काठमाण्डौ । सारा विश्व यतिबेला पेट्रोल र डिजेलभन्दा सस्तो विकल्पका रुपमा इलेक्ट्रिक गाडी हुने भनिरहेका छन्। यद्यपि अमेरिकाको क्यालिफोर्नियास्थित एउटा स्टार्टअप कम्पनी हम्बल मोटर्सले एउटा उत्तम विकल्प पेस गरेको छ। कम्पनीले सौर्य ऊर्जाबाट इलेक्ट्रिक कारको कन्सेप्ट सार्वजनिक गरेको छ।

डिजाइन र बडी टाइपको हिसाबले विश्वकै पहिलो सौर्य ऊर्जाबाट चल्ने यो उत्कृष्ट एसयूभी हुने भन्न थालिएको छ। कम्पनीको दाबी छ कि यो कारमा जडित ब्याट्री सूर्यको किरणबाट चार्ज हुनेछ र उत्कृष्ट माइलेज दिनेछ।

यो कारको डिजाइन क्रसओभर मोडलजस्तो देखिन्छ । यसको छत र विन्डोमा कुल ८० वर्गफिटको सोलार प्यानल लगाइएको छ। जसले सूर्यको किरणलाई कारमा जडित ब्याट्रीलाई चार्ज गर्छ । यो कार सौर्य ऊर्जाबाट हुने चार्जिङबाट करिब ९६ किलोमिटरसम्म चल्ने बताइएको छ। 

यो कारको कुल वजन १ हजार ८१४ किलोग्राम हुने कम्पनीले जनाएको छ। जुन टेस्ला मोडल एसको तुलनामा करिब ३४८ किलोग्राम कम हो। यो कारको पिकअप पनि टेस्ला कारको तुलनामा निकै राम्रो रहेको बताइएको छ।

हम्बल मोटर्सद्वारा निर्मित यो कारमा ५ जना बस्न सक्ने व्यवस्था गरिएको छ। यसको लम्बाइ १९८ इन्च छ। यो कारले केवल २.५ सेकेन्डमै शून्यदेखि १०० किलोमिटर प्रतिघन्टाको रफ्तार समात्न सक्षम रहेको कम्पनीले दाबी गरेको छ।

अटो एक्सपर्टका अनुसार यो कार अन्य कारको तुलनामा निकै सस्तो हुनेछ। उनीहरु यो कारको सुरुआती मूल्य १ लाख ९ हजार अमेरिकी डलरको आसपास हुने अनुमान गर्छन्। 

यो कारलाई बजारमा सन् २०२४ सम्म ल्याइने कम्पनीले जनाएको छ। – एजेन्सी