काठमाण्डौ । लक्ष्मी बैंकको बिहीबार सम्पन्न वार्षिक साधारणसभाले १० प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव पारित गरेको छ । 

बैंकका संचालक समितिका अध्यक्ष शम्भुुप्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न १७ औं वार्षिक साधारणसभाले हाल चुक्तापूँजीको १० प्रतिशतको दरले बोनस सेयर वितरणको प्रस्ताव पारित गरेको हो । 

बोनस सेयर  पारित भएसँगै लक्ष्मी बैंकको चुक्तापूँजी ८ अर्ब २२ करोडको उचाईमा पुुगेको छ । अब यो बैंकले पूँजी पुर्याउनैका लागि अन्य संस्थासँग मर्जर वा एक्वीजिसनमा जानुुपर्ने बाध्यता हटेको छ । यो बैंक र एभरेष्ट बैंकबीच मर्जर हुने हल्लाले केही समयसम्म पूँजीबजार ताते पनि हाल यो सामसुम भएको छ । एभरेष्ट बैंकसँगको मर्जरका हल्ला कम भएसँगै लक्ष्मी बैंकले आफैं पूँजी पुर्याउने बाटो रोजेको हो । 

साधारण सभाले बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद लाभांश स्वीकृत गर्नुका साथै संचालक समितिको प्रतिवेदन तथा आर्थिक वर्ष २०७३/०७४ को बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ । 

आ.व. २०७३/७४ मा रु ५९.३२ अरब निक्षेप र रु ५२.७३ अर्ब कर्जा पुर्याएको यस बैंकको वासलातको आकार रु ७० अरब रहेको छ । सोही आ.व.मा बैंकले १ अर्बको हाराहारीमा खुद मुनाफा आर्जन गर्न सफल भएको छ । 

लक्ष्मी बैंकको इन्भेष्टमेण्ट बैंकिङ्ग सेवा प्रदान गर्ने सहायक कम्पनी ‘लक्ष्मी क्यापिटल मार्केट लि.’ सन् २००९ देखि संचालनमा रहेको छ । यसैगरी देस्रो सहायक कम्पनी ‘लक्ष्मी लघुवित्त वित्तीय संस्था लि.’ले सन् २०१२ बाट कारोबार शुरु गरी लघुवित्त सेवा प्रवाह गरिरहेको छ । 

लक्ष्मी बैंकले लक्ष्मी इक्विटि फण्ड नामक दोश्रो म्यूचुअल फण्ड समेत सफलतापूर्वक जारी गरिसकेको छ ।