रोब कर्प
-Role,सन्डे विथ लरा कुन्सबर्ग

यसै दशकमा मानिस चन्द्रमामा लामो समयसम्म बस्नसक्ने नासाका एक अधिकारीले बीबीसीलाई बताएका छन्।

नासाका लागि ओरायन चन्द्र अन्तरिक्ष यान कार्यक्रमको नेतृत्व गर्ने हावर्ड हुले वैज्ञानिक कार्यका लागि सहयोग गर्न चन्द्रमामा बस्नुपर्ने आवश्यकता हुनसक्ने बताए।

उनले सन्डे विथ लरा कुन्सबर्ग कार्यक्रममा ओरायनलाई बोक्ने आर्टिमिस रकेटको बुधवार गरिएको प्रक्षेपण "मानव अन्तरिक्ष उडानका लागि ऐतिहासिक दिन थियो" भने।

ओरायन हाल चन्द्रमाबाट लगभग एक लाख ३४ हजार किलोमिटरमा रहेको छ।

एक सय मिटर अग्लो आर्टिमिस रकेट नासाको अन्तरिक्ष यात्रीहरूलाई पृथ्वीको उपग्रहमा फेरि पठाउने अभियानको एक हिस्साका रूपमा केनेडी स्पेस सेन्टरबाट प्रक्षेपण भएको हो।

रकेटको सबैभन्दा माथि ओरायन अन्तरिक्ष यान छ।

सुरुमा मानवरहित यात्रा
पहिलो यात्राका क्रममा उक्त यान अहिले मानवरहित छ तर त्यसमा मानव शरीरमा उडानले पार्ने प्रभावहरूको विवरण राख्ने प्रविधि जडान गरिएको छ।

बुधवारको प्रक्षेपण गत अगस्ट र सेप्टेम्बरमा गरिएका अघिल्ला दुई प्रक्षेपण प्रयासहरूकै निरन्तरता हो।

तर अघिल्ला ती प्रक्षेपणहरूलाई प्राविधिक समस्याका कारण ‘काउन्टडाउन’का क्रममा रद्द गरिएको थियो।

हुले लरा कुन्सबर्गलाई आर्टिमिस प्रक्षेपणका क्रममा त्यो माथि उठेको हेर्नु "अविश्वसनीय अनुभूति" र "सपना" जस्तो भएको बताए।

"हामीले दीर्घकालीन र सुदूरअन्तरिक्ष खोज गर्ने क्रममा यो पहिलो कदम हो, यो संयुक्त राज्य अमेरिकाका लागि मात्र होइन, विश्वकै लागि हो," उनले भने।

"र, मलाई लाग्छ- यो नासाको लागि एक ऐतिहासिक दिन हो। अनि, मानव अन्तरिक्ष उडान र सुदूर अन्तरिक्ष खोजीमा चासो राख्ने सबैका लागि पनि यो ऐतिहासिक नै हो।

"भनाइको मतलब, हामी चन्द्रमामा फेरि जाँदैछौँ। हामी एउटा दिगो कार्यक्रमतर्फ उन्मुख काम गर्दैछौँ र यो त्यस्तो गाडी हो- जसले मानिसहरूलाई बोक्नेछ र हामीलाई फेरि चन्द्रमामा अवतरण गराउनेछ।"

हुले बताए अनुसार यदि हालको आर्टिमिसको उडान सफल भएमा त्यस्तैखाले अर्को उडान चालक दलका साथ हुनेछ र तेस्रो पटक अन्तरिक्ष यात्रीहरू चन्द्रमामा अवतरण गर्नेछन्।

चन्द्रमामा पछिल्लो पटक ५० वर्षअघि अपोलो-१७ मार्फत् सन् १९७२ मा अन्तरिक्ष यात्रीहरू उत्रिएका थिए। उनले हालको यात्रा राम्ररी अघि बढिरहेको बीबीसीलाई बताए।

उनका अनुसार अहिले सबै प्रणालीहरूले काम गरिरहेका छन् र उक्त अभियानको टोलीले सोमवार दिवा खाजाका बेलामा ओरायनको इन्जिन (जसलाई बर्न भनेर चिनिन्छ) मा चन्द्रमाको बाहिरी कक्षमा यानलाई पठाउन अर्को ‘फायरिङ’ गर्ने तयारीमा रहेको छ।

हुले पृथ्वीबाट उक्त अभियान हेर्नु भनेको चिन्तित अभिभावक हुनुभन्दा फरक नभएको स्वीकारे।

तर उनले ओरायनबाट आएका तस्बिर र भिडियो हेर्दा " वास्तवमै 'वाह, हामी चन्द्रमामा फर्किरहेका छौँ' भन्ने उत्साह र अनुभूति दिने" बताए।

चुनौतीपूर्ण कार्य
आर्टिमिस वान् अभियानको सबैभन्दा महत्त्वपूर्ण चरणमध्ये एक ओरायन मोड्युललाई सुरक्षित रूपमा पृथ्वीमा फिर्ता ल्याउनु हो।

यो पृथ्वीको वायुमण्डलमा ३८ हजार किलोमिटर प्रतिघण्टा वा आवाजको गतिभन्दा ३२ गुणा बढी गतिमा पुन: प्रवेश गर्नेछ र यसको मुनिको ढालको तापक्रम तीन हजार डिग्री सेल्सियससम्म पुग्नसक्छ।

हुलेे आर्टिमिसका अवयवहरू र प्रणालीको सुरक्षाको परीक्षण गरेर प्रमाणित भइसकेपछि, "यसै दशकमा" चन्द्रमामा मानिसलाई बसाउने योजना रहेको बताए।

चन्द्रमामा फर्कनुको कारणमा उक्त उपग्रहको दक्षिणी ध्रुवमा पानी छ कि छैन भनेर पत्ता लगाउनु हो।

किनभने त्यसलाई अन्तरिक्षको गहिराइमा जानका लागि इन्धन प्रदान गर्न इन्धनका रूपमा रूपान्तरण गर्न सकिन्छ। उदाहरणका रूपमा मङ्गल ग्रहमा जानका लागि।

उनले भने, "हामी मानिसहरूलाई चन्द्रमाको सतहमा पठाउँदैछौँ र तिनीहरू त्यो सतहमा बस्नेछन् र वैज्ञानिक खोजी गर्नेछन्।"

"हाम्रा लागि पृथ्वीको कक्षाभन्दा बाहिर केही कुरा सिक्नु र त्यसपछि मङ्गल ग्रहमा जाँदा ठूलो कदम चाल्नु साँच्चै नै महत्त्वपूर्ण हुनेछ।

"र, आर्टिमिस अभियानहरूले हामीलाई एउटा दिगो प्लेटफर्म र यातायात प्रणाली बनाउन सक्षम पार्नेछ।

त्यसले हामीलाई त्यो गहन अन्तरिक्ष वातावरणमा कसरी काम गर्ने भनेर सिक्न अनुमति दिन्छ।"

ओरायन क्याप्सुल ११ डिसेम्बरमा पृथ्वीमा फर्किनेछ।

-बीबीसीबाट