– अनन्त्य सुन्दर

काठमाण्डौ । हिन्दु धर्मावलम्बीको महान चाड बडादसैँ सुरु भएसँगै विद्यार्थीहरु उत्साहित छन्। पोहोर साल कोरोना कहरले गर्दा लकडाउन भएकाले धेरैजसो खुलेर चाडपर्व मनाउनका साथै मनोरञ्जन गर्नबाट वञ्चित थिए। यसपटक अधिकांशले खोप लगाएकाले धेरैजसोको दसैँमा घुम्ने र आफन्तजनसँग मनोरञ्जन गर्ने योजना छ।

काठमाण्डौमा अध्ययनरत पर्वत जिल्लाका धिरज पौडेल गत वर्ष कोरोनाका कारण पूरा नभएका दसैँका योजनाहरुलाई यसपटक पूरा गर्ने योजना रहेको बताउँछन्। धिरज भन्छन्, ‘अध्ययनका लागि काठमाण्डौ आएपछि दसैँ मनाउन घर फर्किंदा छुट्टै अनुभूति हुँदो रहेछ। गत वर्ष धेरै आफन्तजनको हातबाट टीका लगाउनबाट वञ्चित भइयो, यसपटक ठूलाबडाबाट टीका थाप्ने योजना छ।’ 

आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्दै आफ्नै जिल्लाका सुन्दर ठाउँहरु घुम्ने योजना रहेका पौडेल भन्छन्, ‘घरमा बा–आमालाई दसैँमा ऋण लिएर फौजुल खर्च गर्नुको सट्टा सेयर बजारमा लगानी गर्न भनेको छु।’

सिन्धुलीका समीर कार्की काठमाण्डौको न्यु समिट कलेजमा बीबीएम अध्ययनरत छन्। कार्कीको यसपटकको दसैँ घरमा नै मनाउने योजना रहेको बताउँछन्। ‘पोहोर साल गाउँमा हजुरबुवा–आमासँग दसैँतिहार मनाएको थियौँ’, कार्की भन्छन्, ‘कोरोना त्रासले गर्दा यसपटक काठमाण्डौमा नै मनाउने योजना छ।’ दसैँतिहारको शुभकामना दिँदै कार्कीको आफ्नो स्वास्थ्यको ख्याल राख्दै चाडपर्व मनाउन सुझाव छ।

नुवाकोटको प्रभास धमला काठमाण्डौको युनिभर्सल कलेजमा बीबीए अध्ययनरत छन्। धमलाको यसपटकको दसैँमा मान्यजनको हातको टीका लगाएर मनोरञ्जन गर्ने योजना रहेको छ। धमला भन्छन्, ‘अधिकांशले खोप लगाए पनि अहिले पनि कोरोनाको जोखिम उच्च छ। त्यसैले सामाजिक दुरी कायम राख्दै आफ्नो स्वास्थ्यको ख्याल राखेरमात्र मनाउनुपर्छ।’

नुवाकोटकी सिर्जना पनेरु चार्टर अकाउन्टेन्ट अध्ययनरत छिन्। कोरोनाका कारण स्वास्थ्यको ख्याल राख्दै आफन्तजनबाट टीका थापेर दसैँ मनाउने योजना रहेको पनेरु बताउँछिन्। पनेरु भन्छिन्, ‘पोहोर साल दसैँमा लकडाउनले गर्दा काठमाण्डौमा नै कैद भएकी थिएँ। यसपटक घर गएर दसैँ मनाउन पाउँदा हर्षित छु।’ 

आफ्नो स्वास्थ्यको ख्याल राख्दै जुवा–तासजस्ता क्रियाकलापलाई बढुवा नदिई अनुशासित भएर चाडपर्व मनाउन पनेरुको आग्रह छ।

भक्तपुरका निकेश थापा काजी काठमाण्डौको न्यु समिट कलेजमा अध्ययनरत छन्। ‘यसपालिको दसैँ पनि सधैँझैँ परिवारसँग बसेर मनाउने योजना छ’, थापा भन्छन्, ‘गत ३ वर्षदेखि विभिन्न कारणले गर्दा दसैँ मनाउन पाएको थिइनँ। यसपटक भने परिवारसँग हर्ष र उल्लासका साथ मनाउने योजना छ।’

दसैँको शुभकामना दिँदै थापाको आमनेपालीलाई असत्यको बाटो त्याग्दै सत्यको बाटो हिँडौँ भन्ने सुझाव छ।