– अर्जुन तिमिल्सिना

काठमाण्डौ । केही दिनदेखि सेयर बजारमा सामान्य उतारचढावमात्रै देखिएको छ। कारोबार र भोलुम दुवै मजबुत नै छन्। 

प्राविधिक रुपमा भन्नुपर्दा बजारमा ठूलो उतारचढावको कुनै संकेत देखिन्न। बजार लामो समय बढेकोले सामान्य साइडवेज तथा करेक्सनको सम्भावना सधैँ रहेको देखिन्छ। 

हाल लगानीकर्ता बजारबाट बाहिरिसकेको अवस्था नरहेको र सेक्टरवाइज कारोबार गरिरहेकोले पनि बजारको अवस्था सामान्य नै रहेको पाइन्छ। आज हामीले बजारलाई विभिन्न प्राविधिक औजारमार्फत केलाउने कोसिस गरेका छौँ।

मैनबत्ती विश्लेषणका आधारमा 

मैनबत्ती विश्लेषणअन्तर्गत गत ४ दिनको कारोबारमा राता र छोटा क्यान्डल बनेका छन् (हेर्नुहोस् कोठाभित्र)। यसले घट्दो बजारलाई संकेत गर्छ। यसमा पनि पहिलो क्यान्डल इन्भर्टेड ह्याम्मर बन्यो। फलस्वरुप आजसम्म बजार बढेन अर्थात छोटा–छोटा राता क्यान्डलको निर्माण गरेको छ। यी क्यान्डलहरुको फर्मेसनलाई केलाउँदा यिनीहरु विस्तारै छोटा–छोटा बन्दै गएको र आजको क्यान्डल केही तल लामोजस्तो देखिएकोले आगामी कुनै पनि दिन हरियो मारुबुजुसहितको लामो ठूलो क्यान्डल बन्ने सम्भावना पनि देखिन्छ।

इलिअट वेभका आधारमा 

यो सिद्धान्तमा ५ वेभ र ९ डिग्री हुन्छन्। त्यस्ता डिग्रीहरुले सानाठूला गरेर १ दिनदेखि १०० वर्षसम्मको समय अवधिलाई प्रतिनिधित्व गर्छन्। इलिअट वेभमा बजार माथि जान ५ फरक–फरक वेभ हुन्छन् भने तल जान ३ वेभ हुन्छन्। माथि लाग्ने ५ वेभमा पनि ३ वटा चढावका र २ वटा सुधारका देख्न सकिन्छ। यसमा १, ३, ५ चढावका हुन्छन् भने २ र ४ मा करेक्सनका हुन्छन्। वेभ ५ को करेक्सन वेभ ए हो। वेभ ए, बी र सीले बजार तल जाने संकेत गर्छन्। सन् २०१९ नोभेम्बर महिनादेखि हालसम्मको बजारले बनाएको रोखाचित्रलाई आधार मानेर  इलिअट  वेभलाई विश्लेषण गर्ने हो भने हाल इन्टरमिडियट डिग्रीअन्तर्गत वेभ (५) तथा माइनर डिग्रीअन्तर्गत पनि वेभ ५ नै चल्दै गरेको अनुमान लगाउन सकिन्छ। सन् २०१९ को नोभेम्बरमा बजारले ११०० को विन्दुमा आधार बनाएको थियो। जसलाई इन्टरमिडियट डिग्रीको वेभ (१) मान्ने हो भने यसको एक्सटेन्सन लगभग १७०० सम्म अर्थात ६०० अंकले बढेको छ।

इलिअट वेभको एउटा मान्यता के हो भने वेभ (१) बराबर वा सोभन्दा बढी सोही डिग्रीको वेभ (५) हुन्छ र वेभ (३) सबैभन्दा लामो र ठूलो हुन्छ। वेभ (४) कहिल्यै पनि वेभ (१) को क्षेत्रमा आउँदैन र यदि आयो भने पुनः जिरो मानेर वेभको  गणना सुरु गरिनुपर्छ भन्ने हो। यहाँनेर अझ सरल भाषामा भन्नुपर्दा वेभ (१) बराबर वा सोभन्दा बढीले वेभ (५) को वृद्धि हुनुपर्छ। अब यहाँ बुझ्नुपर्ने विषय के भने वेभ (१) लगभग ६०० अंक बढेर करेक्सन आएकोले अब वेभ (५) २४०० बाट सुरु हुने हुनाले अब कम्तीमा ३००० माथि नै इन्टरमिडियट डिग्रीको वेभ (५) रहन्छ भन्ने पहिलो आधार हो र अर्को आधार यदि वेभ (४) बाट फिवोनासी लिने हो भने यसको २.६१ प्रतिशतको वृद्धि ३२०० भन्दा माथि नै रहने हुनाले सेयर बजारमा प्राविधिक रुपले पनि अझै केही अंकको गन्तव्य बाँकी छ भन्न सकिन्छ। यसबीचमा सानोठुला सामान्य करेक्सनको सम्भवना सधैँ नै रहन्छ।(हेर्नुहोस् माथि मुख्य तस्बिर) 

