काठमाण्डौ । धितोपत्र बोर्डले लामो समयको ढिलासुस्तीपछि ब्रोकर कमिसन घटाएको छ । 

अनलाइनबाट सेयरको कारोबार सुरु भइसकेको अवस्थामा ब्रोकरहरुको खर्च घटेसँगै लामो समयदेखि कमिसनमा पुनरावलोकन गर्ने आवाज उठ्दै आएको थियो । 

धितोपत्र बोर्डले ब्रोकर कमिसन घटाउने विषयमा पटक पटक समयसीमा तोक्दै आए पनि निर्णयमा पुग्न सकेको थिएन । बोर्डले आन्तरिक रुपमा गठन गरेको अध्ययन कमिटीले प्रतिवेदन बुझाएको समेत लामो समय हुँदा पनि कमिसन घटाउने निर्णय भएको थिएन । 

यसरी लामो समयको ढिलासुस्तीपछि अर्थमन्त्री विष्णु पौडेलको कडा निर्देशनमा ब्रोकर कमिसन घटाउन बोर्ड बाध्य भएको हो । 

धितोपत्र बोर्डका अनुसार कारोबार रकमका आधारमा ब्रोकर कमिसन घटाइएको छ । 

जसअनुसार अब रु. ५० हजारसम्मको सेयर कारोबारका लागि ब्रोकर कमिसन ०.४० प्रतिशत तोकिएको छ । 

रु. ५० हजारदेखि माथि रु. ५ लाखसम्मको कारोबारमा ०.३७ प्रतिशत, रु. ५ लाखदेखि रु. २० लाखसम्मको कारोबारमा ०.३४ प्रतिशत, रु. २० लाखदेखि माथि १ करोड रुपैयाँसम्मको कारोबार गर्दा ०.३० प्रतिशत र रु. १ करोडभन्दा माथि जतिसुकै रकमको कारोबारका लागि ०.२७ प्रतिशत ब्रोकर कमिसन तोकिएको छ । 

समायोजित ब्रोकर कमिसन पुस १२ गतेदेखि लागू हुने बोर्डले जनाएको छ ।