काठमाण्डौ । तेश्रो त्रैमाससम्म उद्योगकै सबैभन्दा बढी खूद र वितरणयोग्य मुनाफा आर्जन गरी सेयरधनीलाई फेरि पनि उत्साहित बनाएको नवील बैंकले शुक्रबार यूनाइटेड फाइनान्ससँग प्राप्तिको सम्झौता गरेको छ । 

यूनाइटेड फाइनान्ससँगै अन्य बैंकलाई समेत प्राप्तिको सम्झौता गराउन खोजेको हल्लाका बीच एउटा मात्र संस्थासँग एमओयू भएपछि धेरैको मनमा प्रश्न उठेको छ–नवील बैंकले यसरी आफ्नै प्रमोटरहरुको क्रसहोल्डिङ रहेको संस्थासँग मात्र एमओयू किन गरेको हो ? के अन्य बैंकसँग जारी मर्जरका छलफल तथा थालिएका प्रयासहरु असफल भएका हुन् ? 

नवील बैंक र यूनाइटेड फाइनान्समा ठूलो लगानी रहेको चौधरी ग्रुप निकट स्रोतकाअनुसार नवील बैंक अन्य बैंकहरुलाई प्राप्तिमा ल्याउने प्रयासबाट पछाडि हटेको होइन । बरु, विभिन्न प्रस्तावहरु अगाडि सारेर नवीलले चाहेजस्तो प्राप्तिको एमओयू गर्न विलम्ब गरिरहेका बैंकका संचालकहरुलाई दवाब दिने र केही छुटका सुविधाहरुको उपयोग गर्ने उद्देश्यले नवीलले यूनाइटेड फाइनान्ससँग मर्जर सम्झौता गरेको हो । 

उच्च स्रोतकाअनुसार नवील बैंकले अहिले पनि नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) र नेपाल बंगलादेश बैंक(एनबीबी)लाई प्राप्तिका लागि कोशिश गरिरहेको छ । यी दुवै संस्थाका संचालकसँग नवीलमा ठूलो लगानी रहेको चौधरी ग्रुपका सीमित आधिकारिक प्रतिनिधिहरुले लगातार छलफल र वार्ता गरिरहेका छन् । 

‘हिजोसम्म यूनाइटेड फाइनान्ससँगै एनसीसी बैंकसँग पनि एमओयू गर्ने तयारी भन्ने खबर आएको थियो ।’ उच्च स्रोतले भन्यो–‘तर आज यूनाइटेड फाइनान्ससँग मात्र सम्झौता गरियो । नवीलको केही फरक रणनीति हुनसक्छ ।’ 

नवीलले एनसीसी बैंकलाई पनि यूनाइटेडलाई जति नै अर्थात रु. ३५ रुपैयाँ मूल्य दिइसकेको छ । फाइनान्स कम्पनीलाई नै ३५ रुपैयाँ दिएको अवस्थामा नवीलले ३८ रुपैयाँसम्म दिनुपर्ने एनसीसीका केही संचालकहरुको मागले आजै हुनुपर्ने एमओयू केही दिनका लागि पर सरेको हुनसक्ने स्रोत बताउँछ । ‘तर २/३ दिनमै अर्को कुनै बैंकसँग एमओयू हुनसक्ने संभावना उच्च देखिन्छ ।’ स्रोतले भन्यो ।

स्रोतकाअनुसार नवीलले एनबीबीसँगको छलफल र वार्तालाई समेत निरन्तरता दिइरहेको छ । ‘सायद एनबीबी र एनसीसीलाई नै दवाब दिने उद्देश्यले समेत यूनाइटेडसँग प्राप्तिको सम्झौता गरिएको हुनसक्छ ।’ स्रोतले अगाडि भन्यो–‘आजको मितिसम्मको अवस्था हेर्दा नवीलमा बिलय हुन लागेको अन्य बैंकमा एनसीसी र एनबीबी नै हुन्।’ 