फिवोनासी सिद्धान्तका आधारमा 

फिवोनासी एक्सटेन्सन एउटा यस्तो टुल हो, जसले एकपल्ट बढेपछि बजार घट्दा कतिसम्म तल आउन सक्छ र कति–कतिमा टेवा लिन्छ भन्ने विषय अनुपातका आधारमा संकेत गरेको हुन्छ। बढ्दा पनि कति–कति प्रतिशतमा प्रतिरोध गरेको हुन्छ भन्ने यी अनुपातबाट अनुमान लगाउन सकिन्छ। यस्ता अनुपातलाई फिवोनासी गोल्डेन अनुपातहरु पनि भनिन्छ। ती अनुपातहरु २३.६, ३८.२, ५०, ६१.८ र १०० प्रतिशत हुन्। यो सिद्धान्तअनुसार यदि बजार घटेमा ०.२३ प्रतिशतको टेवामा ३०६० को विन्दुसम्म, ०.३८ प्रतिशतको टेवामा ३०१० को विन्दुसम्म तथा ०.५ प्रतिशतको टेवामा २९७० को विन्दुसम्म र ०.६१ प्रतिशतको टेवामा २९२१ को विन्दुसम्म बजार आउन सक्ने देखिन्छ। (जुन तस्बिरमा हेर्न सकिन्छ)

एमएसीडी लाइनका आधारमा

एमएसीडी लाइन भनेको सेयर अर्थात बजार परिसूचकको अन्तिम मूल्यको २६ दिन र १२ दिनको एक्सपोनियल मुभिङ एभरेज हो। यसमा एमएसीडी लाइन र सिग्नल लाइन गरी दुई लाइन हुन्छन्। यदि एमएसीडी लाइनले सिग्नल लाइनलाई तलबाट काट्छ भने बुलिस क्रस ओभर र माथिबाट काट्छ भने बियरिस क्रस ओभर हुन्छ। यो लाइनअन्तर्गत भन्नुपर्दा एमएसीडी लाइनले सिग्नल लाइनलाई माथिबाट काट्न थालेको जस्तो देखिन्छ(हेर्नुहोस् रातो एरो)। हिस्टोग्राम सकारात्मक र क्रमशः छोटा–छोटा बन्दै गएका छन्। यो आधारमा बजारमा बिक्रीचाप परेको अनुमान लगाउन सकिन्छ।

बोलिंगर ब्यान्डका आधारमा

यसमा ३ वटा ट्रेन्ड लाइन हुन्छन्। पहिलो (बीचको) सामान्य चलायमान औसत रेखा, दोस्रो अप्पर ब्यान्ड र तेस्रो लोअर ब्यान्ड। यो ब्यान्डको सामान्य नियम भनेको मूल्य माथिल्लो र तल्लो ब्यान्डमा सीमित हुन्छ भन्ने हो। अर्थात् अझ सरल भाषामा भन्नुपर्दा जब मूल्य रेखाले माथिल्लो रेखालाई छुन्छ तब बजारमा करेक्सन हुन्छ र जब तल्लो रेखालाई छुन्छ तब बजार स्वाभाविक रुपमा फेरि माथितिर जान थाल्छ भन्ने हो। बजारलाई बोलिंगर ब्यान्डअन्तर्गत हेर्दा मूल्यरेखाले केही समय पहिला अपर ब्यान्डलाई छोएर तल झरेको छ। यसले बजार केही समय साइडवेज चल्ने हो किजस्तो पनि देखिन्छ। यसको कन्फरमेसनको लागि आगामी दिनमा के–कस्ता क्याडल स्टिक बन्छन्, त्यो निकै महत्वपूर्ण हुन्छ।

आरएसआईका आधारमा 

आरएसआई विन्दुअन्तर्गत १४ दिनको मूल्यलाई आधार मानेर भविष्यमा हुने मूल्य परिर्वतनको भविष्यवाणी गरिन्छ। यसमा ५० को जोनलाई सेन्ट्रल जोन, ३० भन्दा तल ओभर सोल्ड जोन र ७० भन्दा माथिलाई ओभर बट जोन भनेर छुट्याइन्छ। यसअन्तर्गत हालको बजारको आरएसआई ७० रहेको छ। जसको अर्थ हुन्छ ओभर बट जोनमा छ र अघिल्लो पल्ट यो विन्दु ७८.९७ को तहमा पुगेपछि करेक्सन आएको थियो। बजारको न्यून आरएसआई ३७.८२ मा आउँदा अघिल्लोपल्ट बजारमा बुलिस यात्रा तय भएको थियो। हाल बजार ओभर बट जोनमा रहेकोले केही समय पर्ख र हेरको अवस्थामा पनि रहन सकिन्छ।

नोट : सेयर बजारमा प्राविधिक विश्लेषण विभिन्न औजारमा आधारित अनुमान हो। लगानीकर्ताले लगानी गर्दा आफ्नो जोखिम लिन सक्ने क्षमता र कम्पनीको वित्तीय अवस्था हेरेर लगानी गर्नुपर्छ। यो कुनै कारोबारको सिफारिस भने होइन। कारोबार गर्दा आफ्नो स्वविवेक प्रयोग गरिनुपर्छ।