– भक्तराज रसाइली

काठमाण्डौ । धादिङको गजुरीमा जन्मेका नानीबाबु खरेल हाल काठमाण्डौ बुद्धनगरका स्थायी बासिन्दा हुन्। विगत ११ वर्षदेखि सेयरबजारमा सक्रिय उनी दीर्घकालीन लगानीकर्ताको परिचय दिन रुचाउँछन्। ६० वर्षीय खरेल २०४७ सालदेखि २०६४ सालसम्म यातायात व्यवसायमा निकै नाम र दाम कमाएका व्यवसायीमा गनिन्थे।

राज्यमा द्वन्द्व चल्दा खरेलले यातायात व्यवसायबाटै हात धुनुपरेको रहेछ। ४३ वटा बस, ९ वटा ट्रक, पेट्रोल पम्प, इन्जिनियरिङ वर्कसप, अप्सरा ट्रान्सपोर्टलगायत थुप्रै व्यवसायमा हात हालेका उनलाई पछि सोही व्यवसायले खरानी बनाइदियो। त्यसपछि उनी सेयरबजारमा प्रवेश गरेका हुन्। यातायात व्यवसायले नै ४१ वटा घडेरी र लहानमा चारतले घर जोडेका उनी २०६४ सालसम्म आइपुग्दा जीरो अवस्थामा आइपुगे।

खरेल परिवार धादिङबाट चितवन रत्ननगर टाँडीमा बसाइ सरे। उनले चितवन रत्ननगरमै आईकम २०४१–४२ सालतिर अध्ययन गर्न भ्याए। तर कर्मथलो भने सगरमाथा अञ्चलको लहान बनाउन पुगे। 

सगरमाथा अञ्चलभरि खरेलको नाम निकै प्रसिद्ध थियो रे। २०४७ सालमा लहानलाई कर्मथलो बनाउन पुगेका उनले सुरुमा सुन्दर स्टिल फर्निचर व्यवसाय अँगाले। अनि २०४९ सालताका जन्मेकी जेठी छोरी अप्सराकै नामबाट अप्सरा यातायातको प्रधान कार्यालय नै लहानमा खोले। 

१४ वर्ष यातायात क्षेत्रमा हात हालेका खरेलले अथाह धनसम्पत्ति कमाए पनि केही वर्षमै सबै गुमाउन पुगे। तत्कालीन समयमा माओवादीको चन्दा आतंकबाट पीडित उनका १९ वटा बस एकैदिन जलाइएको हृदयविदारक घटनासमेत सुनाए। ‘माओवादीले मलाई करिब ४० पटक त अपहरण नै गर्यो होला। ७ दिनसम्म पानी पनि खान दिएनन्’, उनी सुनाउँछन्, ‘म त्यसपछि २०६४ साल चैत १९ गते काठमाण्डौ आएको हुँ। जेठी छोरी अप्सरालाई यहीँ पढाउने गरी ल्याएँ।’

आफ्ना जेठान फणिन्द्र उप्रेतीले २०६५ सालताका नेप्सेको बूलमा दैनिक २–३ लाख सेयरबाटै कमाइ गरेको सुुनेका खरेलले पनि सेयरमा लगानी गर्न लोभिए। हुन पनि नेपाली सेयर बजारमा अर्काको देखासिकी र लहैलहैमा लगानी गर्ने जमात निकै बाक्लै छ। अनि त खरेलले पनि २०६५ सालबाट सेयरमा लगानी गर्न थाले। सानिमा बैंकको प्रतिकित्ता ४१० रुपैयाँमा ११ सय कित्ता किनेका उनले सिद्धार्थ बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंकलगायतका सेयरमा करिब ४५ लाख जति लगानी ओइर्याए। दुखद् कुरो चाहिँ जब उनको बजार प्रवेश भयो त्यतिबेला नेप्से ११७५ विन्दुको पिक लेभलमा पुगेको बेला परेको थियो। आफूलाई बूलमा फसाइएको उनको बुझाइ छ।

ओरालो यात्राकै तरखरमा रहेको बजारमा प्रवेश गर्न पुगेका खरेलले २०६६ सालमा आफूले ५ लाख ५० हजारमा किनेको सानिमा बैंकको सेयर छोरीको बिहे गर्जो टार्न साढे चार लाखमै सेयर बेच्न पुगे तर सोही बैंकको हकप्रदबापत ११ सय कित्ता सेयर आजको दिनमा २३ हजार कित्ता सेयर पुगेको उनको दाबी छ। होल्ड गरेरै धेरै सेयर कित्ता सँगाल्दा भने उनी दंग देखिन्छन्। 

हावामा पसेका र सुनेर फसेका खरेल नेप्से २९२ विन्दूमा ओर्लिंदासमेत हिम्मत हारेनन्। ‘लगानीमा डढेलो लाग्यो तर पलाउँछ भन्ने आशा मलाई थियो’, उनले आत्मविश्वासपूर्वक भने, ‘बजार ५०० पुग्दैछ भन्दा मलाई साथीहरुले पागलसम्म भन्न भ्याए।’

