काठमाण्डौ । धितोपत्र बजारमा कस्ता लगानी र लगानीकर्ता भित्रिरहेका छन् भनेर छानबिन गर्ने प्रमुख जिम्मेवारी नियामक नेपाल धितोपत्र बोर्डको हो । उसले धितोपत्र बजारमा स्रोत नखुलेका कालोधनहरु भित्रिन रोके मात्र वास्तविक लगानीकर्ता लाभान्वित हुनसक्छन् । तर नियामक निकायले नै धितोपत्र बजारमा हुने लगानी र तिनको स्रोत खोजीको बिषय आफ्नो कार्यक्षेत्र नै होइन भन्ने आशयको विज्ञप्ति निकाल्दै हिँड्छ भने त्यसलाई के भन्ने ? नेपाल धितोपत्र बजारले विगतमा गरेका संगीन गल्तीहरुलाई ढाकछोप गर्न र पानीमाथिको ओभानो हुनका लागि सोमबार फेरि यस्तै गम्भीर गल्ती गरेको छ, सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्ययन गर्न गठित समिति खारेजीको अप्रिय निर्णय गरेर । 

विगत एक सातादेखि ओरोलो लाग्ने क्रममा रहेको नेप्से परिसूचकमा सोमबार ८९ अंकको पहिरो गएपछि धितोपत्र बोर्डकै कार्यक्षमता र भूमिकामाथि गम्भीर प्रश्नहरु उठे । उसले विगतमा कालोधन छानबिनको नाममा बजारमा नियोजित रुपमा फैलाएको हल्ला, ठूला लगानीकर्ताको नाममा निश्चित समूहलाई पक्षपोषण गर्दै निर्वाह गरेको शंकास्पद भूमिका लगायतका कारणले बजार निरन्तर घटेको र बजारमा त्रास फैलाउने काममा पनि बोर्डकै अधिकारीहरु संलग्न रहेका कुरा बाहिर आए । यस्तै आरोप–प्रत्यारोपबीच बजार ५ प्रतिशतले घटेर सर्किट ब्रेक नै लगाउनु परेपछि अत्तालिएको बोर्डले विगतका आफ्ना गल्ती छोप्नलाई सम्पत्ति शुद्धीकरण सम्बन्धमा अध्ययन गर्न गठित समिति नै खारेजीको आत्मघाती निर्णय गरेको छ । 

‘एउटा गल्ती ढाकछोप गर्न अर्को गल्ती गर्ने प्रवृति देखियो धितोपत्र बोर्डको ।’ सेयर बजार विश्लेषक रविन्द्र भट्टराईले बिजशालासँग भने–‘पूँजीबजारमा भित्रिरहेको लगानीको बिषयमा खोज्ने काम धितोपत्र बोर्डको हो, तर समिति खारेजीको निर्णय गरेर उसले अर्को भूल गर्यो ।’ 

पूँजीबजारमा भित्रिरहेको लगानीको बिषयमा खोज्ने काम धितोपत्र बोर्डको हो, तर समिति खारेजीको निर्णय गरेर उसले अर्को भूल गर्यो ।

भट्टराईका अनुसार धितोपत्र बोर्डले बजार बढेको बेला मात्र होइन, घटेको बेला वा अन्य समयमा पनि सम्पत्ति शुद्धीकरणको बिषयमा छानबिनलाई जारी राख्नुपर्ने थियो । ‘कालोधन भित्रिएको बिषयमा थालिएको छानबिनको बिषय ‘माइकिङ’ गर्दै हिँड्नुले चाहि बजार घट्न सहयोग गर्यो भन्ने हाम्रो ठम्याई थियो ।’ भट्टराईले भने–‘बजारमा कालोधन भित्रिन नदिने, राम्रा लगानीकर्ताको हित संरक्षण गर्ने र बजारमा अस्वभाविक चलखेल समेत हुन नदिने जिम्मेवारी बोर्डको हो ।’ 

उनकाअनुसार कालोधन छानबिनको नाममा बोर्डले सही लगानीकर्ताहरुलाई समेत तस्करको जस्तो व्यवहार गरेर हिजोको दिनमा निरुत्साहित गरेको र अहिले फेरि विगतको गल्ती ढाकछोप गर्न कालोधनको प्रवेशलाई स्वागत गर्ने हिसाबले समिति नै खारेज गरिएकोमा उनले आपत्ति जनाए । ‘धितोपत्र बोर्डले सबै बजार नै तस्करहरुको हो भनेर भ्रम फैलाउन पाउदैन ।’ उनले थपे–‘योसँगै बजारमा कालोधन भित्रिन नदिनु समेत उसको जिम्मेवारी हो ।’ 

कालोधन छानबिनको नाममा बोर्डले सही लगानीकर्ताहरुलाई समेत तस्करको जस्तो व्यवहार गरेर हिजोको दिनमा निरुत्साहित गरेको र अहिले फेरि विगतको गल्ती ढाकछोप गर्न कालोधनको प्रवेशलाई स्वागत गर्ने हिसाबले समिति नै खारेज गरिएको देखियो । 

