– अर्जुन तिमिल्सिना

काठमाण्डौ । सेयर बजारमा यो साताको सुरुआत पनि सुखद् नै रह्यो। साताको पहिलो दिनको कारोबार उत्साहजनक रह्यो भने दोस्रो दिनको कारोबारमा सामन्य करेक्सन आएको छ। 

बजार आधारभूत रुपमा जति बलियो छ, प्राविधिक रुपमा पनि बलियो नै देखिन्छ। केही अल्पकालीन औजारहरुले सामान्य करेक्सन देखिए पनि दीर्घकालीन औजरहरुले बजार बुलिस नै रहेको देखिन्छ। हामीले बजारको समग्र अवस्थालाई आज पनि प्राविधिक रुपमा प्रक्षेपण गर्ने कोसिस गरेका छौँ। 

मैनबत्ती विश्लेषणका आधारमा 

मैनबत्ती विश्लेषणअन्तर्गत यो साताका क्यान्डलहरुमा आइतबारको क्यान्डलले हरियो मारुबुजु बनाएको छ भने सोमबारको क्यान्डलले रातो मारुबुजु बनाएको छ। यस्ता क्यान्डल जति लामो भयो, त्यति नै बजारमा बिक्रीचाप पर्न सक्ने देखिन्छ। आजको क्यान्डलले रातो लामो मारुबुजु आकार बनाएकोले आगामी कारोबारमा सामान्य करेक्सन हुन सक्ने क्यान्डलको फरमेसनले बुझिन्छ। यस्तो खालको करेक्सन अल्पकालीन हुन सक्छ।

इलिअट वेभका आधारमा 

यो सिद्धान्तमा ५ वेभ र ९ डिग्री हुन्छन्। त्यस्ता डिग्रीहरुले सानाठूला गरेर १ दिनदेखि १०० वर्षसम्मको समयावधिलाई प्रतिनिधित्व गर्छन्। इलिअट वेभमा बजार माथि जान ५ फरक–फरक वेभ हुन्छन् भने तल जान ३ वेभ हुन्छन्। माथि लाग्ने ५ वेभमा पनि ३ वटा चढावका र २ वटा सुधारका देख्न सकिन्छ। यसमा १, ३, ५ चढावका हुन्छन् भने २ र ४ मा करेक्सनका हुन्छन्। वेभ ५ को करेक्सन वेभ ए हो। वेभ ए, बी र सीले बजार तल जाने संकेत गर्छन्। 

गत नोभेम्बर महिनादेखि हालसम्मको बजारले बनाएको रोखाचित्रलाई आधार मानेर  इलिअट  वेभलाई विश्लेषण गर्ने हो भने हाल इन्टरमिडियट डिग्रीअन्तर्गत वेभ ( ५) बन्दै गरेको एउटा बलियो सम्भावना बजारमा देखिन्छ। यदि यो इन्टरमिडियत डिग्रीको वेभ (५) नै भएको खण्डमा बजार लगभग ३२५० सम्म पुग्न सक्ने केही बलिया प्राविधिक आधारहरु पनि देख्न सकिन्छ। जस्तो पहिलो आधार भनेको अघिल्लोपल्ट घटेको विन्दुबाट फिवोनासी लिने हो भने त्यो १.६१ को वृद्धि ३२५० सम्म हुन जान्छ। दोस्रो आधार भनेको इलिअट वेभको एउटा मान्यता भनेको वेभ (३) सबैभन्दा लामो र ठूलो हुन्छ भन्ने हो भने वेभ (१) बराबर वेभ (५) हुन्छ भन्ने पनि हो। यदि बजारको माइनर डिग्रीलाई हेर्ने हो भने पनि यो डिग्रीको वेभ (१) को लम्बाइ (२७५०–२३७०) लगभग ४०० अंक बढेको छ भने अब वेभ (५) को लम्बाइ (हेर्नुस हरियो एरो) २८०० बाट बजार कम्तीमा ४०० अंक बढ्दा ३२५० सम्म  पुग्ने प्राविधिक रुपमा अर्को बलियो सम्भावना देखिन्छ। भलै यसलाई पुष्टि हुन भने आगामी दिनको भोलुम तथा कारोबारले बजारलाई बलियो साथ दिनुपर्ने हुन्छ। (हेर्नुहोस् मुख्य तस्बिर) 

