विगत केही समयदेखि नेपालको पुँजी बजार उत्साहपूर्वक तथा सकारात्मक लयमा अगाडि बढिरहेको अबस्थामा आगामी दिशा कुन हुन सक्छ र कारणहरु के–के हुन सक्छन् भन्ने आमलगानीकर्ता (खास गरी साना तथा नवप्रवेशी) को जिज्ञासालाई केही हदसम्म सम्बोधन गर्न सकियोस् भन्ने उद्देश्यले केही विषयलाई बुँदागत रुपमा  प्रस्ट्याउने कासिस गरेको छु। 

१. प्रविधिमा युगान्तकारी परिवर्तन

नेपालको पुँजी बजारमा खासगरी २०६६ सालदेखि चर्चामा आएको सेयरको अभौतिकीकरणसम्बन्धी प्रक्रिया २०७२/७३ साल हुँदै २०७४/७५ तिर आइपुग्दासम्म प्राथमिक बजारमा प्रविधिको अधिकतम प्रयोग गरी आस्बा त्यसपछि सि–आस्बा प्रणालीमार्फत देश–विदेशमा रहेका लाखौँ लगानीकर्ताले आवेदन दिन सक्ने विधिको विकास भएको छ। त्यसले गर्दा सबै पब्लिक कम्पनीहरुमा आमजनतालाई मालिक बन्ने ढोका खुलेको छ। आजभन्दा करिब डेढ वर्ष अघिदेखि दोस्रो बजारमा कागजी झन्झटको अन्त्य गर्दै डिजिटल माध्यमबाट सेयरको पूर्ण अनलाइन खरिदबिक्री तथा राफसाफ प्रणाली लागू भएसँगै काठमाण्डौको रिङरोडभित्र अझ भन्दा पुतलीसडक आसपासमा सीमित लगानीकर्ताका बीचमा हुने कारोबार सात समुन्द्रपारसम्म विस्तार भएको छ। आफू बसेको जुनसुकै देश वा ठाउँबाट इन्टरनेटको प्रयोग गरी लगानी गर्न पाउने र बिक्री गर्न पाउने जुन अवसर प्राप्त भएको छ यसलाई नेपालको पुँजी बजारको क्षेत्रमा एक युगान्तकारी परिवर्तनको संज्ञा दिने गरिन्छ। यसका लागि सम्बन्धित सरोकारवाला निकायको उच्च मूल्यांकन गरिने नै छ।

२. घट्दो ब्याजदर र सहज तरलताले लगानीकर्ताको मनबोल उच्च हुनु
खासगरी कोरोना भाइरसको विश्वव्यापी महामारीले नेपालमा पनि प्रवेश गरेसँगै सरकारले भाइरसको रोकथाम तथ नियन्त्रणका लागि भन्दै गरेको लकडाउनपछि उत्पन्न परिस्थितिबाट उद्योगधन्दा, कलकारखाना, व्यापारव्यवसाय, पर्यटन उद्योग, शैक्षिक संस्थालगायत सम्पूर्ण क्षेत्र बन्द भएसँगै आर्थिक क्रियाकलाप ठप्पप्रायः भए। लगानीका सम्पूर्ण बाटाहरु बन्द भएसँगै बैंक तथा वित्तीय संस्थामा निक्षेपका रुपमा जम्मा भएको रकम न्यून ब्याजदरमा सेयर धितो कर्जाका रुपमा प्रवाह हुन थाल्यो। जुन आजको दिनमा आइपुग्दासमेत घट्दो प्रवृत्तिमै रहेको र आगामी एक–डेढ वर्षसम्म पनि वृद्धि हुने सम्भावना निकै कम रहेको एक आर्थिक अनुसन्धानले देखाएसँगै पुँजीबजारका आमलगानीकर्तामा देखिएको उच्च मनोबलले गर्दा बजारलाई सकारात्मक लयमा धकेल्ने निश्चितप्रायः छ। किनकि ब्याजदर घट्दा बजार बढ्ने र बढ्दा बजार घट्ने पुँजीबजारको सिद्धान्त नै हो।

