-रेखा चन्द
काठमाण्डौ । पछिल्लो समय बैंकिङ प्रणालीमा तरलता(लगानीयोग्य रकम) थुप्रिएको अवस्था छ। 

उच्च ब्याजदरका कारण कर्जाको माग नहुँदा बैंक तथा वित्तीय संस्थाहरुमा तरलता थुप्रिएको हो। जसअनुसार आगामी दिनमा ब्याजदर घट्नसक्ने देखिन्छ। 

यसो त राष्ट्र बैंकको मौद्रिक नीतिको समीक्षाले पनि आगामी दिनमा बैंक तथा वित्तीय संस्थाको ब्याजदर घट्नसक्ने संकेत गरेको छ। वाणिज्य बैंकहरुले ब्याजदर स्थिर राख्नु, विकास बैंकहरुले ब्याजदर घटाउनु, कर्जा प्रवाह नहुनु, तरलता बढ्नु, अन्तरबैंकलगायतका रेटहरु घट्नुले पनि आगामी दिनमा ब्याजदर घट्ने देखिएको छ। 

यसै सन्दर्भमा रहेर हामीले शाइन रेसुङ्गा डेभलपमेन्टका सञ्चालक बीरेन्द्रबहादुर बिष्ट र पूर्वबैंकर पर्शुराम कुँवर क्षेत्रीसँग कुराकानी गरेका छौं। आगामी दिनमा ब्याजदर घट्नसक्ने आधारहरु थुप्रै रहेको उनीहरुले बताए । 

ती आधारहरु सात बुँदामा प्रस्तुत गरिएको छः 
१.प्रणालीमा तरलता सुधार हुँदै गएको अवस्था, २ खर्ब जति रकम बैंक तथा वित्तीय संस्थाहरुले तुरुन्त कर्जा दिन मिल्ने अवस्था छ । प्रणालीमा रकम बढी भएमा स्वतः ब्याजदर घट्छ। 

२. राष्ट्रबैंकले मौद्रिक समीक्षामार्फत बैंक तथा वित्तीय संस्थालाई ८.५ प्रतिशतको बैंक दरमा राष्ट्रबैंकले उपलब्ध गराउँदै आएको दैनिक तरलता सुविधा अन्तर्गतको ओभरनाइट तरलता सुविधा अब ७ प्रतिशतको नीतिगत दरमा उपलब्ध गराउने व्यवस्था गरेको छ । यो भनेको भविष्यमा ब्याजदर घट्ने सबैभन्दा ठूलो संकेत हो। किनभने बैंकहरूले लिने कर्जाको ब्याजदर घटेपछि सर्वसाधारणले लिने कर्जाको ब्याजदर घट्न मद्दत पुग्छ ।

३.अन्तरबैंक ब्याजदर घट्नुले पनि आगामी दिनमा बैंक तथा वित्तीय संस्थाको ब्याजदर घट्ने नै संकेत गर्छ। अहिले यो दर घटेर ४ प्रतिशतको लाइनमा झरेको छ। अहिले हरेक बैंकहरुसँग तरलता छ। जसका कारण अन्तरबैंक ब्याजदरमा गिरावट आएको छ। 

४.अहिले कर्जाको ब्याजदर उच्च छ। यस्तो अवस्थामा कर्जा प्रवाह न्यून हुन्छ। कर्जा प्रवाह नहुनु भनेको तरलता म्यानेज हुनु हो। तर, बैंकहरुले नयाँ कर्जा प्रवाह नगरी विजिनेश थप गर्न नसक्ने भएको र ब्याजदर घट्दा मात्र लोनको माग बढ्ने भएकोले समेत आगामी दिनमा ब्याजदर घट्नेछ ।

५.अहिले बैंकहरुसँग कर्जाको माग नभएर निक्षेप थुप्रिएको अवस्था छ। कारण महङ्गो ब्याजदर नै हो। कर्जाको माग नभएकाले अहिलेको समयमा तरलताको अवस्था सहजै हुँदा त्यसले आगामी दिनमा ब्याजदर घट्ने देखिन्छ। 

६. तरलतामा सुधार भएको अवस्थामा जहिल्यै पनि ब्याजदर घट्ने गर्छ । माघका लागि वाणिज्य बैंकले ब्याजदर घटाएका थिए । त्रैमासिक रुपमा आधार दरको गणना गर्ने व्यवस्था हाम्रोमा भएकोले यसको प्रभाव बैशाख १ गतेदेखि लागू हुने कर्जाको ब्याजदरमा पर्नेछ । यस्तै, फागुनका लागि वाणिज्य बैंकहरुले ब्याजदर स्थिर राख्ने निर्णयले पनि उनीहरुको कोषको लागत बढ्दैन, जसका कारण ब्याजदर थप बढ्दैन, बरु घट्नतिरै लाग्छ । 

७. विकास बैंकहरुले फागुनका लागि पनि ब्याजदर घटाएका छन् । थोरै भए पनि निक्षेपको ब्याजदर घटाउँदा त्यसले सिस्टममा प्रभाव पार्छ । फलस्वरुप चैतका लागि वाणिज्य बैंकहरुलाई थोरै भए पनि ब्याजदर घटाउन दवाब पुग्नसक्छ । त्यसो भयो भने बैशाखदेखि कर्जाको ब्याजदर पनि राम्रै ढंगले घट्नसक्छ ।