दक्षिणा पाउने आशामा दिनभर टीका लगाउन हिँडिन्थ्यो

नरेन्द्र सिजापती– सञ्चालक, कालिका सेक्युरिटिज 

गत वर्ष घरभित्रै दसैँ मनाइयो। बाहिर कतै गएन। यसपालि दसैँमा कतै ट्रेकिङ जाने सोचमा छु। कम्तीमा ६ देखि १० दिन घुम्न जाने सोचमा छु। च्छो रोल्पा घुम्न जाने सोचमा छु। पक्का भइसकेको छैन। यदि च्छो रोल्पा नभए दिल्लीको टिकट पाए केदारनाथ जाने योजनामा छु।

धनगढीको टिकट पाए खप्तड भए पनि जान्छु। कहीँ न कहीँ जान्छु। हाललाई मेरा धेरै वैकल्पिक योजना छन्। 

बालपनको दसैं र अहिलेको दसैं तुलना नै गर्न मिल्दैन। त्यो बेला भिन्न परिवेश थियो, भिन्न अवस्था थियो। त्यो समयमा मामाघरमा गएर पाएको ५ रुपैयाँको भ्यालु नै भिन्न हुन्थ्यो। टीका लगाउँदा पाएको आशीर्वादको पनि आनन्दै अर्कै छ। 

अहिलेका केटाकेटीलाई धेरै आनन्द रहेको छ। पहिलाको दसैँ र अहिलेको दसैँ निकै भिन्न छ। त्यतिबेला पाएको पैसालाई ४–५ पटक गनिन्थ्यो। दिनभरि टिका लगाएर हिँडिन्थ्यो। बिहानै उठेर पनि दक्षिणा नै गनिन्थ्यो।

दर्जीकोमा कपडा सिउने चलन थियो। उसको आँगनमा बसेर कपडा सिलाएर ल्याइन्थ्यो। त्यति बेलाको दसैँ त अहिले एकादेशको कथाजस्तो भएको छ।  

ट्रेकिङ जाँदा छुट्टै आनान्द हुन्छ। हिमाल हेर्न मज्जै हुन्छ। एउटा मोबाइल नम्बर परिवारका लागि हुन्छ नत्र सबै बन्द गरेर केही दिन एकान्तमा बस्ने हो। केही समय तनावरहित पनि हुन्छ।

दसैँमा नयाँ लुगाको महत्व निकै हुन्थ्यो

रुद्रप्रसाद शर्मा– सञ्चालक, एसियन सेक्युरिटिज

दसैँ भन्नेबित्तिकै भेटघाट, खानपिन तथा गाउँघरको याद आउँछ। दसैँ गाउँघरमै रमाइलो हुन्छ। गत वर्ष कोभिडकै कारण राम्रोसँग दसैँ मनाउन पाइएन। यसपालि केही सहज छ। 

धेरै लामो समयपछि यसपालि दसैँ रमाइलो हुने अपेक्षा छ। दसैँमा देशभित्र विभिन्न स्थान र विदेशमा गएकाहरु पनि गाउँ फर्किने भएकोले गाउँघरको वातावरण रमणीय हुने गर्छ। बर्खाको सिजन सकिएसँगै पारिलो घाम र झुलेका धानका बालाले गाउँघरको माहोल नै फरक हुने गर्छ। 

बच्चामा चंगा उडाएको रमाइलो क्षण अझै ताजा नै छ। बच्चामा टीका लगाउँदै हिँड्ने चलन तथा नयाँ लुगाको दसैँमा महत्व हुने गथ्र्यो। बच्चामा हामीले पैसा पाउँथ्यौँ तर त्यो पैसा कसरी आउँछ ? भन्ने थाहा हुन्नथ्यो। अहिले बल्ल हामीले बुझ्दैछौँ। 

उमेरसँगै मानिसमा जिम्मेवारी थपिएको हुन्छ। व्यवहारिक पक्ष पनि हुन्छ। बच्चामा हामीलाई जुन चाहना हुन्थ्यो अहिले हामीले हाम्रा बच्चाको चाहना पनि त्यही हुन्छ भन्ने हाम्रो बुझाइ हुनुपर्छ।

