काठमाण्डौ। अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७र७८ को बजेटका ४ उद्देश्य र ६प्राथमिक रहेको बताएका छन्।

प्रथम उद्देश्य कोरोनालगायतका संक्रमक रोग र विपतबाट नागरिकको जीवन रक्षा हुने खतिवडाले बताए। त्यसका लागि बजेटमा प्राथमिकताका क्षेत्र पनि छुट्याइएका छन्। 

संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने क्रममा मन्त्री युवराज खतिवडाले आगामी वर्षको बजेटका उद्देश्य निम्न रहेको बताएका छन् – 

उद्देश्य
१. संक्रामक लगायत सबै प्रकारका रोग र विपद्बाट नागरिकको जीवन रक्षा गर्दै जनजीवनलाई सहज र सुरक्षित बनाउने,

२. उपलब्ध साधन स्रोत, अवसर र क्षमताको उच्चतम परिचालन गरी शीघ्र आर्थिक पुनर्उत्थान गर्दै आर्थिक विकासको गतिलाई निरन्तरता दिने,

३. नागरिकका मौलिक हक र अधिकारका रूपमा रहेका आवश्यकता परिपूर्तिमार्फत राज्यको लोककल्याणकारी भूमिका बढाउने र,

४. सामाजिक, आर्थिक र भौतिक विकासमार्फत उत्थानशील, समुन्नत, स्वाधीन, समृद्ध एवं समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने।

यी उद्देश्य पूर्ति गर्न क्षेत्रगत प्राथमिकता यस्ता छन्– 

१. कोरोना लगायत सबै प्रकारका स्वास्थ्य जोखिमबाट नागरिकलाई सुरक्षित राख्न र गुणस्तरीय स्वास्थ्य सेवा सर्वसुलभ बनाउन स्वास्थ्य सेवाको दायरा विस्तार, स्वास्थ्य पूर्वाधार निर्माण तथा स्तरोन्नती र स्वास्थ्य जनशक्ति विकास,

२. कोरोना भाइरस संक्रमणको रोकथामको लागि चालिएका कदमबाट टुटेको आर्पूर्ति श्रृंखलालाई पुनर्स्थापित गर्दै कृषि, उद्योग, पर्यटन, निर्माणलगायत प्रभावित क्षेत्रको पुनर्उत्थान,

३. नागरिकका लागि काम र रोजगारीका अवसर, सुरक्षित आवास, सार्वकालिक सामाजिक सुरक्षा र संरक्षण,

४. विकासको शीघ्र प्रतिफल प्राप्त हुने, आगामी वर्ष सम्पन्न हुने अधुरा आयोजनाहरूको कार्यान्वयन,

५. गुणस्तरीय र जीवनोपयोगी शिक्षा, सूचना प्रविधिको विस्तार, आधारभूत खानेपानी, लगायतका सामाजिक, आर्थिक तथा भौतिक पूर्वाधारको विकास तथा निर्माण,

६. संघीयता कार्यान्वयन, गुणस्तरीय तथा पहुँचयुक्त सामाजिक सेवा र उत्तरदायी तथा पारदर्शी शासन व्यवस्थाको सदृढीकरण।