काठमाण्डौ । नयाँ दिल्लीबाट काठमाण्डौ आइपुग्न लागेको नेपाल वायु सेवा निगमको बिमान सोमबार अपरान्ह ठूलो दुर्घटना हुनबाट जोगिएको छ । 

काठमाण्डौ आइपुग्न लागेपछि १२ हजार ५ सय मिट माथि रहेको बिमानमा एक्कासी धूँवा देखिएको थियो । चालक दलका सदस्यहरुले लगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरेर आफूसहित १ सय ६३ यात्रुको ज्यान जोगाएका हुन् । 

आर ए २०६, ९ एन एकेएस लुम्विनी कलसाइन भएको एयरबसको ककपिटमा समस्या आई नेपालभित्रको सिमानामा प्रवेश गरिसकेपछि जहाजभित्र धुवाँ देखिएको चालक दलका एक सदस्यले बताएका छन् ।

सो जहाजमा चालकदलका सदस्यसहित १ सय ६३ यात्रु रहेका थिए । 

विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार १२ हजार ५ सय फिटको उचाईमा जहाजमा धूँवा देखिएपछि चालक दलले आकस्मिक अवतरणको अनुमति मागेको थियो । ३ः२५ मा अनुमति मागेलगत्तै ३ः२९ मै आकस्मिक अवतरणको निर्णय लिई ठूलो दुर्घटना हुनबाट बचाउने काम भएको ठाकुरले दाबी गरेका छन् । 

उनका अनुसार नेपाल एयरलाइन्सको धूवाँ देखिएको जहाजको सुरक्षित अवतरणका लागि फ्लाई दुबईलाई लखनउ डाइभर्ट गरी अन्य सबै उडान रोकिएको थियो । 

ठाकुरका अनुसार विमानस्थललाई केहीबेर पूर्ण रुपमा बन्द गरी बिमान अवतरणको क्रममा समेत दुर्घटनामा पर्नसक्ने संभावनालाई मध्यनजर गरी धावनमार्गमा एम्बूलेन्स, वारुणयन्त्र, हवाई सुरक्षा लगायत सबै आवश्यक तयारी गरिएको थियो । ‘जहाजलाई सुरक्षित अवतरण गराउन हामी सफल भयौं ।’ ठाकुरले बिजशालासँग भने–‘सबैतिर भनेजस्तै काम भएका कारण जहाज ३ः५० मै अवतरण भएको थियो । ३ः५६ सम्म एयरपोर्ट पूरै बन्द थियो । अब भने विमानस्थल सुचारु भइसकेको छ ।’ 

हाल विमानलाई पार्किङमा राखिएको र प्राविधिकको टोलीले अनुसन्धान गरिरहेको ठाकुरले जानकारी दिएका छन् । के भएर बिमानमा एक्कासी धूँवा देखियो भन्ने बिषय अझै स्पष्ट भइसकेको छैन ।