अर्को विशेषता भनेको अहिले पनि गाउँमा मिलिजुली खसी काटेर खाने परम्परा रहेको छ। यो नै रमाइलो पक्ष हो। 

यसपालि दसैँमा देशभित्रै घुमघाम गर्ने योजना पनि  छ। देशभित्रमा पनि गृह जिल्लामै हो विशेष घुम्ने योजना रहेको छ। किनकि अन्य क्षेत्रमा अझै पनि घुम्ने वातावरण बनेको जस्तो लाग्दैन। 

यसपालि टीका छैन। तैपनि दसैँमा भेटघाट र शुभकामना आदानप्रदान हुने भएकोले गाउँमै जाने हो। शर्माको गाउँ बागलुङमा रहेको छ।

दसैँको बिदामा नयाँ पुस्तक पढ्छु

ईश्वरी रिमाल– सञ्चालक, नेपाल स्टक हाउस

मेरो घर नुवाकोट हो। बुवाआमा हुँदा प्रायः दसैँ गाउँमै मनाउँथ्यौँ। हामी ६ दाजुभाइ छौँ। बुवा–आमा बितिसकेपछिका दसैँहरुका बिदामा म विदेशमा जाने गर्थें। 

यसपालिको दसैँमा पनि विदेश जाने योजना थियो। तर, राष्ट्र बैंकले डलर सटहीमा कसेपछि नेपालमै घुमफिर गर्ने योजना छ। 

हिले र अहिलेको दसैँमा धेरै भिन्न छ। सानोमा बढी अपेक्षा हुन्थ्यो। राम्रो लगाउने तथा मिठो खाने भन्ने हुन्थ्यो। 

पहिलेको दसैँमा बाहिर बसेका मानिस आउँथे। उनीहरुको कुरा सुन्ने भन्ने हुन्थ्यो। अहिले त्यस्तो चलन छजस्तो लागेन। अहिले पनि मानिस आउँछन् तर खासै मतलब छैन। 

दसैँमा तास खेल्ने, लंगुरबुर्जा खेल्ने र पिङ खेल्ने चलन थियो। जमिन छोड्न पर्छ भनेर पिङ खेलिन्थ्यो। अहिले त त्यस्तो रहर छैन। २० वर्ष भयो तास नखेलेको। तर मेरो बुझाइमा दसैँ सानोमा नै रमाइलो हुन्थ्यो। 

म अध्यात्मिक र ध्यान गर्न रुचाउने मानिस हो। ध्यान मानिसका लागि धेरै महत्वपूर्ण हुन्छ जस्तो लाग्छ। ध्यान र साधाना धेरै राम्रो हो। आफ्नो शरीरलाई धेरै राम्रो हुन्छ। 

पछिल्ला पुस्ताहरु रमझममा बढी लागेकोजस्तो लाग्छ।

मेरो अर्को इच्छा भनेको अध्ययन पनि हो। म अध्ययनमा बढी रुचि राख्छु।  हरेका दसैँको बिदामा म नयाँ पुस्तक पढ्छु। राजनीतिक इस्यू भएका पुस्तक बढी पढ्न मन पराउँछु। 

दसैँ मनाउन ८ वर्षपछि गाउँमा

मेघनाथ उपाध्याय– सञ्चालक, प्राइमो सेक्युरिजिट 

यसपालिको दसैँ मेरा लागि अलि फरक हुँदैछ। म ८ वर्षपछि आफ्नै गाउँमा दसैँ मनाएर पुराना दिनको सम्झना आफन्त तथा साथीभाइसँग साटफेर गर्नेछु। विगतमा गाउँघरको दसैँको परिवेश नै फरक हुन्थ्यो। बाहुनको घरमा कुखुरो चल्दैन, खसी नै हो । तास खेल्दिनँ। 

धानखेतमा हिँड्न निकै मज्जा आउँछ। सायद यो दसैँमा पनि घुमफिर र पैदलयात्रा बढी हुन्छ होला। 

यसपालि ज्येष्ठ काका राजकृष्ण उपाध्ययसँग दसैँको टीका र आशीर्वाद थाप्छु। 

(बिजशालाकर्मी अर्जुन तिमिल्सिनासँगको कुराकानीमा आधारित)