काठमाण्डौ । पूँजीवृद्धिको चटारोसँगै अहिले नेपालका वाणिज्य बैंकहरुबीच को टप(उत्कृष्ट) बन्ने भन्ने प्रतिस्पर्धा छ । कतिपयले घोषित रुपमै निश्चित समय अवधि तोकेर आफूलाई देशकै टप बैंकमा उभ्याउने प्रतिबद्धता सार्वजनिक गरेका छन् भने कतिपयले रणनीतिक रुपमा आफूलाई टपमध्येको बैंकमा उभ्याउने प्रयास थालेका छन् । यही मेसोमा मेगा बैंक लिमीटेडले समेत आफूलाई टप बैंक बनाउने रणनीतिका साथ आगामी वार्षिक साधारणसभाबाट स्पष्ट म्याण्डेड लिएर आक्रामक ढंगले अगाडि बढ्ने तयारी थालेको छ । 

हालै राष्ट्रिय स्तरको विकास बैंक ‘टुरिजम डेभलपमेन्ट बैंक’सँग मर्जरको सम्झौता गरी राष्ट्रबैंकले तोकेको चुक्तापूँजी पुर्याउन कस्सिएको यो बैंकले आफ्नो व्यवसाय बिस्तारको आक्रामक रणनीति समेटिएको प्रस्तावसहित वार्षिक साधारणसभाको मिति तोकेको हो । 

यो बैंकले एक सूचना प्रकाशित गरी आगामी चैत ३ गते छैठौं वार्षिक साधारणसभा काठमाण्डौको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा आयोजना गर्ने बताएको छ । यो साधारणसभा बैंकको इतिहासमै विशेष बन्दैछ, कारण यो साधारणसभाले टुरिजम डेभलपमेन्ट बैंकसँगको मर्जर प्रक्रियालाई स्वीकृति दिनेछ भने योसँगै व्यवसाय बिस्तारका केही योजनाहरु अगाडि बढाउन बैंक संचालक समिति र व्यवस्थापनलाई मार्गप्रशस्त गर्नेछ । 

बैंकले साधारणसभामा पेश हुने विशेष एजेण्डाको रुपमा सहायक कम्पनीहरु संचालनको प्रस्ताव लाने भएको छ । उसले जीवन तथा निर्जीवन बिमा कम्पनी संचालन गर्ने, धितोपत्र दलालको काम गर्ने, मर्चेन्ट बैंक संचालन गर्ने, केन्द्रीय निक्षेप सेवा(DP) संचालन गर्ने लगायतका प्रस्ताव साधारणसभा पेश गर्दैछ । बैंकले आफ्नो कारोबार तथा व्यवसायलाई व्यापक रुपमा बिस्तार गर्ने उद्देश्यले हालको कम्पनीको नियमावली तथा प्रबन्धपत्रमा समेत संसोधन गर्ने प्रस्ताव समेत विशेष प्रस्तावको रुपमा वार्षिक साधारणसभामा पेश गर्दैछ । 

यस्तै, मेगा बैंकले आफ्ना सेयरधनीलाई अघिल्लो आर्थिक वर्षको खूद नाफाबाट दिने भनेको १३.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७० प्रतिशत नगद लाभांशको प्रस्ताव समेत साधारणसभामा पेश हुनेछ । बोनस सेयरको पूँजीकरण भएपछि कायम हुन आउने चुक्तापूँजीको ६५ प्रतिशतको दरले हकप्रद निश्कासनको प्रस्ताव समेत साधारणसभामा पेश हुँदैछ । मेगा बैंकले चालुु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म ३७ करोड ९ लाख रुपैयाँ खूद नाफा आर्जन गरेको छ । यो बैंकले हालै २५ प्रतिशत हकप्रद निश्कासन गरेको थियो, तर सबै सेयरधनीले हकप्रदमा आवेदन दिएनन् । २५ प्रतिशत हकप्रदको सम्पूर्ण व्यवस्थापनपछि बैंकको चूक्तापूँजी ४ अर्ब १ करोड रुपैयाँको उचाईमा पुुग्नेछ । बोनस सेयर र हकप्रद समेत जारी भएपछि चुक्तापूँजी ७ अर्ब ५६ करोड पुुग्नेछ । 

मेगा बैंक र टुरिजम बैंकले गत माघ ६ गते १०० बराबर ९५ सेयर स्वाप रेसियोको आधारमा मर्जरमा जाने सम्झौता गरेका थिए । मर्जरपछि बन्ने ‘मेगा बैंक लिमीटेड’को चुक्तापूँजी साढे ९ अर्बको हाराहारीा पुुग्नेछ । 

बैंक संचालक समिति तथा व्यवस्थापनले विदेशी रणनीतिक सmाझेदार भित्र्याउन समेत विशेष मन गरेको देखिन्छ । कारण, यस सम्बन्धी प्रस्ताव समेत साधारणसभामा पेश हुँदैछ । पछिल्लो समय नेपालका बैंकहरुबीच विदेशी रणनीतिक साझेदार भित्र्याएर आफूलाई बित्तीय, प्राविधिक रुपमा दह्रो रुपमा प्रस्तुत गर्ने प्रतिस्पर्धा नै चलेको छ । 

आफ्नो व्यवसाय बिस्तार गरी बैंकलाई भरलाग्दो र रहरलाग्दो कम्पनी बनाउने योजना रहेको व्यवस्थापनका एक उच्च अधिकारीले बताए । उनले भने–‘टुरिजमसँगको मर्जरपछि बैंकलाई आक्रामक रुपमा अगाडि बढाइनेछ । सो क्रममा अन्य साना संस्था समेत गाभ्ने कार्ययोजना छ । हामी ५ वर्षभित्रमा देशकै टप बैंक बन्ने लक्ष्यका साथ अगाडि बढ्दैछौ ।’ 

यसअघि प्रभूु बैंकको साधारणसभाले समेत ‘देशकै टप बैंक’ बन्ने रणनीतिहरु पारित गरेको थियो । चारवटा विकास बैंक गाभिएपछि बनेको एनसीसी बैंकले समेत ५ वर्षे रणनीतिक योजना सार्वजनिक गर्दै टप बैंकमध्येमा पर्ने दाबी गरेको थियो । यस्ता घोषणा तथा प्रतिबद्धताले आगामी दिनमा वाणिज्य बैंकहरुबीच राम्रै प्रतिस्पर्धा चल्ने देखिन्छ ।