काठमाण्डौ । अब ब्रोकर कमिसन तीनै निकायको अलग अलग हुने गरी घट्ने भएको छ ।

नेपाल धितोपत्र बोर्डद्वारा गठित कमिटीले ब्रोकर कमिसन घटाउँदा नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज र ब्रोकर(धितोपत्र दलाल व्यवसायी) गरी ३ वटै पक्षको जीत हुने गरी सबै निकायको कमिसनबाट केही प्रतिशत घटाउने तयारी भइरहेको बोर्डस्थित स्रोतको भनाइ छ । 

अर्थात सेबो कमिसन र ब्रोकर कमिसनका नाममा लगानीकर्ताहरुबाट कमिसन असूल गर्ने अभ्यास भइरहेकोमा अब ३ वटै पक्षको बेग्लाबेग्लै कमिसन बाँडफाँड हुनेछ । बोर्डले कमिसन कटौती गर्दा ३ वटै निकायको घटाउने तयारी गरेको स्रोतको दाबी छ ।

हाल ब्रोकर कमिसनमा नेपाल धितोपत्र बोर्डले भने ३ तर्फबाट निकै मोटो रकम असूल गरिरहेको छ । 

लगानीकर्ताहरुबाट सेबो कमिसनबापत ०.०१५ प्रतिशत लिइरहेको छ । नेपाल स्टक एक्सचेञ्जबाट कुल कारोबारको १ प्रतिशत असुल गर्दैै आएको बोर्डले स्टक ब्रोकरबाट पनि ०.६ प्रतिशत कमिसन असुल गरिरहेको छ । यसरी धितोपत्र बोर्ड सरकारद्वारा गठित नियमनकारी निकाय भए पनि लगानीकर्ता, ब्रोकर र नेपाल स्टक एक्सचेञ्ज गरी तीनै सरोकारवालाबाट कमिसनबापत मोटो रकम असुल गर्र्दै आइरहेको छ । 

बजारका ३ पक्षबाटै मोटो रकम लिइरहेको धितोपत्र बोर्डले अन्य १३ स्थानबाट पनि आम्दानी गरिरहेको बताइन्छ ।

ब्रोकर कमिसन घटाउन भने धितोपत्र दलाल व्यवसायी(स्टक ब्रोकर)लाई चौतर्फी दवाब परिरहेको छ, तर ब्रोकरले कमिसनबापत उठाएको रकम नेपाल स्टक एक्सेचञ्जलाई २० प्रतिशत र नेपाल धितोपत्र बोर्डलाई पनि ०.६ प्रतिशत तिर्नुपर्छ ।