एक समयको कुरा हो। एकजना तालुखुइले व्यापारी थियो। एकपटक ऊ आफ्नो गोरु चराउन हिँड्दै थियो। अचानक ४० चोर आएर उसको गोरु लुटेर लगे। उसलाई ती चोरको ठाउँ–ठेगाना थाहा थियो। अर्को दिन आफ्नो गधा लिएर चोरकहाँ पुग्यो र भन्यो ‘मेरो गधाले त गोबरको सट्टा एक हजार असर्फी दिन्छ।’

चोरहरुले ऊमाथि विश्वास गरे। त्यसपछि तालुखुइले व्यापारी आफ्नो लुटिएको गोरु र चोरहरुबाट एक हजार असर्फी लिएर फर्कियो। 

उक्त गधालाई चोरहरुले आफ्नाो सरदारकहाँ लगे। अनि गद्दाको असाधारण क्षमता सुनेपछि सरदारले २४ घन्टा गधालाई खुवाइरह्यो तर गधाले गोबरैगोबर गरेर फोहोर गरिदियो। असर्फी भएन। 

सरदारले आफूलाई धोका भएको थाहा पायो तर ती चोरहरुलाई थाहा नदिन सरदारले गधाले २ हजार असर्फी दिएको सुनायो। बाँकी चोरहरुले पनि तँछाडमछाड गर्दै गधालाई खुवाउन थाले तर पछि उनीहरुले पनि आफूहरु तालुखुइले व्यापारीले मूर्ख बनाएको थाहा पाए। 

त्यसपछि ती ४० चोरले तालुखुइले व्यापारीलाई मार्ने योजना बनाए। तालुखुइलेले ती चोरहरुको योजना पहिले नै थाहा पायो तर ऊ आत्तिएन। उसले एउटा भेँडो काट्यो र त्यसको रगत खारमा भरेर पत्नीको गलामा बाँधेर भन्यो, ‘चोरहरु आउने छन्, मैले जे भन्छु त्यसको उल्टो गर्नु ! तरबार निकालेर हान्दा मरेको अभिनय गर्नु, लाठीले हान्छु उठेर काम गरेको अभिनय गर्नु !’

चोरहरु तालुखुइले व्यापारीकोमा पुगे। आक्रोशित हुँदै उनीहरुले भने, ‘सरदारले थर्कायो, तैँले हामीलाई धोका दिइस्, अब छाड्दैनौँ।’

तर तालुखुइले व्यापारीले ती चोरहरुलाई पाहुना मानेर पत्नीलाई भन्यो, ‘चुलोमा आगो फुक त !’

पत्नीले तुरुन्तै अँगेनोमा पानी हालेर निभाई। तालुखुइले व्यापारी रिसायो र पिताको पुरानो तरबार निकाल्यो अनि पत्नीको घाँटीमा हान्यो। रगताम्य भएर छट्पटाउँदै मरेको अभिनय गरी। फेरि उसले लाठी ल्याएर पिट्न थाल्यो अनि ऊ फेरि उठेर काम गर्न थाली। यो दृश्य देखेर चोरहरु छक परे। उनीहरुलाई लाग्यो यो लाठीमा केही जादु छ। ती चोरहरु लाठी लुटेर भागे।

ती चोरहरुले घर पुगेर भटाभट पहिला आफ्ना पत्नीहरुलाई मारे र लाठीले पिट्न थाले तर लास उठेन। चोरहरु निकै रिसाए। अनि अब बदला नलिई नछाड्ने संकल्प गरे। 

चोरमाथि चण्डाल तालुखइलेले अर्को चाल रच्यो र आमालाई भन्यो, ‘आज चोरहरु आउने छन्, त्योभन्दा पहिले मलाई चिहानमा जिउँदै गाडिदिनुहास् !’

उसले भनेअनुसार सानो प्वाल छोडेर गाडिदिएर घरमा शोक परेको अभिनय गरे। यसपालि चोरले विश्वास गरेनन र चिहानमै पुगे तर धुँवा नै आएको देखेपछि विश्वास गरे र भने, ‘यो धोकेबाजलाई बल्ल फल प्राप्ति भयो।’

जब धुँवा आउन बन्द भयो तब ती सबै चोरले प्वालबाट हेरेका के थिए भित्रबाट तालुखुइले व्यापारीले खुर्सानीको धुलो आँखामा फालिदियो। चोरका सरदारले भन्यो, ‘यो धोकेबाज त जिउँदै छ ! चिहान खन, यसलाई त बोरामा हालेर खोलामै फाल्नुपर्छ !’