चार वर्ष निकै धैर्यतापूर्वक सेयरमा लगानी गरेर कुरेका खरेलले भनेझैँ मार्केट बढ्न थाल्यो।  बजार उकालो जाँदै गर्दा उनले पैतृक सम्पत्ति बेचेर सेयरमा लगानी बढाउँदै गए। नेप्से २९२ विन्दूमा आइपुग्दा उनको ५० लाखको पोर्टफोलियो १३ लाखसम्म आइपुगेछ। आवश्यक परेका बेलामात्र सेयर खरिदबिक्री गर्दै आएका उनले २ करोड रुपैयाँ बढीको सेयरमा लगानी थपे। हाल उनको पोर्टफोलियोमा १ लाख कित्ता बढी सेयर भएको दाबी छ। 

नेप्से अलटाइम हाई हुँदा अढाइ करोडको लगानी ६ करोड रुपैयाँ पुगेको खरेलले स्मरण गरे। बजार अझै बढ्ने आशा र नेप्से ३ हजार विन्दू पुग्ला भन्ने लोभमा परेर नेप्सेको सर्वाधिक उचाइमा सेयर बेच्न भने उनी चुक्छन्। बूलमा प्रफिट बूक गर्न चुकेकोमा र नेप्से ११७५ विन्दूको बूलमा फसेकोमा भने उनलाई धेरै नै ग्लानि हुँदोरहेछ।

प्राथमिक बजारमा भने खरेल खासै रुचि दिँदैनन्। भाग्यवश एकचोटि मात्र सानिमा हाइड्रोपावरको ११ कित्ता आईपीओ पाएका उनले झन्झटकै कारण आईपीओमा भने लगानी नगरेको सुनाए।

खरेलले दोस्रो बजारमा प्रभु इन्स्योरेन्स ३७० रुपैयाँ प्रतिकित्तामा किनेर १२ सय प्रतिकित्तामा बेच्दा अत्याधिक नाफा कमाएको दाबी गरे। स्ट्यान्डर्ड चार्टड बैंकको प्रतिकित्ता ६ हजारमा खरिद गरेको सेयर भने हालसम्म आफैंले होल्ड गरेको बताए। अपि हाइड्रोपावरको प्रतिकित्ता ८०० मा किनेको सेयर अहिले १०० रुपैयाँमा झर्दा सबैभन्दा धेरै गुमाएको कम्पनी रहेछ। 

नेपाल सेयर मार्केट फाइनान्सको प्रतिकित्ता १६ सय ९० मा किनेको सेयर हालसम्म पनि होल्ड नै गरेको तर यो कम्पनी टाँट पल्टेर के कस्तो अवस्थामा छ भन्ने विषयमा राज्यले जानकारी नदिएकोमा खरेलले आक्रोश पोखे। अन्ततोगत्वा सेयर लगानीका क्रममा हालको पोर्टफोलियो भने कुनै नोक्सानमा नगएको उनको दाबी छ।

सेयर बजारले ‘लादे गोरु’ बनाएकोमा खरेललाई आफैंदेखि रिस उठ्दो रहेछ। बस्ने र खाने काममात्र गर्ने लादे गोरुझैं सेयर लगानी अल्छी व्यवसाय भएको उनको बुझाइ छ। ‘गरेर खाने व्यवसाय होइन’, उनले उत्तेजित हुँदै भन्छन्, ‘हिजो यातायात क्षेत्रमा दिनरात खटेको मान्छे आज साह्रै अल्छी भइएको छ। सेयर बजारमा गर्ने लगानी चाहिँ वृद्ध उमेरले गर्ने पेसाजस्तो पो लाग्यो त सर !’

खरेलले सेयरमा लगानी गरेबापत करिब २० लाख जति त वार्षिक लाभांशमात्रै थाप्ने गरेको खुलासा गरे। सुरुमा १० हजार कित्तामात्र बटुलेका उनले हाल १ लाख कित्ता सेयर पुगेको र सो लाभांशहरु पनि पुनः सेयर नै खरिद गर्ने गरेका रहेछन्।

सेयर बजारबाट प्रफिट बूक गर्दै चनाखोपूर्वक लगानी गर्न सल्लाह दिँदै खरेल सेयर लगानीमा नै पूँजी वृद्धि गर्न जोड दिन्छन्। आवश्यक परेका बखतमात्रै खर्च गर्न पैसा झिकेर गर्जो टार्न उनको सुझाव छ। आत्तिने र मात्तिने व्यवहार लगानीकर्ताले कहिल्यै पनि देखाउन नहुने उनको जिकिर छ। सेयर बजार जुवाघर चाहिँ नभएको उनको ठम्याइ छ।

सेयर लगानीकर्ताहरुलाई राज्य र पूँजीबजारसँग सम्बन्धित नियामक निकायहरुले बेवास्ता गरेकोमा खरेल चिन्तित छन्। पूँजीबजारमा लगानी गर्दै आइरहेका लगानीकर्ताहरु राज्यको दोहोरो करको पीडाबाट गुज्रिरहेको गुनासो पोख्दै उनले ब्रोकर कमिसनमा सेबोन र नेप्से कमिसन घटाउनुपर्ने माग राखे।