-भक्तराज रसाइली 
काठमाण्डौ । स्टक ब्रोकरहरुले अनलाइन कारोबार प्रणालीमा बैंक इण्टीग्रेसनको जिम्मेवारी सेबोन र नेप्सेको रहेको आरोप लगाएका छन्।

स्टक ब्रोकर्स एसोसिएसनका अध्यक्ष भरत रानाभाटले नेप्सेको अनलाइन कारोबार प्रणालीमा बैंक इण्टीग्रेसन गर्ने जिम्मेवार निकाय धितोपत्र बोर्ड र नेप्से नै रहेको जिकिर गरेका  हुन् । 

हाल नेप्सेको सिस्टममा एनसीएचएल र क्लियरिङ बैंकमार्फत नै लगानीकर्ताले पैसा पठाउन मिलिरहेकाले बाँकी बैंकहरुको इण्टीग्रेसनको जिम्मा भने सेबोन र नेप्सेकै रहेको उनको ठहर छ ।

हालसम्म नेप्सेले एपीआइ नदिएकाले ब्रोकरहरुले आफ्नो छुट्टै टीएमएस बनाउन समेत नपाइरहेको रानाभाटको आरोप छ । 

‘एपीआइ नपाएकाले टीएमएस बनाउने कार्य अघि बढेको छैन । तर हामी अर्को हिसाबले अघि बढेका छौं।’अध्यक्ष रानभाटले बिजशालासँग भने–‘हामी सबै ५० वटै ब्रोकर कम्पनी मिलेर कम्पनी खडा गरी अन्तराष्ट्रिय स्तरको टीएमएस ल्याउने पहल भइरहेको छ ।’ 

डेटा सेन्टर पनि नेप्सेकै मापदण्ड अनुसार नै रहेको उनको दाबी छ ।

नेप्सेका सीइओ चन्द्रसिंह साउदले बैंक इण्टीग्रेसनको पाटो अब ब्रोकरको नै रहेको जानकारी दिए । ‘हामीले एनसीएचएल र क्लियरिङ्ग बैंकलाई नेप्सेले बनाइदिएको टीएमएसमा आवद्ध गराइसकेका छौं ।’ अब ब्रोकरहरुले आफ्नै अधिक भार क्षमता वहन गर्ने डेटा सेन्टर र नेप्सेले तोकेको मापदण्डअनुसार टीएमएस बनाउन निर्देशन दिइसकेको उनले बताए । ‘हामीले एपीआई दिन्नौं भनेका छैनौं।’उनले भने–‘नेप्सेले तोकेको मापदण्डमा आधारित ब्रोकरले टीएमएस बनाएको खण्डमा जुनसुकै बखत एपीआइ दिन्छौं ।’

दुई वर्षअघि नेप्सेले अनलाइन कारोबार प्रणाली लञ्च गर्दा नै ब्रोकरलाई आफ्नै टीएमएस र डेटा सेन्टर बनाउन निर्देशन दिइएको नेप्सेका एक उच्च अधिकारीले खुलासा गरे । तत्कालीन बेला डेटा सेन्टर र टीएमएस बनाउन २ करोड रुपैयाँ हाराहारी एउटै ब्रोकरले लगानी गर्नुपर्ने भएको हुँदा विभिन्न वहानाबाजी गर्दै नेप्सेतर्फ दोष दिँदै उम्किएको स्रोतको जिकिर छ । 

पछिल्लो समयमा पनि स्टक ब्रोकरहरुले आईटी रिसोर्समा लगानी गर्न लोभ गर्दा टीएमएसमा अधिक भार परेका कारण लगानीकर्ताहरुले समयमा नै सेयर किनबेच गर्ने अवसर गुमाइरहेका छन् । नेप्सेको पछिल्लो तथ्याङ्कअनुसार करिब ६० हजार लगइन ब्रोकरले बाँडेको र बजार विस्तारै बढ्दै जाँदा कारोबार हाबी हुने हो भने हालको रिसोर्स पुनः दुर्घटनाउन्मुख रहेको आइटी जानकारहरु बताउँछन् । 

आइटी रिसोर्समा स्टक ब्रोकरहरुले कन्जुस्याईँ र आनाकानी गरिरहेकाले सम्पूर्ण बैंक तथा वित्तीय संस्थालाई ब्रोकरको टीएमएसमा आवद्ध गर्ने धितोपत्र बोर्डको निर्देशनसमेत बालुवामा पानी हालेसरह भएको बोर्डस्थित एक अधिकारीले बताए ।

‘हाल नेप्सेले नै बनाइदिएको टीएमएस ब्रोकरहरुले निःशुल्क प्रयोग गर्दै आइरहेका छन् । आफ्नै टीएमएस बनाएर बैंक तथा वित्तीय संस्थालाई आवद्ध गराई लगानीकर्ताहरुलाई सहज र भरपर्दो सेवा दिनुका साटो नियामकलाई नै जिम्मेवारी थोपरी मध्यस्थकर्ताको भूमिकाका बारेमा जानाजान पन्छिरहेका छन् ।’ स्रोत भन्छ ।

आइटी रिसोर्समा लगानी गर्दा ब्रोकर कम्पनीलाई थप व्ययभार पर्ने भएकाले समेत आइटीमा लगानी गर्न नसकिने ब्रोकरहरु हाकाहाकी बताउँछन् । 
उता नियामक निकायले समेत ३–४ पटक निर्देशन दिँदासमेत अटेरी गर्ने ब्रोकरलाई निर्देशन पालना गराउन कडा कदम चाल्न नसक्दा अवस्था जस्ताको तस्तै रहेको छ ।