काठमाण्डौ। नेपाल उद्योग वाणिज्य महासंघले आज निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ।

आज प्रकाशित सूचनामा उल्लेखित कार्यतालिकाअनुसार आगामी मंसिर ११ र १२ गते ५४ औँ वार्षिक साधारणसभाको मिति तोकिएको छ। साधारणसभाको अन्तिम दिन मंसिर १२ गते निर्वाचन हुनेछ।

कार्यतालिका अनुसार महासंघको कार्यालय टेकु, कार्की व्याङकेट बबरमहल र प्रज्ञा प्रतिष्ठान कमलादीमा निर्वाचनका कार्यक्रमहरू गरिने भएको छ। कोरोना महामारीका कारण सरकारले तोकेको स्वास्थ्य मापदण्डलाई ध्यानमा राखेर भिन्दाभिन्दै ठाउँमा निर्वाचनका कार्यक्रम तय गरिएको महासंघले जनाएको छ।

उम्मेदवारहरुको मनोनयनपत्र बुधबारदेखि नै दाखिला गर्न सकिनेछ। दाखिला भएको मनोनयनपत्रका आधारमा उम्मेदवारहरुको पहिलो नामावली मंसिर ४ गते साँझ ६ बजे प्रकाशित हुनेछ। उम्मेदवारहरुका विरुद्धमा परेका दाबी–विरोधको छिनोफानोपछि अन्तिम नामावली मंसिर ८ गते प्रकाशन हुने सूचनामा भनिएको छ।

गत वर्ष चैतमै हुनुपर्ने निर्वाचन कोरोना महामारीका कारण रोकिएको थियो।