काठमाण्डौ । हिमालयन र नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडबीचको मर्जर प्रक्रियालाई मंगलबारसम्ममा औपचारिक सहमति गर्ने तयारी भएको छ।

दुवै बैंकबीच बराबरी सेयर स्वाप अनुपातमा जाने सहमति भइसकेको हो। यसअघि टीआर उपाध्याय अकाउन्टिङ फर्मले इन्भेस्टमेन्ट बैंकको प्रतिकित्ता १०० रुपैयाँ मूल्यांकन गर्दा हिमालयन बैंकको १०२.५० पैसा सेयर स्वाप रेसियो निर्धारण गरिसकेको छ। 

हिमालयन बैंकका अहिलेका प्रमुख कार्यकारी अशोक राणालाई नै मर्जरपछिको बैंकमा मुख्य प्रमुख कार्यकारी अधिकृतका रुपमा पनि निरन्तरता दिनेमा पनि सहमति भइसकेको छ। तर राणालाई के–कति अधिकार दिने भन्ने विषयमा सहमति भइनसकेको स्रोत बताउँछ। ‘राणाको अधिकारका विषयमा आजभोलिमै टुंगो लाग्छ र मर्जरको औपचारिक सहमति हुन्छ’, स्रोतको दाबी छ। 

त्यसो इन्भेस्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति पाण्डे दोस्रो वरियतामा बस्ने सहमति भइसकेको छ। मर्जरपछि बैंक सञ्चालक समिति अध्यक्ष इन्भेस्टमेन्ट बैंकका पृथ्वीबहादुर पाँडे हुनेछन्।

अहिलेसम्मको सहमतिअनुसार आगामी मंगलबारसम्म दुवै बैंकबीच मर्जरको औपचारिक सम्झौतामा हस्ताक्षर हुने सम्भावना प्रबल रहेको स्रोत बताउँछ। सम्झौताको दुई महिनापछि सम्पूर्ण प्रक्रिया सकेर एकीकृत कारोबार गर्ने योजना रहेको दुवै बैंकको छ। 

हाल दुवै बैंकका कर्मचारीहरु व्यवस्थापन र सुदृढ बैंकिङ सेवा प्रवाह गर्ने विषयमा दुवै बैंकका अधिकारीहरुबीच छलफल भइरहेको स्रोत बताउँछ। 

इन्भेस्टमेन्ट र हिमालयनको पुँजी कोष जोड्दा ४६ अर्ब ८ करोड रुपैयाँ पुग्छ। 

दुई बैंकको मर्जरलाई नेपाल राष्ट्र बैंकले विशेष चासो दिइरहेको छ। केन्द्रीय बैंकले आवश्यक सहयोग गर्न तयार रहेको बताउँदै आएको छ।