३. पुँजीबजार बुलिस चक्रमा प्रवेश गर्नु

विश्वमै पुँजीबजारको सिद्धान्त र सुन्दर पक्ष भनेकै बढ्नु, घट्नु र फेरि बढ्नु नै हो भनिन्छ। त्यही सामान्य नियमलाई अवलम्बन गर्दै सन् २०१६ जुलाई २७ का दिन नेपालको सेयर बजारको परिसूचकले इतिहासमै पहिलोपटक १८८१.४५ को ऐतिहासिक उच्चतम विन्दु चुमेसँगै अर्को दिनदेखि बियरिस चक्रमा प्रवेश गरेको थियो। सो चक्रले निरन्तरको ओरालो यात्रा तय गर्दै सन् २०१९ मार्च ५ को दिनसम्म आइपुग्दा नेप्से परिसूचकले ११०२.६४ को न्यूनतम विन्दुलाई परीक्षण गरी करिब ४१ प्रतिशतभन्दा बढीको बियरिस यात्रा करिब साढे ३ वर्षमा पूरा गरी सोही विन्दुबाट फेरि बुलिस चक्रमा प्रवेश गरेको अनुमान गर्न सकिन्छ। जसको करिब २ वर्षपछि आजको दिनसम्म आइपुग्दा २४७५ अंकभन्दा बढीको ऐतिहासिक तथा रोमाञ्चक यात्रा पार गरिसकेको छ। साथै, सबै परिस्थितिको मूल्यांकन र अध्ययनले बजारको बुलिस यात्रामा धैरै ठूला अंकहरु देख्न सकिने प्रस्ट संकेतहरु देखिएका छन्। जसको ज्वलन्त उदाहरणका रुपमा दैनिक कारोबार रकममा ऐतिहासिक वृद्धि तथा लगानीकर्ताको  गुणात्मक संख्या वृद्धिलाई लिन सकिन्छ।

४. सरकार तथा नियामक निकायको सकारात्मक धारणा

पुँजीबजारको विकास र विस्तार भई आजको अवस्थासम्म आइपुग्दा नीतिगत रुपमा होस् वा प्राविधिक रुपमा होस् सबै पक्षमा तत्कालीन समयमा नियामक निकायको नेतृत्व गरिरहन भएका नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपाल, नेपाल धितोपत्र बोर्डका तत्कालीन अध्यक्ष डा रेवतबहादुर कार्की तथा सीडीएसीका प्रमुख कार्यकारी देवप्रकाश गुप्ताको योगदान अतुलनीय रहेकाले सोको उच्च मूल्यांकन पुँजी बजारमा हुने गरेको छ र गरिनेछ। साथै, पछिल्लो समयसम्म आइपुग्दा सरकार, बिभागीयमन्त्री तथा नियामक निकायका नेतृत्वकर्ताको पुँजीबजार विकासप्रतिको धारण, अभिव्यक्त विचार र काम गराई निकै नै सकारात्मक, लगानीमैत्री र बजारमैत्री भएको विभिन्न सुधारका कामबाट पनि देख्न सकिन्छ।

५. ठूलो संख्यामा संस्थागत तथा व्यक्तिगत लगानीकर्ताको बजार प्रवेश हुनु

सीडीएससीको रेकर्डअनुसार करिब एक वर्षअघि डिम्याट खाता संख्या करिब १७ लाख रहेकोमा अहिले बढेर २७ लाख ६१ हजार ४१२ पुगेको छ। यो ऐतिहासिक वृद्धिले पनि आमलगानीकर्ताको सेयर बजारप्रतिको रुचि र चासो कुन हदसम्म छ भन्ने कुराको पुष्टि गरेको छ। व्यक्तिगत तथा संस्थागत लगानीकर्ताको डिम्याट खाता संख्या वृद्धि (स्टक डिलर, म्युचुअल फन्ड, इन्भेस्टमेन्ट कम्पनी समेत) ले सेयरकोे माग र आपूर्तिमा सन्तुलन ल्याई बजारको दिगो वृद्धिलाई नयाँ उचाइमा पुर्याउने कुरा निश्चित छ।

६. सूचीकृत कम्पनीहरुको वित्तीय अवस्था मजबुत बन्दै जानु र सेयरको आपूर्ति कम हुँदै जानु

पछिल्लो समयमा प्रायः सबै सूचीकृत कम्पनीहरुको खासगरी बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुको वित्तीय अवस्था राष्ट्र बैंक तथा बीमा समितिको प्रत्यक्ष र प्रभावकारी नियमनले गर्दा निकै मजबुत बन्दै गएका कम्पनीहरुद्वारा प्रकाशित वित्तीय विवरणहरुमा देख्न सकिन्छ। साथै, राष्ट्र बैंकको मर्जरसम्बन्धी प्रभावकारी नीतिले गर्दा ठूला र बलिया संस्थाहरुमा साना तथा वित्तीय रुपमा कमजोर संस्थाहरु विलय हँुदै जाने प्रस्ट संकेत देखिएसँगै निश्चित ‘स्वाप रेसियो’ सहित मर्जमा जाँदा संस्था तथा सेयरको संख्या कम हुन गई आपूर्तिमा केही कमी आउनुका साथै एकीकृत संस्थाको पुँजी कोष, व्यवसाय विस्तार ग्राहक संख्या तथा शाखा सञ्जालको हिसाबले थप मजबुत बन्न गई सेयरधनीले अधिक लाभ लिन सकिनेछ।

