हाम्रो सेयर बजारमा धेरै किसिमका चलखेल हुने गरेको हामी पाउँदछौँ। यस्ता चलखेलबाट केही धूर्तहरुलाई फाइदा पुगे पनि अन्य सर्वसाधारण लगानीकर्ता भने मर्कामा परिरहेका हुन्छन्। 

चलखेल भनेको सेयर बजारमा हुने गरेको ठूलो अपराध हो। हुन त विश्वसनीय, स्वच्छ, पारदर्शी बजार निर्माण गर्ने, चलखेलको अनुगमन गर्ने नियामक निकायका प्रमुख व्यक्तिहरु स्वयं चलखेलमा फसेको भर्खर नै देखेकै हो। के अब अनुगमन गर्ने तथा यहाँका विकृति रोक्न हामी सर्वसाधारण नै लाग्नुपर्ने हो ? या अन्य कुनै निकाय बीचमा आउने हो, त्यो हेर्न बाँकी छ। तर, हाम्रो देशमात्र एक यस्तो देश हो जहाँ निमुखालाई दण्ड र अपराधीलाई पदक दिएर सम्मानित गर्ने चलन रहेको छ।

बजारमा हुने केही चलखेलहरु यहाँ प्रस्तुत गरेको छु–

१. ब्रोकरको संलग्नताबाट हुने चलखेल

क) र्याम्पिङ (Ramping) : बजारमा भइरहेको कारोबार सकिने अन्तिम समयमा ब्रोकरको सहयोगमा कृत्रिम रुपमा बजार मूल्य बढाई लगानीकर्ताको मनमा यसको माग अत्याधिक रहेको र मूल्य अझै बढ्न सक्ने भन्ने भ्रम सिर्जना गरी आमलगानीकर्ताको मनोभावसँग खेल्नु नै र्याम्पिङ हो। यस्तो कारोबारले आउने दिनका लागि पनि बजारलाई प्रभावित बनाउन सक्दछ र केही अपराधीहरुले राम्रो पैसा कमाउने मौका पाउँदछन्।

ख)  कारोबार मिलान : कुनै एक कम्पनीको खरिद वा बिक्री आदेश एकै ब्रोकरलाई दिइएको छ भने त्यो ब्रोकरले आफैँ क्रेता र बिक्रेता बनेर दुवै आदेशलाई मिलान गरी एकातपÞर्mको मूल्य कम या बढी बनाई गरिने कारोबार, कारोबार मिलान हो। यस्तो कारोबारमा क्रेता आफ्नो नजिकको ब्यक्ति भए मूल्य घटाएर अथवा बिक्रेता नजिकको व्यक्ति भए मूल्य बढाएर म्याचिङ गर्ने कार्य गरिन्छ। 

ग) बजार भगाउने : अहिले सेयर बजारमा टीएमएस प्रणालीबाट घरमै बसेर कारोबार गर्न सजिलो छ। तर, अझै पनि कयौँ व्यक्तिले खरिदबिक्रिको आदेश सीधै ब्रोकरलाई दिएर कारोबार गर्ने गरेका छन् र कहिलेकाहीँ यस्ता आदेशका कारण बजार मूल्यमा ठूलो प्रभाव परेको स्पस्ट देखिन्छ।  जस्तै– कुनै खरिदकर्ताको कुनै स्टकको ठूलो खरिद आदेशका कारण बजारमूल्य बढ्ने देखिएमा उसको कारोबार गरिदिनु अगाडि नै ब्रोकरले आफ्नो नाम मा या आफ्नो केही व्यक्तिको नाममा उक्त स्टक खरिद गरिसकेपछि मात्र उक्त व्यक्तिको आदेश राख्ने, यस्तै कसैको आदेशका कारण मूल्य घट्ने देखियो भने पनि ब्रोकरले पहिला आफ्नो या आफ्नो व्यक्तिको कारोबार सकेपछि मात्र उक्त व्यक्तिको कारोबार गरिदिने। यसरी ग्राहकको कारोबारभन्दा पहिले आफ्नो कारोबार गरेर फाइदा लिने कामलाई नै बजार भगाउने भनिन्छ।

