काठमाण्डौ । नवील बैंकसँग मर्जमा जान खोजे पनि सेयर स्वाप अनुपात र संचालक समितिमा प्रतिनिधित्वको विषयमा कुरा नमिलेपछि पछाडि हटेको यूनाइटेड फाइनान्सका लगानीकर्ताको यसपटक खालि हात भएको छ । 

राम्रै प्रतिफलको आशामा यो कम्पनीको सेयरमा लगानी गरेकाहरु कम्पनीको तर्फबाट यो वर्ष कुनै लाभांश नदिने निर्णयका कारण निराश देखिए ।

कम्पनीको संचालक समितिको मंसिर २४ गते बसेको बैठकले गत आर्थिक वर्षको सञ्चित नाफाबाट कुनै लाभांश वितरण नगर्ने निर्णय गरेको थियो । 
के कारणले यस्तो भएको होला ? के यूनाइटेड फाइनान्स लाभांश वितरण गर्नै नसक्ने अवस्थामा पुगेको हो ?

फाइनान्सका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले कम्पनीको अवस्था बिग्रिएका कारण लाभांश वितरण नगर्ने निर्णय नभएको प्रष्ट पार्दै भनेका छन्-'हामीले आगामी दिनमा कम्पनीलाई अझ मजबुत बनाउन यो निर्णय लिएका हौं । कम्पनीको वित्तीय अवस्था कमजोर भएको होइन ।' 

गत वर्ष यूनाइटेड फाइनान्सले १० करोड १४ लाख खूद नाफा आर्जन गरेको थियो भने ८ करोड ५२ लाख वितरणयोग्य मुनाफा थियो । कम्पनीको चुक्तापूँजी ८७ करोड हाराहारीमा रहेको छ । कम्पनीले चाहँदा ९ प्रतिशत हाराहारीमा लाभांश घोषणा गर्न सक्थ्यो । तर, अवस्था राम्रो हुँदा हुँदै पनि किन लाभांश घोषणा भए न त ? 

कम्पनीका सीइओ मिश्र अझ प्रष्ट पार्दै भन्छन्-'विश्वभर कोरोनाको महामारी देखिएको बेला कम्पनीले आफ्नो अवस्था झनै मजबुत बनाएर अगाडि बढ्नुपर्छ भन्ने मान्यताले गर्दा राम्रै मुनाफा भए पनि लाभांश वितरण नगर्ने निर्णय भएको हो । विषम अवस्थामा पहिला कम्पनीलाई बलियो बनाउनेतर्फ हाम्रो ध्यान गएको हो । यो निर्णयका कारण अवस्था सामान्य भएपछि सेयरधनीलाई नै फाइदा हुने हो ।'