फिवोनासी सिद्धान्तका आधारमा 

फिवोनासी एक्सटेन्सन एउटा यस्तो टुल हो, जसले एकपल्ट बढेपछि बजार घट्दा कतिसम्म तल आउन सक्छ र कति–कतिमा टेवा लिन्छ भन्ने विषय अनुपातका आधारमा संकेत गरेको हुन्छ। बढ्दा पनि कति–कति प्रतिशतमा प्रतिरोध गरेको हुन्छ भन्ने यी अनुपातबाट अनुमान लगाउन सकिन्छ। यस्ता अनुपातलाई फिवोनासी गोल्डेन अनुपातहरु पनि भनिन्छ। ती अनुपातहरु २३.६, ३८.२, ५०, ६१.८ र १०० प्रतिशत हुन्। यो सिद्धान्तअनुसार यदि बजार घटेमा ०.२३ प्रतिशतको टेवा ३००७ विन्दुसम्म, ०.३८ प्रतिशतको टेवा २९७० विन्दुसम्म, ०.५ प्रतिशतको टेवा २९३६ विन्दुसम्म र ०.६१ प्रतिशतको टेवा २९०१ विन्दुसम्म बजार आउन सक्ने देखिन्छ। (तस्बिरमा हेर्नुहोस्)

एमएसीडी लाइनका आधारमा

एमएसीडी लाइन भनेको सेयर अर्थात बजार परिसूचकको अन्तिम मूल्यको २६ दिन र १२ दिनको एक्सपोनियल मुभिङ एभरेज हो। यसमा एमएसीडी लाइन र सिग्नल लाइन गरी दुई लाइन हुन्छन्। यदि एमएसीडी लाइनले सिग्नल लाइनलाई तलबाट काट्छ भने बुलिस क्रस ओभर र माथिबाट काट्छ भने बियरिस क्रस ओभर हुन्छ। यो लाइनअन्तर्गत गएको जुलाई १४ मा बुलिस क्रस ओभर बनेको छ। सिग्नल बुलिस नै देखिन्छ। हिस्टोग्रामहरु (कालो एरोले देखाएको) लामा–लामा हुँदै गएका छन् तर पोजेटिभ नै भएकोले केही समय बजार बुलिस नै हुन सक्ने अनुमान लगाउन सकिन्छ।   

बोलिंगर ब्यान्डका आधारमा

यसमा ३ वटा ट्रेन्ड लाइन हुन्छन्। पहिलो (बीचको) सामान्य चलायमान औसत रेखा, दोस्रो अप्पर ब्यान्ड र तेस्रो लोअर ब्यान्ड। यो ब्यान्डको सामान्य नियम भनेको मूल्य माथिल्लो र तल्लो ब्यान्डमा सीमित हुन्छ भन्ने हो। अर्थात् अझ सरल भाषामा भन्नुपर्दा जब मूल्य रेखाले माथिल्लो रेखालाई छुन्छ तब बजारमा करेक्सन हुन्छ र जब तल्लो रेखालाई छुन्छ तब बजार स्वभाविक रुपमा फेरि माथितिर जान थाल्छ भन्ने हो। बजारलाई बोलिंगर ब्यान्डअन्तर्गत हेर्दा मूल्यरेखाले अप्पर ब्यान्डलाई छोएको र ब्रेकआउट भएकोले यो औजारमार्फत विश्लेषण गर्नुपर्दा बजारमा सामान्य करेक्सन तथा साइडवेजमा पनि जान सक्छ।

आरएसआईका आधारमा 

आरएसआई विन्दुअन्तर्गत १४ दिनको मूल्यलाई आधार मानेर भविष्यमा हुने मूल्य परिर्वतनको भविष्यवाणी गरिन्छ। यसमा ५० को जोनलाई सेन्ट्रल जोन, ३० भन्दा तल ओभर सोल्ड जोन र ७० भन्दा माथिलाई ओभर बट जोन भनेर छुट्याइन्छ। यसअन्तर्गत हालको बजारको आरएसआई ७० रहेको छ। जसको अर्थ हुन्छ बजार ओभर बट जोनमा छ र अघिल्लोपल्ट यो विन्दु ७८.९७ को तहमा पुगेपछि करेक्सन आएको थियो। बजारको न्यून आरएसआई ३७.८२ मा आउँदा अघिल्लोपल्ट बजारमा बुलिस यात्रा तय भएको थियो। आरएसआईका आधारमा बजारको  विश्लेषण गर्नुपर्दा आरएसआई ओभर बट जोनमा रहेको छ। बुलिस बजारमा यो विन्दु कहिलेकाहीँ लामो समय ओभर बट जोनमा पनि रहन सक्छ।

नोट : सेयर बजारमा प्राविधिक विश्लेषण विभिन्न औजारमा आधारित अनुमान हो। लगानीकर्ताले लगानी गर्दा आफ्नो जोखिम लिन सक्ने क्षमता र कम्पनीको वित्तीय अवस्था हेरेर लगानी गर्नुपर्छ। यो कुनै कारोबारको सिफारिस भने होइन। कारोबार गर्दा आफ्नो स्वविवेक प्रयोग गरिनुपर्छ।