घ) अहिले जीवन विकाश लघुवित्त, युनियन लाइफ इन्सुरेन्स अनि मनोकामना स्मार्ट लघुवित्तको कारोबार संख्या टीएमएस र फ्लोर सिटमा बेग्लाबेग्लै भएको देखिन्छ। खरिदकर्ता निकै धेरै र बिक्रीकर्ता शून्यप्राय भएको अवस्थामा १०÷२० कित्ता कारोबार भएपछि मूल्य बढ्नुपर्नेमा अझ मनोकामनाको त कारोबार भए पनि ३ दिनदेखि मूल्य एकै समान रहेको देखिएकोले यो पनि ब्रोकरबाट भएको एक अनियमितता त हैन भन्ने सोच्न बाध्य बनाएको छ।  

२. विभिन्न समूह बनाई गरिने चलखेल

क)  पम्पिङ तथा डम्पिङ : सामाजिक सञ्जाल तथा अन्य कुनै पनि प्रकारले समूह–समूह बनाई यो स्टक वा ऊ स्टक भन्दै उक्त स्टकको मूल्यमा असर पुर्याएर लिने फाइदा नै पम्पिङ तथा डम्पिङ हो। अहिले हामी विभिन्न नामधारी व्यक्ति या समूहले सामाजिक सञ्जालमा मेरो समूहमा आबद्ध रही कारोबार गर्नुहोस् भनी आग्रह गरेको दुनियाँ भिडियो पाउँदछौँ। क्लब हाउस, फेसबुक, युट्युब, भाइबरजस्ता सामाजिक सञ्जालमा कुनै स्क्रिप्टको नाम नै तोकेर ‘यो किन्नुस यसको त मूल्य भोलि यति पुग्छ’ भन्ने गरेको देखिन्छ। अझ व्यक्तिको मोबाइल–मोबाइलमा सीधै म्यासेजसमेत पनि गर्ने गरेको पाउँदछौँ।  

यस्तो कारोबारको उद्देश्य कुनै पनि प्रक्रियाबाट सेयरको माग उच्च रहेको देखाई मूल्यमा अस्वाभाविक वृद्धि गराई अन्य लगानीकर्ताले मूल्य बढेको देखेर जब खरिद गर्न थाल्छन् तब अन्य लगानीकर्तालाई फसाएर आफू निस्कने र नाफा खानु रहेको छ।  

ख) कर्नरिङ : यसमा कारोबारमा संलग्न व्यक्ति या समूहले बजारमा बिक्रीमा आएको कुनै एक निश्चित कम्पनीको सकेजतिको सेयर खरिद गर्दछ। यस्तो गर्नेले प्रायः सानो र कम पुँजी भएका कम्पनी रोज्दछन्। जसले गर्दा सेयरको आपूर्तिमा केही असहजता निर्माण भएर सेयरको अभाव सिर्जना हुन गई माग बढ्न थाल्दछ अनि लगानीकर्ताले बढी मूल्यमा पनि सेयर खरिद गर्न तयार हुँदा मूल्य अझ बढ्ने हुन्छ। यही अवस्थामा सेयर कर्नरिङ गरेर नाफा कमाउन पल्केका आपराधिक समूह भने विस्तारै स–सानो संख्यामा आफूसँग भएको सेयर बिक्री गरी बजारमूल्यलाई अझ उच्च अवस्थामा पुर्याएर आफूसँग भएको सम्पूर्ण सेयर बेची बाहिर निस्किन्छन्। साना लगानीकर्ताले यसको भित्री रुप थाहा नै पाउन नै सक्दैनन्।

