काठमाण्डौ । कोभिड–१९ संक्रमणका कारण संकुचनमा गएको विश्व अर्थतन्त्रको पुनरुत्थानमा खोपको उपलब्धताले मुख्य भूमिका खेल्ने देखिएको छ। 

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०७७÷७८ को वार्षिक प्रतिवेदनमा उल्लेख भएअनुसार अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) द्वारा २०२१ अक्टोबरमा प्रकाशित वर्ल्ड इकोनोमी आउटलुकबमोजिम सन् २०१९ मा विश्वको आर्थिक वृद्धिदर २.८ प्रतिशत रहेकोमा सन् २०२० मा ३.१ प्रतिशतले ऋणात्मक रहेको छ। सन् २०२१ मा यस्तो वृद्धिदर ५.९ प्रतिशत रहने र सन् २०२२ मा ४.९ प्रतिशत पुग्ने मुद्राकोषको प्रक्षेपण रहेको छ। 

विकसित देशहरुको समग्र आर्थिक वृद्धिदर सन् २०२० मा ४.५ प्रतिशतले ऋणात्मक रहेकोमा सन् २०२१ मा सुधार भई ५.२ प्रतिशत हुने मुद्राकोषको प्रक्षेपण छ। उदीयमान र विकासोन्मुख देशहरूको आर्थिक वृद्धिदर सन् २०२० मा २.१ प्रतिशतले ऋणात्मक रहेकोमा सन् २०२१ मा ६.४ प्रतिशत हुने प्रक्षेपण छ। 

उदीयमान तथा विकासोन्मुख एसियाली देशहरुको आर्थिक वृद्धिदर सन् २०२० मा ०.८ प्रतिशतले ऋणात्मक रहेकोमा सन् २०२१ मा ७.२ प्रतिशत हुने प्रक्षेपण छ। 

सन् २०२० मा भारतको आर्थिक वृद्धिदर ७.३ प्रतिशतले ऋणात्मक रहेकोमा सन् २०२१ मा ९.५ प्रतिशत पुग्ने प्रक्षेपण छ। 

त्यसैगरी चीनको आर्थिक वृद्धिदर सन् २०२० मा २.३ प्रतिशत रहेकोमा सन्२०२१ मा ८.० प्रतिशतले विस्तार हुने मुद्रा कोषको प्रक्षेपण छ। 

सन् २०२० मा उपभोक्ता मुद्रास्फीतिदर विकसित देशहरुमा ०.७ प्रतिशत र उदीयमान तथा विकासोन्मुख देशहरुमा ५.१ प्रतिशत कायम रहेको छ। सन् २०२१ मा मुद्रास्फीति दर विकसित देशहरुमा २.८ प्रतिशत र उदीयमान तथा विकासोन्मुख देशहरुमा ५.५ प्रतिशत रहने मुद्रा कोषको प्रक्षेपण छ। 

सन् २०२० मा ८.२ प्रतिशतले संकुचित बनेको वस्तु तथा सेवाको विश्व व्यापार सन् २०२१ मा ९.७ प्रतिशतले बढ्ने मुद्रा कोषको प्रक्षेपण छ।