काठमाण्डौ । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको आईपीओको रिजल्ट सार्वजनिक भएको छ । 

धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडको काठमाण्डौको नक्सालस्थित नारायणचौमा रहेको कार्यालयमा आज बिहान ११ बजे आईपीओ बाँडफाँड गरिएको थियो। 

आईपीओ बाँडफाँडपछि अन्तिम रिजल्ट आएको हो । रिजल्ट हेर्न यहाँ क्लिक गरी आइपीओ जारी गर्ने कम्पनी र आफ्नो डिम्याट नम्बर हालेर जाँच गर्न सकिनेछ । 

बिहान ११ बजे नै आइपीओ बाँडफाँड भए पनि धेरै ठूलो संख्यामा आवेदक रहेका कारण फाइनल रिजल्ट तयार हुन भने केही घण्टा लागेको क्यापिटलले जनाएको छ । 

प्रभु लाइफ इन्स्योरेन्स गत मंसिर २९ गतेदेखि पुस २ गतेसम्म ६० लाख कित्ता आईपीओ निष्कासन गरेको थियो। जसमा ५ प्रतिशतले हुन आउने ३ लाख कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि र अर्को ५ प्रतिशतले हुन आउने ३ लाख कित्ता सेयर म्युचुअल फन्डहरुका लागि र बाँकी रहेको ९० प्रतिशतले हुन आउने ५४ लाख कित्ता सर्वसाधारणका लागि निष्कासन गरिएको थियो।

क्यापिटलका अनुसार यो आईपीओमा कुल १० लाख ६२ हजार १४३ आवेदकले २ करोड ९३ लाख ८७ हजार ४३० कित्ता सेयर खदिरका लागि आवेदन दिएका छन्। यो हालसम्मकै सर्वाधिक आवेदन पनि हो।

मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओको बाँडफाँड पनि गोलाप्रथाबाट गरिएको थियो। जसअनुसार कुल ५ लाख ४० हजार आवेदकले मात्र १० कित्ताका दरले सेयर पाएका छन् भने बाँकी ५ लाख ४२ हजार १४३ आवेदकको हात खाली भएको छ।