३. देश, समाज, कम्पनीलाई नै एक दिशा दिनुपर्ने व्यक्तिबाटै हुने चलखेल

इन्साइडर ट्रेडिङ : कुनै पनि कम्पनी या संस्थाको भित्री सूचना बाहिर आउनु अगाडि नै त्यो सूचनाकै आधारमा भएको कारोबारबाट सेयर खरिदबिक्री गरी नाफा लिनु नै इन्साइडर ट्रेडिङ हो। एउटा संस्था या कम्पनी चलाउनु भनेको विकट गाउँको दोबाटोमा खोलेको एउटा चिया पसल चलाउनुजस्तो पक्कै हैन। एउटा कम्पनी या संस्था केका लागि स्थापना गरिएको, यसले के गर्छ, कसरी गर्छ आदि कुराहरु कम्पनीको प्रकृतिअनुसार विधानमा उल्लेख गरिएको हुन्छ। कम्पनीको एक कार्ययोजना हुन्छ, कार्यक्रम हुन्छ, रणनीति हुन्छ, उद्देश्य हुन्छ, लक्ष्य हुन्छ तर कुनै पनि संस्था या कम्पनीका सञ्चालक, व्यवस्थापन समूह या उच्च पदमा आशीन केही विकृत मनोवृत्तिका र जति खाए पनि नअघाउने खालका, एक दिन आफू कार्यरत संस्था या कम्पनी नै बेचेर खान सक्ने व्यक्तिहरुले आफू संलग्न कम्पनी या संस्थाको उद्देश्यलाई  लात मार्दै आफ्नो व्यक्तिगत फाइदाका लागि केही सूचनाहरु पहिले नै चुहावट गरी उक्त संस्था या कम्पनीको सेयरको खरिदबिक्री गरी फाइदा लिने कार्य गर्दछन्। 

दण्ड र सजायको के–कस्ता प्रावधान रहेको छ त ? 

अहिले नेपालका नियामक निकाय स्वयं यही दलदलमा फसेको र उपल्लो निकाय मस्त निद्रामा रहेकाले तथा दण्ड र सजाय भनेको निमुखा असहायका लागि मात्र देखिएको हुँदा मैले दण्ड र सजायका बारेमा लेख्नु बेकार छ। तर, मैले यावत समस्याको यहाँ उठान त गरे अब यसको सामाधान के छ त ? पहिले त यो सेयर बजारमै भविष्य देख्ने हामीले आआफ्नो स्तरबाट आवाज उठान गरौँ। जहाँ पनि र जो पनि सम्बन्धित व्यक्ति भेट्छौँ प्रस्न गरौँ। ताकि केही चासो उहाँहरुलाई पनि लागोस्। अनियमितता र भ्रष्टाचार गर्ने व्यक्तिलाई सम्मान दिन कम गरौँ। जबसम्म अनियमितता गर्ने र भ्रस्ताचारी केवल धनकै भरमा हाम्रो समाजमा सम्मानित बन्नेछन् तबसम्म तिनको मनोबल बढी रहने छ। 

अर्को कुरा तत्कालीन अर्थमन्त्री बाबुराम भट्टराईले यो पुँजी बजारलाई जुवा घर भनेको सबैलाई थाहा भएकै हो। यसको मतलब अर्थमन्त्रीजस्तो व्यक्तिलाई पुँजी बजार के हो ? देशको अर्थतन्त्रमा यसको महत्व के छ भन्ने नै थाहा नरहेको पुष्टि गर्दछ। अर्थ समिति, अर्थमन्त्रीसँगको पहुँच हुनेले यो पुँजी बजारका र यसको राम्रो पक्षको बारेमा कन्भिन्स गरौँ। एक फोरम बनाउँ जहाँ अर्थ समिति, अर्थसचिव र अर्थमन्त्रीलाई आमन्त्रित गर्न सकियोस् र यहाँका समस्या राख्न सकियोस् र बेला–बेलामा अन्तरक्रिया गर्न सकियोस्। 

अन्त्यमा कहीँ पनि चलखेल भएजस्तो लागेमा आफ्नो लोभलाई देख्ने गरौँ र सकेसम्म त्यस्तो सेयर खरिदबिक्री गर्नबाट आफैँ बचौँ नत्र अन्यलाई मात्र दोषी देखाएर आफू चाहिँ चोखो बन्ने कोसिस नगरौँ।