काठमाण्डौ । माउन्टेन इनर्जी नेपाल लिमिटेडको आईपीओ बुधबार बिहान बाँडफाँड गरिएको छ। 

काठमाण्डौको डिल्लीबजारस्थित माउन्टेन इनर्जीको कार्यालयमा बिहान १० बजेबाट एक कार्यक्रम गरी आईपीओ बाँडफाँड गरिएको धितोपत्र बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडले जनाएको छ। यो बाँडफाँड कार्यक्रमको प्रत्यक्ष प्रसारण नबिल इन्भेस्टमेन्टको फेसबुक पेजबाट पनि गरिएको थियो।

आइपीओको रिजल्ट बिजशालाको यो लिंकमा गएर हेर्न सक्नुहुन्छ । यो लिंकमा आइपीओ निश्कासन गर्ने कम्पनीको नाम र आफ्नो बीओआइडी नम्बर हालेर रिजल्ट हेर्न सकिन्छ । 

यो कम्पनीले गत कात्तिक २६ गतेदेखि मंसिर ३ गतेसम्म दोस्रो चरणमा सर्वसाधारणका लागि १९ लाख ६८ हजार २७ कित्ता शेयर निष्काशन गरेको थियो। जसमध्ये २ प्रतिशत अर्थात ३९ हजार ३६१ कित्ता कर्मचारीलाई र ५ प्रतिशत अर्थात ९८ हजार ४०१ कित्ता सामूहिक लगानी कोषहरुका लागि बाँडफाँड गरिएको छ। सर्वसाधारणका लागि भने १८ लाख ३० हजार २६५ कित्ता साधारण सेयरका लागि आवेदन खोलिएको थियो। त्यसमा १ करोड ३९ लाख ४४ हजार ४१० कित्ता सेयर खरिदका लागि आवेदन परेको नबिल इन्भेस्टमेन्टले जनाएको छ। यो मागभन्दा साढे ७ गुणा बढी हो।

आवेदन परेको हिसाबले आईपीओ गोलाप्रथाबाट वितरण भएको थियो। जसमध्ये भाग्यमानी १ लाख ८३ हजार २६ आवेदकले १० कित्ताका दर पाएका छन्। यसरी बाँडफाँटपछि बाँकी रहेको ५ कित्ता सेयर भने १० कित्ता भन्दा बढी आवेदन दिने ५ जनालाई १ कित्ताका दरले थप गरिएको छ। बाँकी ४ लाख ९१ हजार ३८९ आवेदकको हात खालि भएको छ।

यसअघि कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित नुवाकोट र म्याग्दी जिल्लाका स्थानीयका लागि १९ करोड ६८ लाख २ हजार ७०० रुपैयाँबराबरको १९ लाख ६८ हजार २७ कित्ता आईपीओ बिक्री गरेको थियो। यो आईपीओलाई केयर रेटिङ नेपालले ‘केयर एनपी ग्रेड ४ प्लस’ रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय अवस्था औसतभन्दा कमजोर रहेको जनाउँदछ।