७. वास्तविक क्षेत्र (रियल सेक्टर) को हिस्सा बढ्दै जानु

कुनै बेला नेपालको पुँजीबजारमा बंैक तथा वित्तीय क्षेत्रको एकाधिकार (करिब ८५ प्रतिशत) रहेको अवस्थामा आजसम्म आइपुग्दा विभिन्न समयमा नेपाल सरकारले बजेट भाषणमार्फत विभिन्न किसिमका सहुलियत दिई वास्तविक क्षेत्र (रियल सेक्टर) लाई पुँजीबजारमा भित्र्याउने नीति लिएबमोजिम जलविद्युत् तथा वास्तवि क्षेत्र (रियल सेक्टर) का निकै बलिया र राम्रा कम्पनीको दोस्रो बजारमा उल्लेख प्रवेश भएको छ। एनसेल तथा वाईवाई चाउचाउजस्ता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा ख्यातिप्राप्त कम्पनीहरु दोस्रो बजार प्रवेशको तयारीले पनि धितोपत्र बजार थप परिपक्व र नाफामूलक हुने विश्वास गर्न सकिन्छ।

८. लगानीकर्ता संगठन, आमलगानीकर्ता तथा मिडियाको निरन्तरको खबरदारी

नेपालको धितोपत्र बजारमा वर्षौंदेखि समाधान हुन नसकेका र यदाकदा देखिने गरेका समस्याहरु जस्तै– करसम्बन्धी, सरकारी नीतिनियमसम्बन्धी, नियमन निकायका नेतृत्वको शंकास्पद भूमिकालगायतका विभिन्न प्रकारका भ्रामक सूचना सम्प्रेषण तथा बजारका गलत क्रियाकलापविरुद्ध सबै लगानीकर्ता संगठन, आमलगानीकर्ता तथा मिडियाकर्मीको निरन्तरको खरबदारीले गर्दा सम्बन्धित निकायमा पुँजीबजारलाई हेर्ने पुरानो परम्परावादी सोच परिवर्तन भई सकारात्मक तथा वैज्ञानिक सोचको विकास हुँदै गएकाले बजारको विस्तारले निरन्तरता पाउने निश्चित छ।

अन्त्यमा 

यी र यस्ता थुप्रै कुरा जस्तो– बैंकलाई ढिलोचाँडो ब्रोकर लाइसेन्स दिने, कायम ब्रोकरहरुको क्षमता विकास गर्ने, बैंक इन्ट्रिग्रेसनसहितको पूर्णस्वचालित कारोबार प्रणालीको विकास गर्नेलगायत सयमको मागअनुसार आमलगानीकर्ता तथा नियामक निकायमा आउने निरन्तर सकारात्मक परिवर्तनका साथ अगाडि बढ्दै जाँदा नेपालको धितोपत्र बजार परिपक्व भई बजारमा दैनिक कारोबार रकम २०–२५ अर्ब रुपैयाँभन्दा माथि हुनुका साथै बजार मापन गर्ने परिसूचक नेप्से इन्डेक्सले प्राविधिक विश्लेषकहरुले अहिले भन्दै आएको उच्चतम विन्दुभन्दा पनि निकै माथिका ठूला ऐतिहासिक विन्दुहरुलाई आगामी केही वर्षभित्रै सजिलै चुम्ने आँकलनसँगै उक्त अवधिमा कम्पनीबाट प्राप्त मनग्य लाभांश र बजारबाट प्राप्त पुँजीगत लाभले गर्दा आमलगनीकर्ताको मुहारमा डबल खुसी देख्न सकिने अनुमान सहजै गर्न सकिन्छ। तथापि, हामीले लगानी गर्दा कसैको लहडमा नलागी पर्याप्त स्वअध्ययन गरी ठूला, राम्रा र बलिया कम्पनी छनोट गरी लगानी गरौँ, कम्पनीको मालिक बनौँ र निरन्तर लाभ प्राप्त गरौँ।

(घिमिरे धितोपत्र बजारका जानकार तथा अनुभवी लगानीकर्ता हुन्।)