त्यसपछि तालुखुइले व्यापारीलाई मरणासन्न हुने गरी कुटपिट गरी ती चोरहरुले बोरामा हालेर खोलामा फाल्न हिँडे। बाटोमा एकहुल रंगिन पुतलीको झुन्ड देखियो। चोरहरु त्यो पुतली समात्नतिर लागे। तालुखुइले व्यापारीले बोराको छिद्राबाट एउटा सुनको लोटा लिएर आउँदै गरेको अर्को व्यापारीलाई देख्यो र भन्यो, ‘मलाई यो सहरको खान (राजा) बन्नु छैन, सेनाको नायक बन्नु छैन !’

त्यसपछि अर्को व्यापारीले सोध्यो, ‘तिमी को हो ? किन बोरामा पसेको ?’

तालुखुइले व्यापारीले आफू राजा बन्न नचाहँदा यस्तो भएको सुनायो। त्यसपछि अर्को व्यापारीले राजा बन्ने लोभ गरेर बोराभित्र पस्न राजी भयो। तालुखुइले व्यापारी सुनको लोटा लिएर भाग्यो। 

एकछिनपछि चोरहरु आए। उसले म राजा बन्न चाहन्छु भन्दै कराएको के थियो उनीहरुले फेरि निर्घात कुटपिट गरी बोरा लगेर खोलामा फालिदिए। अनि चोरहरु ‘अब त बल्ल मर्यो’ भन्दै फर्किए। 

केही दिनपछि चोरहरु चोरेर कतैबाट फर्किंदै थिए। उनीहरुले आफूहरुले फालेको भनेको मान्छे त सुनको लोटा लिएर बाटोमा जिउँदै देखे ! उनीहरु डरले काप्दै तालुखुइले व्यापारीकहाँ पुग्दै भने, ‘हामीले त खोलामा फालेको, फेरि यहाँ कसरी ?’

तालुखुइले व्यापारीले हास्दै भन्यो, ‘त्यो नदीमा त सुनका लोटा कति छन् कति, मैले त एउटामात्रै लिएर आएँ।’

चोरहरुमा फेरि लोभ पलायो तर तालुखुइले व्यापारीले भनेको ठाउँमा गएर पहिला सरदार हाम फाल्यो अनि डुब्न थालेपछि उसले हात के ठड्याएको थियो, अरुले बोलाएको सम्झेर सबै चोरहरु खोलामा हाम फाले र सबै चोर मरे। 

त्यसपछि गाउँमा तालुखुइले व्यापारीको ठूलो चर्चा लामो समयसम्म भयो र उसलाई नै ‘चालीस चोर’ को उपाधि दिइयो।

सेयर लगानीकार्तालाई मिल्ला कस्तो शिक्षा ?

कथामा पात्रहरु जो र जस्ता भए पनि यसको सार के हो भने अरुले भनेको सुनेर लोभिनु सबैभन्दा बढी हानिकारक हुन्छ। सेयर बजारमा आफूले पाएका सूचनालाई पुष्टि हुने आधार के छ, भविष्यमा कम्पनीले कस्तो प्रतिफल देला र विगतको अवस्था कस्तो छ ? 

गधाले असर्फी दिन्छ भने जस्तै यो कम्पनी सुनको अन्डा दिने कम्पनी हो भन्ने बजारमा निकै चर्चा चल्छ, जुन यर्थाथ र झुट दुवै हुन सक्छ। बजारमा हल्लाको पछाडिभन्दा पनि आफ्नो खोज तथा अनुसन्धान आवश्यकता हुन्छ। 

बढ्दो बजारमा साना तथा नयाँ लगानीकर्ताको प्रवेश निकै हुन्छ। यस्तो बेला नराम्रा कम्पनीमा पुँजी लगाइयो भने लामो समय फस्न पनि सक्छ। त्यसैले सोचेर अनि अध्ययन गरेरमात्र लगानी गर्नुपर्छ।