नवीलको मर्जरका कमिटीका एक सदस्यमार्फत यसअघि गरिमा विकास बैंकसँग पनि प्राप्तिको विषयमा कुराकानी अगाडि बढाइएको थियो । तर, गरिमाले ४० रुपैयाँदेखि थोरै मूल्यमा नजाने बताएपछि नवील पछाडि हटेको थियो । गरिमालाई छाडेर बरु दुईवटै वाणिज्य बैंकलाई प्राप्ति गर्दा अझ राम्रो हुने निश्कर्षमा नवीलका प्रमोटरहरु पुगेका स्रोत दाबी गर्छ । 

नवीलले क्रसहोल्डिङ रहेको र मर्जरपछि गर्नुपर्ने कतिपय काम समेत पहिला नै भइसकेका कारण यूनाइटेड फाइनान्सलाई अहिले नै प्राप्तिको सम्झौता गर्नु पछाडि नवीलको स्वार्थ ट्याक्स बेनिफिट रहेको स्रोत बताउँछ । ‘यूनाइटेडसँग प्राप्तिको सम्झौता गरी यो आर्थिक वर्षभित्रै एकीकृत कारोबार गर्न सकिन्छ, त्यसो हुँदा नवीलले विभिन्न खालका ट्याक्स बेनिफिट र मौद्रिक नीतिमै भएका छुटको सुविधा उपयोग गर्न पाउँछ। भोलिका दिनमा अरु बैंकसँग कुरा मिलेन भने पनि चालु आर्थिक वर्षमा ट्याक्स लगायतका बेनिफिट पाउन यसो गरिएको हो ।’ नवीलस्थित उच्च स्रोतले भन्यो–‘यूनाइटेडपछि अन्य बैंकसँग पनि एमओयू हुन्छ, तर ती बैंकलाई गाभेर एकीकृत कारोबार असारभित्र गर्न सकिन्न । अर्को आर्थिक वर्षभित्र एकीकृत कारोबार सुरु गर्दा अर्को वर्ष पनि ट्याक्स बेनिफिट लगायतका सुविधा पाइन्छ ।’

राष्ट्रबैंकले मौद्रिक नीतिमार्फत नै आपसमा गाभ्ने गाभिने संस्थाहरुलाई विभिन्न छुटका सुविधा उपलब्ध गराउने घोषणा गरेको छ । २०७८ असारसम्ममा बाणिज्य बैंकहरुले एक आपसमा गाभ्ने/गाभिने नीतिगत व्यवस्था अनुरुप संयुक्त कारोबार सञ्चालन गरेमा संयुक्त कारोबार शुरु गरेको मितिबाट २०७९ असारसम्मका लागि मौद्रिक नीतिले थुप्रै सुविधाहरुको ग्यारेण्टी गरिदिएको छ । जस्तो, अनिवार्य नगद अनुपातमा ०.५ प्रतिशत र वैधानिक तरलता अनुपातमा १ प्रतिशत बिन्दुले छुट दिइने, राष्ट्रबैंकबाट तोकिएको संस्थागत मुद्दती निक्षेप संकलन सीमामा १० प्रतिशत विन्दुले थप गरिने, राष्ट्रबैंकबाट तोकिएको प्रति संस्था निक्षेप संकलन सीमामा ५ प्रतिशत विन्दुले थप गरिने, सञ्चालक समितिका सदस्य र उच्च पदस्थ कर्मचारी पदबाट हटेको कम्तीमा ६ महिना व्यतीत नभई यस बैकबाट इजाजत प्राप्त अन्य संस्थामा आवद्ध हुन नपाउने विद्यमान प्रावधान लागू नहुने, साथै, संस्थागत निक्षेपकर्ताहरुले राख्ने बैंकअनुसारको निक्षेपको सीमा समायोजन गर्न सम्बन्धित संस्थाहरुसँग समन्वय गरिने लगायतका सुविधा उपलब्ध छन् । डेभिडेन्ड र क्यापिटल गेन ट्याक्स बेनिफिटहरु समेत प्राप्त हुन्छ ।