एजेन्सी । अन्तर्राष्ट्रिय उड्डयन क्षेत्रमा भइरहने बिमानहरुको दुर्घटनाको लिस्टमा शनिवार फ्लाई दुबईंको नाम समेत दर्ज भयो । फ्लाई दुबईको बोइङ ७३७–८०० विमान रसियाको उत्तरी भागमा रहेको सहर रोस्तोभ–अन–डन मा दुर्घटना हुँदा चालक दलका सदस्य तथा विमान कर्मचारी गरी ६ जनासहित ६१ जनाले ज्यान गुमाएका छन् । सन् २००९ मा शुरु गरिएको फ्लाइ दुबईले विश्वका ९० स्थानमा उडान भर्ने गरे पनि हालसम्म कुनै पनि बिमान दुर्घटनामा परेको थिएन । 
दुबईबाट आएको सो विमान अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त बनेको हो । विमान रनवेको साट्टो बाहिर ल्याण्ड हुन पुगेको थियो । भिजिबिलिटीको समस्या र तीव्र गतिका कारण बिमान दुर्घटना भएको प्रारम्भिक अनुसन्धानले देखाएको अधिकारीहरुले बताएका छन् । बिमान खसेलगत्तै प्लेनमा आगो लागेको ठूलो आवाजसहित विस्फोट भएको समेत अन्तराष्टिय संचारमाध्यहरुले जनाएका छन् । 

 

अधिकारीहरुका अनुसार विमान चालक दलका सदस्यहरुले अवतरण गर्न खोजे पनि पहिलो प्रयास सफल भएको थिएन । त्यसपछि समस्याग्रस्त भई २ घण्टासम्म आकाशमै भौतारिएको बिमान दोश्रो पटक ल्याण्ड गराउन खोज्दा खसेको र दुर्घटना भएको बताइएको छ । 
 

एफजे ९८१ कल साइन भएको विमानमा अधिकांश रसियाली नागरिक रहेका रोयटर्सले जनाएको छ । करिब एकहजार संख्यामा उद्धारकर्ताहरु दुर्घटनास्थलमा परिचालन भएका र यो समाचार तयार पार्दासम्म विमानमा लागेको आगो निभाइसकिएको छ । यसैबीच, विमान दुर्घटना भएको सिसीटिभी फुटेज भाइरल बनेको छ । फूटेजमा तीव्र गतिमा झरिरहेको बिमान र त्यसपछि ठूलो विस्फोटनको आवाजसहित धूवाँको मुश्लो देखिएको छ ।