कालोधन हुनेसँग आत्मसमर्पण !
भारतले लगाएको एकतर्फी नाकाबन्दीपछि कालोबजारीबाट कुस्त कमाएकाहरुले धितोपत्र बजारमा लगानी गरिरहेकाहरुको दवाबमा नियामक नेपाल धितोपत्र बोर्ड झूकेको स्रोतहरु बताउँछन् । यसमा अर्थमन्त्री कृष्णबहादुर महराले समेत विशेष रुपमा दवाब दिएर समिति खारेजीको निर्देशन दिएका स्रोत दाबी गर्छ । 

सोमबार धितोपत्र बोर्डले निकालेको विज्ञप्ति ।

........................................................................................................

कालोधनलाई सेतो बनाउन पूँजीबजारको प्ल्याटफर्म प्रयोग भइरहेको विषय बारम्बार सार्वजनिक भई त्यसमा छानबिनको माग पेचिलो बनेपछि बोर्ड आफैंले गठन गरेको सम्पत्ति शुद्धीकरण सम्बन्धी अध्ययन समिति खारेजीको आत्मघाती निर्णय गरी बोर्डले खुल्ला रुपमा कालोधन लगानी गर्नेहरुको पक्षपोषण गरेको देखिएको विज्ञ बताउँछन् । 

विगत एकसातादेखि पूँजीबजारमा नाटकीय ढंगले गिरावट आइरहेको छ । यसमा कालोधनवालाहरुको हात रहेको र उनीहरुको योजनाअनुसार नै बजारमा बोर्डले जानी–जानी आतंक मच्चाएका कुराहरु समेत बाहिर आएका थिए । अन्ततः यिनै कुराहरुलाई पुष्टि गर्दै लगानीकर्तामा नकारात्मक सन्देश गएको जिकिरसहित बोर्डले अध्ययन समिति नै खारेजीको निर्णय गरेको हो । 

‘सम्पत्ति शुद्धीकरणजस्तो संवेदनशील बिषयलाई अझ प्रभावकारी कार्यान्वयनमा ल्याउनुपर्नेमा बल्लतल्ल बनेको अध्ययन समिति पनि खारेजी गरेर लगानीकर्तालाई मल्हम लगाउन खोजेको देखिए पनि यो निर्णयबाट बोर्ड आफैंले कालोधन हुनेहरुलाई खुलेआम स्वागत गरेको प्रष्टिन्छ ।’ एक विश्लेषकले भने–‘सेयर बजारमा लगानी भएको कालोधनको बिषयमा छानबिनकै कारण बजार घटाउने, क्र्यासको अवस्थामा पुर्याई लगानीकर्तामा त्रास उत्पन्न गराउने र नियोजित रुपमा बोर्डले गठन गरेको अध्ययन समिति खारेज गर्ने खेल भएको देखिन्छ ।’

सम्पत्ति शुद्धीकरणजस्तो संवेदनशील बिषयलाई अझ प्रभावकारी कार्यान्वयनमा ल्याउनुपर्नेमा बल्लतल्ल बनेको अध्ययन समिति पनि खारेजी गरेर लगानीकर्तालाई मल्हम लगाउन खोजेको देखिए पनि यो निर्णयबाट बोर्ड आफैंले कालोधन हुनेहरुलाई खुलेआम स्वागत गरेको प्रष्टिन्छ । 

बोर्डनिकट एक स्रोतका अनुसार नेप्सेमा सूचिकृत अधिकांश कम्पनीहरुले उच्च नाफासहितको वासलात सार्वजनिक गरिरहेको सन्दर्भमा सेयर बजार गुल्जार हुनुपर्ने ठाउँमा घटेपछि यसको भित्री र मुख्य कारण नै यहाँ ठूलो भोल्युममा लगानी भएको कालोधन र यसमा थालिएको छानबिन रहेको बोर्डका अधिकारीहरुको बुझाई रह्यो । ‘यही कारण बोर्डले कालोधनवालाहरुको दवाबमा यस्तो निर्णय गर्यो ।’–बोर्डका एक कर्मचारीले भने ।

सेयर ब्रोकर अञ्जनराज पौड्यालले समेत समिति खारेजीको निर्णय गरिनु बोर्डको गल्ती भएको औंल्याए । ‘छानबिनको कुराले बजारमा त्रास उत्पन्न गराएको थियो, तर सबै लगानीकर्ताको लगानी त्यस्तो छैन भन्ने बिषयमा आश्वस्त पार्न सकेको भए समिति खारेज गर्नुपर्ने आवश्यकता हुन्थेन  ।’ उनले थपे–‘आगामी दिनमा कालोधन पूँजीबजारमा भित्रियो भने त्यसलाई रोक्ने जिम्मेवारी बोर्डको हुने कि नहुने ?’ उनले बजार ऐतिहासिक अंकका साथ घट्दा अत्तालिएर बोर्डका अधिकारीहरुले आत्मघाती निर्णय गरेका दाबी समेत गरे ।