काठमाण्डौ । विश्वकै सबैभन्दा सानो कार ‘पिल पी५०’ हो। यसको लम्बाइ मात्र १३४ सेन्टिमिटर (४.३ फिट) छ। यसको पेट्रोल ट्यांकी मात्र ५ लिटरको छ।

कारको मालिकको नाम एलेक्स अर्चिन हो। उनी ३१ वर्षका हुन्। उनी यो कार बेलायतको ससेक्स सहरमा आफ्नो दैनिक कामका लागि प्रयोग गर्छन्। उनको कार निलो रङको छ।

सानो कारका कारण मानिसहरुले एलेक्सको मजाक उडाउँछन्। जबाफ उनी यो कार सबैभन्दा किफायती रहेको बताउँछन्। यो कारले ४२ किलोमिटर प्रतिलिटर माइलेज दिन्छ।

कारको लम्बाइ १३४ सेमी, चौडाइ ९८ सेमी र उचाइ १०० सेमी छ। यसमा ३ वटा पांग्रा छन्। यसलाई बेलायतको पिल इन्जिनियरिङ कम्पनीले उत्पादन गरेको हो। यसमा ४.५ हर्सपावरको इन्जिन छ। यो कार १९६२ देखि १९६५ सम्म निर्माण गरिएको थियो। पछि २०१० मा यो कारको निर्माण पुनः सुरु भएको हो। 

यो एकसिटे कारमा सुटकेस समेत राख्ने ठाउँ छैन। यसकारण एलेक्सले स्टेयरिङको एक छेउमा आफ्नो खुट्टा एडजस्ट गर्नुपर्छ। उनी भन्छन्, ‘जेरेमी क्लार्कसनलाई टप गियर शोमा यो कार चलाइरहेको देखेँ। त्यसपछि उनलाई यो कार निकै मन पर्यो।’

गत वर्ष एलेक्सले यही कारमा सिंगो बेलायतको भ्रमण गरेका थिए। यसको टप स्पिड मात्र ३७ किमी प्रतिघन्टा छ। एलेक्सले भने, ‘मलाई सानैदेखि पुरानो र फरक देखिने कारहरु मन पर्छ। मलाई पुराना कारहरु चलाउन मन पर्छ। मसँग १९१४ मोडेल टी र १९६८ मोरिस माइनर कार पनि छ।’

एलेक्सले भने, ‘मलाई पी५० कार यसको सानो साइजका कारण धेरै मन पर्यो तर जब मैले यसको मूल मूल्य देखेँ, मेरो होस उड्यो।’

यो कारको मूल्य ८४ लाखभन्दा बढी थियो। ‘पछि मैले मेरै सहरका एक व्यक्तिबाट सेकेन्ड ह्यान्ड कार किनेँ’, उनले भने। 

एलेक्सले भने, ‘यो कारले सधैँ मानिसलाई आकर्षित गर्छ। यो कार देख्ने जोकोहीले मलाई भन्छन् कि तपाइँले सोचेभन्दा सानो छ यो कार। म कारको ह्यान्डब्रेकको छेउमा सपिङ झोलामात्र राख्न सक्छु। अरु केही मिल्दैन।’ –एजेन्सी