्स एसोसिएसनका अध्यक्ष तथा मुक्तिनाथ विकास बैंकका सीईओ  प्रद्युमन पोखरेल कात्तिकमा विकास बैंकहरुको निक्षेप कम्फर्टेबल जोनमा रहेकाले सेयर धितोमा जाने रकम केही बढेको बताए। ‘अर्को कुरा विकास बैंकहरुमा सेयर धितो राखेर कर्जा लिने प्रक्रिया पनि केही सहज छ’, उनले भने, ‘सेयर बजारको सूूचक पनि मिनिमम लेबलमा छ, लगानी गर्ने उपयुुक्त समय यही हो कि भनेर सेयर धितो राखेर कर्जा लिएर लगानी गरेकोजस्तो पनि देखिन्छ।’

ब्याजदर केही माथिल्लो विन्दुमा रहेकाले व्यवसायको लागत बढ्न जाँदा बिजनेस कर्जाहरुमा जानुुपर्नेजति कर्जा नजाँदा सेयर धितो कर्जा बढेकोे देखिएको सीईओ पोखरेलको भनाइ छ। 

नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल विकास बैंकहरुको तरलतामा केही सहज परिस्थति देखिँदा लगानीकर्ताहरु उतै मोडिँदा विकास बैंकको सेयर कर्जा बढेको हुनुसक्ने बताउँछन्। ‘एक त लगानीकर्ता जहाँ कर्जा पाइन्छ, त्यहाँ नै जाने हो’, उनले भने, ‘अर्को कुरा वाणिज्य बैंकहरुमा तरलताको अलि बढी समस्या देखिन्छ तर विकास बैंकमा अप्ठयारो अवस्था देखिँदैन, त्यहाँ केही न केही सहज अवस्था देखिन्छ, त्यसकारण लगानीकर्ता जहाँ सहज छ त्यहाँ नै गएको अवस्था हो।’

वाणिज्य बैंकहरुले पहिले नै धेरै सेयर कर्जा प्रवाह गरिसकेकाले उनीहरुले त्यसलाई साइजमा ल्याउँदा सेयर कर्जा घट्दो क्रममा रहेको अध्यक्ष ढकालको भनाइ छ। ढकालले विकास बैंकमा ब्याज केही बढी भए पनि लगानीकर्ताका लागि कर्जा पाउनु ठूलो विषय रहेको बताए। ‘वाणिज्य बैंकको तुलनामा विकास बैंकमा सेयर कर्जाको ब्याजदर केही धेरै छ’, उनले भने, ‘तर, यहाँ ब्याजदरभन्दा पनि कर्जा पाउनुु ठूलो कुरा हो।’

राष्ट्र बैंकले गत आर्थिक वर्षको मौद्रिक नीतिमार्फत मार्जिन प्रकृतिको कर्जामा कडाइ गरेसँगै उक्त शीर्षकमा अत्याधिक कर्जा लगानी गरेका वाणिज्य बैंकहरुले पछिल्लोे समय लगानी घटाइरहेका छन्। कात्तिकसम्म वाणिज्य बैंकहरुबाट लगानीकर्ताहरुले ५९ अर्ब ९१ करोड रुपैयाँमात्रै सेयर कर्जा लिएका छन्। 

राष्ट्र बैंकका अनुुसार वाणिज्य बैंकबाट असोजमा ६० अर्ब ३४ करोड रुपैयाँ मार्जिन नेचर कर्जा प्रवाह भएको छ। असोजको तुुलनामा कात्तिकमा ४३ करोड रुपैयाँ सेयर कर्जामा कमी आएको हो।

केन्द्रीय बैंकले जोखिमभार १५० प्रतिशत पुर्याउँदै एक व्यक्ति वा संस्थाले समग्र वित्तीय प्रणालीबाट अधिकतम १२ करोडसम्म सो प्रकृतिको कर्जा पाइने व्यवस्था गरेको थियो।

चालुु आर्थिक वर्षको पहिलो महिना साउनमा वाणिज्य बैंकले ६१ अर्ब ५६ करोड रुपैयाँ सेयर कर्जा दिएकोमा भदौमा घटाएर ६० अर्ब ३१ करोड रुपैयाँ प्रवाह गरेका थिए। 

त्यसैगरी फाइनान्स कम्पनीहरुले कात्तिकसम्ममा ३ अर्ब ८४ करोड ५० लाख रुपैयाँ सेयर कर्जा प्रवाह गरेका छन्। असोजको तुलनामा २६ करोड रुपैयाँले यस्तो कर्जामा कमी आएको हो।